तीन जना निष्कासित नेपालीलाई लिएर आयो अमेरिकी चार्टड जहाज

21 Apr, 2025

काठमाडौं : निष्कासनमा परेका तीन नेपालीलाई छाड्न फेरि अमेरिकी जहाज नेपाल आएको छ। स्रोतका अनुसार जीभीएन १७६ एसएम नम्बरको अमेरिकी जहाज निष्कासित नेपालीहरूलाई छाड्न नेपाल आएको हो।

यसअघि पनि अमेरिकी चार्टर्ड विमानमार्फत ११ जनालाई नेपाल फर्काइएको थियो। अवैधरूपमा अमेरिका बस्दै आएका उनीहरूलाई गत फागुन २१ गते चार्टर्ड विमानमार्फत नेपाल फर्काइएको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पको नीतिअनुसार पुनः तीन जना नेपालीलाई अमेरिकी विमानमार्फत नेपाल फर्काइएको हो। निष्कासनमा पर्नेमा चापागाईं, चौधरी र बुढा थरका एक-एक जना रहेका छन्।

गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो। ‘गैरकानुनी रूपमा अमेरिकामा बसेर त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल डीपोर्ट गरिएको रहेछ। अमेरिकाले अवैध नेपालीहरूलाई फर्काउने क्रम जारी राखेको छ,’ स्रोतले अन्नपूर्णसँग भन्यो।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा शपथ लिएपछि अमेरिकाको आप्रवासनसम्बन्धी नीति परिवर्तन भएको थियो। राष्ट्रपति ट्रम्पले आप्रवासन सम्बन्धी नयाँ कार्यकारी आदेश जारी गरेर गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीमाथि धरपकड गर्दै आएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024