डाक्टरले लाखौं कमाउँछ भन्ठान्छन्, आफ्नो पकेट भने रित्तो!

8 Oct, 2024

केही साताअघि मात्र चिकित्सा शिक्षा आयोगमार्फत स्नातक मेडिकल (एमबिबिएस) र डेन्टल (बिडिएस) को प्रवेश परीक्षाको नतिजा प्रकाशन भयो। कयौं विद्यार्थी पास भए र डाक्टर बन्ने सपना साकार भएकामा खुसी भए। ‍आमाबुबा र परिवारका सदस्यले समेत बधाइ पाए। कतिले त लड्डु बाँडे, भोजै गरे।

ठीक त्यही बेला करिब १५ हजार डाक्टरहरू सदस्य रहेको फेसबुक पेजमा एक डाक्टरले आफ्नो नाम उल्लेख नगरी एउटा पोस्ट गरे — १२ कक्षा निकै अब्बल नतिजा ल्याएर पास हुनुपर्छ। त्यसपछि कोही ६-७ महिना त‚ कोही वर्षौंको तयारीपछि प्रवेश परीक्षामा सफल हुन्छन्। अनि ५-७ वर्ष पढेर स्नातक तहको डाक्टर र १०-१५ वर्ष पढेर स्नातकोत्तर र सोमाथिको उच्च विशेषज्ञता हासिल डाक्टर बन्न सम्भव हुन्छ। त्यसरी डाक्टर बनिसकेपछि पनि जीवन अत्यन्त कठिन छ। बेरोजगार भएर बस्नुपर्ने बाध्यता छ। रोजगारी पाए पनि महिनाको ४०-५० हजार रूपैयाँ, अर्थात् दिनको १५ सय रूपैयाँमा दिनरात खट्नुपर्छ।’

चिकित्सा पेसामा मेहनत, खटाइ र पढाइ अनुसारको सेवा र सुविधा छैन। त्यसैले डाक्टरहरू चरम निराशामा छन्। यही निराशाको भुमरीमा अरू भाइबहिनीहरू नपुगून् भनेर ती डाक्टरले चिकित्सा पढाइमा नलाग्न सुझाएको बुझ्न सकिन्छ। धेरै मानिसलाई जानकारी होस् भनेर सयौं डाक्टरहरूले उक्त पोस्ट आफ्नो फेसबुकमा सेयर गरे।

डाक्टर भइसकेकाहरूले चिकित्सा पेसाका अँध्यारा पक्ष उजागर गर्दै अब यो विषय नपढ्दा हुन्छ भन्नुलाई धेरैले उनीहरूको स्वार्थ बाझिएको रूपमा लिन सक्छन्। आफू भइहालेँ, अब अरू नहोऊन् र आफै मात्र पेसामा जम्न पाइयोस् भन्ने मनसाय हो कि भन्ने पनि लाग्न सक्छ।

तर यही क्षेत्रमा मेरो करिब १५ वर्षको अनुभव र पाँच-दस हजार चिकित्सकहरूसँग प्रत्यक्ष/अप्रत्यक्ष अन्तरक्रियाका आधारमा म ढुक्कले भन्न सक्छु —चिकित्सा पेसा अहिले संकटमा छ। अनि डाक्टर नबन भन्नुका पछाडि एउटै लक्ष्य छ; भर्खर प्लस-टु सकेका कलिला युवालाई अँध्यारो र अन्योल यात्रामा प्रवेश गर्न नदिनू।

अब चिकित्सा पेसाको संकटलाई विभिन्न कोणबाट हेरौं।

→ रोजगारीको संकट

नेपाल जस्तो देशमा स्वास्थ्य क्षेत्रमा राज्यको लगानी एकदमै कम छ। ४०-५० को दशकमा स्वीकृत डाक्टरको दरबन्दीमा आजसम्म देशको स्वास्थ्य क्षेत्र चल्दै आएको छ। तीन करोड जनसंख्या पुगिसक्दा पनि डाक्टरको दरबन्दी १५ सयदेखि दुई हजार जनामै सीमित छ। त्यस कारण सरकारी सेवामा छिर्न चाहने डाक्टरहरूका लागि लोक सेवामा अत्यन्त कम सिट खुल्छ।

लोक सेवामा मुस्किलले पचास-सय सिट खुल्छ। डाक्टर भने बर्सेनि २५ सयदेखि ३ हजार उत्पादन भइरहेका छन्। निजीमा त पहिल्यै डाक्टर पूर्ण भइसकेको अवस्था छ। त्यसमाथि चिनजान र भनसुन नभइ कसैले जागिर पाउँदैन।

यस्तोमा आठ-दस वर्ष पढेर डाक्टर भएकाहरूलाई बेरोजगार हुनुपर्दा कति बज्रपात पर्छ होला? आफ्नो पकेट खर्चका लागि समेत परिवारमा निर्भर हुनुपर्छ। परिवारलाई आफूले हेर्नुपर्ने अवस्थामा त झन् कति असहज हुन्छ होला? २५-३० वर्ष उमेर पुगिसक्दा समेत ऋण लिएर जीवन धान्नुपर्ने अवस्था हुन्छ। उता समाजले डाक्टर हो, लाखौं कमाउँछ होला भन्ने सोचिरहेको हुन्छ, यता आफ्नो पकेट रित्तो!

→ पढाइको अवधि निकै लामो र बढ्दो लगानी

नेपालमा अरूभन्दा मेडिकल पढाइ अत्यन्त लामो छ। १२ कक्षापछि स्नातक ६ वर्ष र स्नातकोत्तर तीन वर्ष गरेर नौ वर्ष पढाइमै जान्छ। छात्रवृत्ति करारको स्नातकमा दुई वर्ष र स्नातकोत्तरमा दुई वर्ष गर्दा त १२-१५ वर्ष पढाइमा जान्छ।

जीवनको अत्यन्त उत्पादनशील १२-१५ वर्ष पढाइमै बिताइसक्दा मान्छे ३२-३५ वर्ष उमेरको पुगिसक्छ। त्यतिन्जेल कुनै कमाइ र बचत भएको हुँदैन। अरू विधामा जस्तो पढिरहँदा कुनै पार्टटाइम जागिर खाने सम्भावना हुँदैन। सबै समय पढाइमै लगाउनुपर्छ। त्यसरी पढ्दा बस्न, खान, लाउन र अरू खर्च वार्षिक कम्तीमा दुई लाख रूपैयाँ हुन्छ। दस-बाह्र वर्षमा त २०-२५ लाख हुन्छ। आम्दानीको स्रोत छैन र ऋण लिएर पढिरहेको भए त्यसको ब्याज पनि हुन्छ। यसरी छात्रवृत्तिमै पढ्दाको खर्च पनि धेरै छ।

फेरि आजकाल मेडिकल कलेजले अनेक शीर्षकमा वर्षकै ३ लाख रूपैयाँ जति यत्तिकै असुल्छन्। उदाहरणका लागि, इन्टरनेट चार्ज भनेर एउटा मेडिकल कलेजले एक विद्यार्थीबाट वार्षिक १८-२० हजार असुल्छ। जबकि अहिले ६-७ हजारमा वार्षिक ग्राहक बनेर पाँच-सात जनाले इन्टरनेट चलाउन मिल्ने अवस्था छ। त्यसैगरी परीक्षा, लाइब्रेरी, होस्टल शुल्क के के भनेर वर्षमा ३ लाख रूपैयाँ जति अग्रिम रूपमा असुल्छन्। तिर्न नसके परीक्षामा बस्न दिँदैनन्।

यसरी रकम असुल्ने कलेजहरूले रेजिडेन्ट (आवासीय) डाक्टरलाई निर्वाह भत्ता भने १८-२० हजार रूपैयाँ मात्र दिँदै आएका छन्।

यसै वर्ष सरकारले आवासीय डाक्टरहरूलाई ४८ हजार रूपैयाँ निर्वाह भत्ता दिनू भनेर निर्देशन दियो। तर ३६ घन्टासम्म ड्युटी गरेर अस्पताल थाम्ने डाक्टरलाई निजी मेडिकल कलेजहरूले यो रकम दिन सक्दैनौं भनिरहेका छन्। यति दिनुपरे स्नातकोत्तर कार्यक्रम नै बन्द गर्छौं भन्दै सरकारलाई चुनौती दिएका छन्। आफैले ५०-६० लाख लिएर पढाएका डाक्टरलाई महिनामा पचास हजार दिन सक्दिनँ भनेर १८ हजार दिने मेडिकल कलेजको प्रवृत्ति छ। १८ हजार रूपैयाँले कसरी धानिने? यसले गर्दा पनि चिकित्सा पढाइ उत्साहजनक छैन।

→ रोजगारीमा पनि अत्यन्त न्यून तलब

एकपटक एउटा प्रिन्टिङ प्रेसमा केही कामका लागि पुगेको थिएँ। तलबको घन्टी बज्यो।

‘ओहो तलब आयो’ भन्दा त्यहाँका साथीहरूले ‘सर हजुरको तलब त एक लाख रूपैयाँ धेरै होला है’ भने।

मैले ५० हजार मात्र हो भन्दा पत्याउँदै पत्याएनन्। त्यहीँका कर्मचारीले समेत ४०-५० हजार तलब खाने हुनाले डाक्टरको तलब त दुई-चार गुणा बढी नै हुन्छ नि भने।

तर हाम्रो तीतो यथार्थ यही हो।

अर्को एउटा प्रसंग सुनाउँछु।

एक जना डाक्टर साथीकी आमा सरकारी स्कुलमा माध्यमिक तहको शिक्षक हुनुहुन्थ्यो। छोरालाई एमबिबिएस, एमडी पढाइसकेपछि र सरकारी जागिरमा समेत लगाइसकेपछि आमाले छोरासँग तलब तुलना गर्नुभएछ। तलब त छोराको भन्दा आमाकै बढी!

उहाँले ठट्टा गर्दै भन्नुभएको थियो, ‘यत्तिका दुःख र खर्च गरेर छोरो डाक्टर बनाइयो, तलब त मेरो भन्दा कम हुने रहेछ! डाक्टरीमा नाम भए पनि दाम रहेनछ!’

अहिले एमबिबिएस पढेका आठौं तहका सरकारी डाक्टरको तलब ४८ हजार ७ सय ३७ रूपैयाँ छ। त्यो भनेको दिनको १६२४.५० रूपैयाँ हो। ड्युटी ६ घन्टा मात्र गरेर पुग्दैन, इमर्जेन्सी, रात्रिकालीन सेवाका लागि समेत तयार हुनुपर्छ।

फेरि अरू सेवाजस्तो आरामले काम गर्न मिल्ने पेसा होइन हो। हरेक मिनेट अत्यन्त चनाखो र संवेदनशील हुनुपर्छ। अलिकति तलमाथि हुने बित्तिकै बिरामीको ज्यान जोखिममा पर्छ, ज्यान नै जाने सम्भावना हुन्छ। यस्तो तनावपूर्ण र व्यस्त कामका कारण कति डाक्टरकै स्वास्थ्यमा विविध समस्या देखा परेको छ।

६-७ वर्षको पढाइ र साताको सातै दिन तनावपूर्ण ड्युटी गरेर पाउने भनेको जम्माजम्मी दैनिक १६ सय रूपैयाँ।

अहिलेको बजार हेर्ने हो भने कार्पेट हालिदिने आधा घन्टाको काम वा सानो प्लम्बिङ काम गरेको एक हजार-१५ सय रूपैयाँ तिर्नुपर्छ। पिकनिकमा एक दिन कूक लैजाँदा तीन हजार रूपैयाँ तिर्नुपर्छ। कुकका सहयोगीलाई १५ सय-दुई हजार रूपैयाँ दिनुपर्छ। सामान्य अरू पेसामा लाग्दा पनि सहजै मासिक ५०-६० हजार रूपैयाँ कमाउन सकिन्छ।

अनि त्यत्रो मेहनत, दुःख, समय र पैसा खर्च गरेर पढ्दा पनि ४८ हजार रूपैयाँ नै कमाउनु छ भने डाक्टरी किन छान्ने?

आफ्नो परिवारसँग धेरै पैसा छ, परिवार चलाउन, लाउन, खान पैसा कमाउनु पर्दैन भने नाम र पकेट खर्चका लागि र पूरा छात्रवृत्ति पाए पढ्दा ठीकै हुन्छ। नभए त ऋण खोजेको ५० लाख रूपैयाँ खर्च गरेर पढ्नु, अनि महिनामा ४८ हजार कमाएर, २०-२५ हजारको फ्ल्याट, १०-१५ हजार खानपान र अरू खर्च गरेर कसरी धानिनु? बचत कसरी गर्नु? ऋण कहिले तिरेर सक्नु?

→ जनशक्ति उत्पादनमा कटौती आजको आवश्यकता

हामीकहाँ अहिले नै धेरै उत्पादन भएका कारण चिकित्सकहरू बेरोजगार बनेका छन्। केही अत्यन्त कम तलबमा काम गर्न बाध्य छन्।

अमेरिका जस्तो विशाल र हाम्रोभन्दा दस-एघार गुणा ठूलो जनसंख्या भएको देशमा चिकित्सा अध्ययनका लागि छुट्ट्याइएको सिट र नेपाल जस्तो सानो देशका लागि छुट्ट्याइएको सिट लगभग बराबर छ।

यो वर्ष एमबिबिएस अध्ययनका लागि २१४० र बिडिएसका लागि ५७५ सिट निर्धारण गरिएको छ। यो अहिले उत्पादन भइरहेको डाक्टरको अनुपातमा अत्यन्त बढी हो। चिकित्सा पेसाको बढ्दो संकट हेरेर, अबको दस वर्ष एमबिबिएसलाई वार्षिक ५०० भन्दा कम सिट र बिडिएसलाई सयभन्दा कम सिट दिनु उपयुक्त देखिन्छ। आवश्यक परेमा पछि बढाउन सकिन्छ।

चिकित्सा पेसाको जनशक्ति उत्पादन प्रक्षेपण र नियन्त्रण गर्ने काम सरकारको हो। तर सरकारले यसमा कुनै चासो देखाएको छैन।

सरकारले बुझ्नुपर्ने हो, आवश्यकताभन्दा धेरै डाक्टरहरू भएमा दुःख गरेर पढेका जनताका छोराछोरी बेरोजगार बन्छन्। जनस्वास्थ्यमा पनि खेलबाड हुने सम्भावना बढ्छ। बेरोजगारी र धेरै खुलेका अस्पताल चलाउन अनावश्यक जाँच, परीक्षण, भर्ना समय बढ्न सक्छ। बिरामीलाई उपचार खर्च चर्को पर्दै जान्छ।

त्यसैले देशको आवश्यकता विपरीत जति पनि विद्यार्थी पढाउन पाउने अनुमति खारेज गर्नुपर्छ। दस वर्ष पठनपाठन गरेर राम्रो आम्दानी गरिसकेका मेडिकल कलेजहरूलाई अब पढाइ बन्द गरेर अस्पतालका रूपमा मात्र बिरामीलाई सेवा दिनेतिर निर्देश गर्नुपर्छ।

→ डाक्टरमाथि घट्दो विश्वास

पछिल्लो समय बिरामी सिकिस्त हुने बित्तिकै र मृत्यु भएमा डाक्टरको लापरबाही भएको भनेर आन्दोलन, हुलदंगा र डाक्टरलाई कुटपिट नै गर्ने क्रम बढ्दो छ। यसको पहिलो कारण भनेकै अस्तव्यस्त स्वास्थ्य प्रणाली, निजी अस्पतालमा चर्को शुल्क र एम्बुलेन्सदेखि नै सुरू हुने बिरामी माथिको ठगी जिम्मेवार छ। यसरी प्रणालीको कमजोरी हुँदा समेत सर्वसाधारणले डाक्टरलाई नै दोषी ठहर्‍याउँदा यो पेसा झन् असुरक्षित भएको छ।

→ विदेश जान पनि चुनौती

राज्य र जनताको करोडौं लगानीमा डाक्टर पढाउने र उनीहरूलाई बाहिर निकासा गर्दा देशलाई धेरै घाटा छ।

तैपनि बेरोजगार हुनुभन्दा अवसर खोज्दै विदेश जाऔं न त भन्ने बाटो पनि मुस्किल हुँदै गएको छ। डाक्टरहरू विदेसिने क्रम बढेकाले विदेशमा पनि काम पाउन निकै कठिन हुँदैछ। भिसा दिने क्रम घट्दो छ। अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडातिर डाक्टर जाने प्रक्रिया निकै कडा हुँदै गएको छ।

त्यसमाथि यहाँको पढाइले मात्र विदेशमा काम गर्न पुग्दैन। यहाँ पूर्ण रूपमा डाक्टर भइसकेको व्यक्तिले पनि विदेशमा गएर लाइसेन्स परीक्षा दिनुपर्छ। यति मात्र नभएर फेरि थप पढाइ पनि गर्नुपर्छ।

→ पेसा परिवर्तन गर्न निकै ढिला भइसक्ने

डाक्टरी पेसाका दुःख सुनाइसक्दा कतिले सजिलै भनिदिन्छन्— सन्तुष्ट नभए पेसा परिवर्तन गर्नू नि त!

जीवनको करिब डेढ दशक समय, ऊर्जा, शक्ति, पैसा लगानी गरिसकेपछि पेसा परिवर्तन गर्न अत्यन्त चुनौतीपूर्ण हुन्छ। अझ भनौं कष्टकर हुन्छ। यतिका समय उसले जानेको भनेको ‍मेडिकल मात्र हुन्छ, ऊसँग अरू कुनै सीप, दक्षता र खुबी हुँदैन। न कुनै व्यापार गर्ने ज्ञान हुन्छ।

मेडिकल बाहिरको पेसामा आफूसँगै कक्षा १२ सम्म पढेका र अरू क्षेत्रमा लगेकाहरू पोख्त भइसकेका हुन्छन्। उनीहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ।

त्यसैले ६ वर्ष वा १५ वर्षसम्म पढेर डाक्टर बन्नु आर्थिक अवस्था धेरै बलियो भएकालाई मात्र सहज हुन सक्छ। अन्यथा पढाइ सकेर निस्किँदा अवस्था झनै कहालीलाग्दो बन्न सक्नेछ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024