तत्कालका लागि मुलुकमा वैदेशिक रोजगारको विकल्प छैन : श्रममन्त्री भण्डारी

8 Sep, 2023

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारको विकल्प नभएको बताएका छन् । मन्त्री भण्डारीले वैदेशिक रोजगार पीडादायक भए पनि मुलुकको आर्थिक अवस्था कमजोर भएकाले त्यसको विकल्प नभएको बताएका हुन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आफ्नो मन्त्रालयसम्बन्धी प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारमा नागरिकहरू जानुपर्ने बाध्यात्मक अवस्था भएको कारणले सरकारले उनीहरूलाई सम्मानित र मर्यादित ढंगले गन्तव्य मुलुक पठाउने काम गरिरहेको बताए ।

‘वैदेशिक रोजगार बाध्यात्मक अवस्था हो । यसको अर्को विकल्प तत्कालका लागि छैन । यो एकदमै पीडादायक अवस्था हो । तर अहिलेको अवस्थामा मुलुकको जुन आर्थिक स्थिति छ,’ उनले भने, ‘तत्काल कुनै चमत्कार हुने अवस्था पनि छैन । रोजगार हुने स्थिति पनि छैन । तर यसलाई सुरक्षित हिसाबले पुर्‍याउने, मर्यादित हिसाबले पुर्‍याउने र पछि उनीहरूलाई आफ्नो मुलुकमा फर्काएर यहाँ कसरी पुनःस्थापना गराउने गरी राष्ट्रिय आप्रवासन नीति ल्याउने गृहकार्य गरिरहेका छौं ।’

वैदेशिक रोजगारीमा जानेहरू ठगीमा नपरून् भनेर सरकारले श्रम विभागमार्फत अनुगमनको कामलाई कडाइ गरिरहेको बताए ।

स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्नका लागि सरकारले सातवटै प्रदेश र स्थानीय तहबाट काम गरिरहेको श्रममन्त्री भण्डारीको भनाइ थियो । प्रत्येक प्रदेशमा तालिम केन्द्र रहेको र त्यसलाई सबै युवाहरूलाई कुनै न कुनै तालिम दिएर रोजगार दिने तयारी भएको बताए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024