डाक्टर नि विदेश जान्छन् र?

24 Apr, 2023

सचेत सुवेदी

केही दिन अघिको कुरा हो। मेरो सानैदेखि मिल्ने साथीसँगै कुरा हुँदै थियो। ऊ अष्ट्रेलिया गएको ३ वर्ष भएको थियो। हाँसो ठट्टामा मैले ‘तेरो अष्ट्रेलियामा उपचार गर्ने मै हो’ भनें।

उसले यो कुरा सुन्नासाथ ‘डाक्टर नि विदेश जान्छन्?’ भनेर सोध्यो। मलाई केही भन्न मन नलागेर कुरा घुमाइदिएँ। मैले साथीलाई जिस्केर नै ‘अष्ट्रेलिया आउँछु भनेको थिएँ’ तर उसको प्रश्न मेरो मनमा चलिरहृयो।

नेपालका करिब अधिकांश एमबिबिएस पढ्ने विद्यार्थीहरूलाई आफ्नो पढाइको सुरूआतमा नेपालमै बसेर राम्रो स्तरीय जीवन जिउँदै जनताको सेवा दिनुपर्छ भन्ने सोच हुन्छ। यो सोच ममा पनि छ र सबै विद्यार्थीमा हुन्छ। धेरैजसो प्रथम वर्षको विद्यार्थीहरूले दुर्गम गएर सेवा प्रदान गर्ने हो नै भन्छन्।

तर त्यही विद्यार्थी बिस्तारै चिकित्सा शिक्षाको लामो यात्रामा लाग्दै गर्दा आफ्नो भविष्यप्रति निरूत्साहित हुन्छ। हस्पिटलमा क्लिनिकल पोस्टिङको बेलामा उसले अमानवीय ढंगले पेलिएका आवासीय डाक्टरलाई चिन्छ।

आवासीय डाक्टरहरूको कामको तनाव र उनीहरूको तलब सुनेर छक्क पर्छ। ३६ घण्टाको ड्युटी गरेर नि समयमा आफ्नो सानो तलब पनि समयमा पाउन नसक्ने स्थितिमा उसले आफूलाई देख्छ। त्यही समयपश्चात् उसको मनमा डर उत्पन्न हुन्छ। आफ्नो हालत नि त्यस्तै हुने हो कि भनेर आफ्नो भविष्यको बारेमा चिन्तित बन्दै जान्छ।

उसको मनमा देशमा बसेर जिन्दगी गाह्रो हुन्छ कि भन्ने प्रश्न उत्पन्न हुँदै जान्छ। त्यही समयतिर उसको कुरा आफ्नो सिनियर दाइ/दिदीहरूसँग हुन्छ।

दाइहरूले नेपाल बसेर काम गर्न गाह्रो छ, USMLE , PLAB गरेर विदेश जानुपर्छ भन्छन्। उसले यो कुराको सुरूमा आनाकानी गर्न खोज्छ।

विदेशमा डाक्टरले धेरै कमाएर भौतिक रूपले सुखी जीवन बिताउँछन् भनेर सुन्दा उसले विदेशलाई अप्सन त राम्रै हो तर देशमै बस्न पर्छ भनेर सोच्छ।

देशमा बसेर आफ्नै भूगोलको जनताको सेवा गर्ने चाहना उसको मनमा अझै मरेको हुँदैन। त्यै पनि बेला बेलामा विदेश गएर काम गर्नु नै उचित हुन्छ कि भन्ने सोच उसको मनमा आइरहन्छ। यस्तै चल्दै जान्छ र ऊ आफ्नो पढाइको सिलसिलामा कुनै सरकारी काम गर्न सरकारी निकाय पुग्छ।

सबैलाई थाहा भएको सरकारी कार्यालयको ढिलासुस्ती देखेर उसले नेपाल बसेर गल्ती पो हुने हो कि भनेर सोच्न बाध्य हुन्छ। समय समयमा दुर्गममा रहेका डाक्टरलाई कुटिएको खबर पनि उसले सुन्दै गरेको हुन्छ। यसरी हरेकतिरबाट चपेटामा परेर ऊ अब नेपाल नभएर विदेश नै गएर काम गर्नुपर्छ भनेर सोच राख्छ।

याे कथा केबल एक विद्यार्थीको कुरा हैन। नेपालभरिका करिब ५०% विद्यार्थीको अनुभव भने यस्तै छ।

देशको माया कसलाई हुँदैन र? तर देशमा सामान्य डाक्टरले पाउने तलब, उसले गर्न पर्ने कामको भार र भविष्यमा सरकार र सिस्टमबाट पाउने दुःखको डरले विदेश जान धेरै विद्यार्थीहरू बाध्य हुन्छन्।

मैले मेरो भविष्यको बारेमा ठेट निर्णय भने लिएको छैन। देशमै केही गर्नुपर्छ भन्ने सोच मनमा जीवित नै छ। तर यदि सरकारले देशमा उत्पादन हुँदै गइरहेका एमबिबिएस विद्यार्थी तथा अरू फिल्डका विद्यार्थीहरूको भविष्यको बारेमा नसोच्ने हो भने हाम्रो देश डाक्टर तथा दक्ष मेनपावर उत्पादन गरेर विदेश निर्यात गर्ने कारखाना बनेर सीमित हुन्छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024