दक्षिण कोरियासँग इपिएसबाहेकको सम्झौता नभएको स्पष्ट

11 Sep, 2023

काठमाडौँ, भदौ २५ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी श्रमिक लैजाने विषयमा सम्झौता भएको भनेर सामाजिक सञ्जालमार्फत भ्रमित विज्ञापन सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले दक्षिण कोरियासँग रोजगार अनुमति प्रणाली (इपिएस) मा नेपाली श्रमिक पठाउने सम्झौताबाहेक अन्य कुनै सम्झौता नभएकाले त्यस्ता गलत सूचनाको विश्वास नगर्न विज्ञप्तिमार्फत सचेत गराएको छ ।

श्रम मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेको हस्ताक्षरसहितको मौसमी श्रमिक लैजाने प्रक्रिया सुरु भएको भन्दै नक्कली सूचना सामाजिक सञ्जालमा भेटिएपछि श्रम मन्त्रालयले मौसमी श्रमिक पठाउने सम्झौता कोरियासँग नभएको पुष्टि गरेको हो ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको नक्कली विज्ञापनमा आउँदो कात्तिक २२ सम्ममा १२ हजार नेपाली मौसमी श्रमिकका रूपमा दक्षिण कोरिया पठाउन कोरिया सरकारसँग सम्झौता भएको उल्लेख छ । मन्त्रालयका प्रवक्ता घिमिरेले सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह गरेकाले यसप्रति सचेत रहन आमनागरिकलाई आग्रह गर्नुभयो ।

आधिकारिक निकायको अनुमतिबिना सामाजिक सञ्जालमा वैदेशिक रोजगारीसम्बन्धी विषयमा प्रचारप्रसार गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्नसमेत सम्बन्धित सबैमा खबरदारी गराउँदै उहाँले भन्नुभयो, “प्रचलित कानुनविपरीत भएका गतिविधिलाई नियन्त्रण गर्न श्रम मन्त्रालय सदैव क्रियाशील रहेको छ । त्यसैले वैदेशिक रोजगारीको प्रक्रिया सुरु गर्नुपूर्व आधिकारिता यकिन गरेर मात्र वैदेशिक रोजगारीको प्रक्रिया थालनी गर्नुहुन सबैमा आग्रह गर्दछौँ ।”

श्रम मन्त्रालयले प्रवक्ता घिमिरेको हस्ताक्षरसहितको लेटरप्याडको दुरुपयोग गरी दुष्प्रचार गरी भ्रम सिर्जना गर्नेलाई अनुसन्धान तथा कारबाहीको प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ । यस प्रकारका भ्रमित सूचना प्रवाह गर्ने जोकोहीलाई कानुन अनुसार हदैसम्मको कारबाही हुने मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024