रुकुम पश्चिम — पुर्ख्यौली थातथलो मुसीकोट–१३ को साधनचौर छोडेर अमेरिका जाने रहर पलाएदेखिका १२ वर्षमा सुवास (परिवर्तित नाम) ले तीन पटकको प्रयासमा झन्डै ८६ लाख दलाललाई बुझाइसकेका छन् । तर अझै पनि उनी अमेरिका पुग्ने टुंगो छैन ।
अवैध बाटो (डंकी रुट) हुँदै अमेरिका पुग्न २०६८ भदौमा उनी संगठित मानव तस्करको सम्पर्कमा पुगेका हुन् । पहिलो एजेन्टले उनलाई दुबई हुँदै काजकिस्तान पुर्याएर अगाडि बढाउन नसकेपछि फिर्ता गरिदिएका थिए । ‘५ लाख दिएपछि दलालले दुबईसम्म पुर्यायो, त्यसपछि १५ लाख लिएर काजकिस्तान पुर्यायो, फेरि १० लाख बुझायौं,’ सुवासका बाबुले भने, ‘३० लाख बुझाइसक्दा पनि दलालले काजकिस्तानबाट अगाडि बढाएन, काठमाडौं नै फर्काइदियो ।’
दलाललाई भनेजति रकम बुझाउन नसकेपछि सुवासका बुबाले दाङको जग्गा नै पास गरिदिएको बताए । पहिलो प्रयास असफल भए पनि सुवासको अमेरिका जाने मोह भने अझै भंग भएको छैन । फेरि अर्को दलालमार्फत अमेरिका जान तुनेलो कसे । ‘क्याप्टेन’ नाम बताउने भारतका एक दलालमार्फत फेरि काठमाडौंबाट दुबई–काजकिस्तान हुँदै टर्कीसम्म पुगे । सुवासका बुबाले यहाँसम्मको यात्रामा दलाललाई ३२ लाख बुझाइसकेका थिए । तर यसपटक पनि सुवास काठमाडौं नै फिर्ता हुनुपर्यो ।
‘हाम्रो दोस्रो प्रयास पनि सफल भएन । अनि फेरि अर्को दलालमार्फत छोरो अहिले अमेरिकाको यात्रामा छ ।’ उनले अहिलेको दलालसँग अमेरिका पुर्याइदिने गरी ६० लाख रुपैयाँमा ‘डिल’ भएको बताए । २४ लाख रुपैयाँ बुझाइसकेका सुवासका बुबालाई यतिबेला छोरो कहाँ पुग्यो भन्नेसम्म थाहा छैन । ‘नामै नसुनेको कुनै एउटा टापु देशमा पुगेको छ भन्ने सुनेको छु,’ सुवासका बुबाले कान्तिपुरसँग भने, ‘तेस्रो दलालले पनि अहिलेसम्म २४ लाख लगिसकेको छ, बाँकी ३६ लाखचाहिँ उतै अमेरिका पुगेपछि बुझाउने सहमति भएको छ ।’
मुसीकोट नगरपालिका–१३ छिवाङस्थित एक परिवारमा पनि यतिबेला अमेरिका सपनाले बेचैनी बढाएको छ । १९ महिनाअघि घरबाट अमेरिका जाने भनेर निस्किएका छोराका लागि साँवा मात्रै ५३ लाख रुपैयाँ खर्च भइसकेको उनकी आमाले सुनाइन् । भनिन्, ‘सयकडा २५ मा लिएको ऋण दिनदिनै उकालो लागिरहेको छ । छोरो अमेरिका पुग्ने कुनै छाँटकाँट छैन । के गर्ने, कसो गर्ने अवस्थामा पुगिसक्यौं ।’
२०७९ असोजमा एक जना दलालले ४० लाखमा अमेरिका पुर्याइदिन्छु भनेर ३३ लाख लिएर पनि नपठाएपछि अर्को दलालमार्फत अमेरिका जान भनेर हिँडेको छोरा बाटोमै रहेको उनले बताइन् । ‘पहिलाको दलालबाट काम नभएपछि छोरा घरबाट हिँडेको डेढ वर्षपछि दुबईबाट फर्कियो,’ उनले भनिन् । एक महिनाअघि मात्र काठमाडौंमा भेटिएको अर्को दलालले ६० लाखमा अमेरिका पुर्याइदिने बताएपछि छोरो पुनः हिँडेको उनकी आमाले बताइन् । ‘अहिलेको दलाललाई पनि २० लाख रुपैयाँ बुझाइसकेका छौं । छोरो उज्वेकिस्तान पुगेको भन्ने सुनेका छौं, अब त पुग्ला कि,’ उनी आशावादी देखिइन् ।
यसरी अवैध रूपमा अमेरिका जानका लागि लाखौं बुझाएर बिचल्लीमा पर्ने कैयन् छन् । एकातिर अमेरिका जान ज्यानकै जोखिम मोलिने गरिन्छ भने अर्कोतर्फ मोटो रकमको ऋणको भारीले घरपरिवारमा बेचैनी उस्तै छ ।
अनौठो त के छ भने समस्यामा परिरहेका यस्ता परिवारका सदस्यहरू आफ्नो व्यथा भन्न पनि हच्किने गर्छन् । यसरी भन्दा अमेरिका जान एजेन्टलाई बुझाएको रकम फिर्ता नपाइएला वा एजेन्टबाटै ज्यानको जोखिम होला कि भन्ने त्रास उनीहरूमा देखिन्छ ।
दलालमार्फत काठमाडौंबाट दुबई गएर अवैध रूपमा विभिन्न देश हुँदै मेक्सिकोबाट अमेरिका पुग्ने लालसामा रुकुम पूर्व र पश्चिमका अधिकांश गाउँका तन्नेरीहरू फसिरहेका छन् । यसरी पैदल अमेरिका जान हिँडेकामध्ये केहीको बाटोमै मृत्यु भएको छ भने केही अमेरिका पुगेर पनि अलपत्र परेका छन् । अमेरिका पुगेका कतिपय पनि पक्राउपछि डिपोर्ट भएका घटनाहरू त्यस्तै छन् ।
सामान्य खेती–किसानीबाहेक नियमित आम्दानीको स्रोत नभएका यहाँका परिवारको कथा कैयन् घरमा भेटिन्छन् । सिस्ने गाउँपालिका–३ पोखरामा यस्तै अर्को व्यथा भेटियो । २०७९ असारमा तिनै क्याप्टेन नाम बताउने दलाललाई ३५/३५ लाख बुझाएर अमेरिका हिँडेका दाजु र बहिनी दुबई हुँदै स्पेनसम्म पुगेर काठमाडौं फर्कनुपरेको पीडा रहेछ । दुई जनाको गरेर ७० लाख रुपैयाँ खाएर दलाल भागेपछि आफूहरू अलपत्र परेको परिवारका सदस्यले बताए ।
७० लाख डुबेपछि पनि उनीहरूको अमेरिका जाने सपना भने सकिएको छैन । यतिबेला फेरि अर्को दलालको सम्पर्कमा पुगेका रहेछन् । जसले जनही ६० लाख रुपैयाँमा अमेरिका पुर्याइदिने भनेपछि बहिनीले २० लाख र दाजुले ४१ लाख बुझाइसकेका रहेछन् । चर्को ब्याजमा ऋण लिएर अमेरिकाको अन्धाधुन्ध यात्रामा हिँडेका उनीहरू कथंकदाचित अमेरिका पुगिहाले पनि त्यो बेलासम्म साँवा मात्रै एक/एक करोड पुग्ने अनुमान परिवारको छ । त्यसको ब्याजसमेत थपिँदा कहिलेसम्म तिरिसक्ने हो भन्ने चिन्ता उस्तै देखिन्छ ।
अमेरिकाको अनिश्चित यात्रामा लाखौं रकम फसाएका परिवारहरू न त खुलेर यस विषयमा बोल्न चाहन्छन्, न उनीहरूले न्यायको पहल नै गरेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी नवराज पोखरेल अमेरिका पुर्याइदिने भनेर रकम लेनदेन भएको बारे सम्बन्धित प्रहरी–प्रशासनमा कुनै उजुरी पर्ने नगरेको बताउँछन् । ‘यस प्रकारका हल्ला सुनिन्छन् ।
तर अहिलेसम्म कुनै उजुरी आएको मेरो जानकारीमा छैन,’ उनले भने, ‘उजुरी आएमा हामी कारबाही प्रक्रिया अगाडि बढाउँछौं नै ।’
श्रीमान अमेरिकामा अस्ताए, श्रीमतीको थाप्लामा ऋण
सिस्ने गाउँपालिका–३ पोखराकी उर्मिला शर्मालाई यतिबेला पति वियोगको चोट र कर्जाको भार दुवैले एकैचोटि थिचेको छ । उनले भोगिरहेको यो चोट र भारको कथा भने अमेरिकासँगै जोडिएको छ । संगठित मानव तस्करको भर परेर २५ महिनाअघि ६० लाख खर्चेर अमेरिका छिरेका उनका श्रीमान् वसन्त उतै बिरामी परेर बिते ।
गत फागुन १८ मा वसन्तको उपचारका क्रममा मृत्यु भयो । अनि त उर्मिला दुई छोरीको जिम्मेवारी, पतिले अमेरिका छिर्दा लिएको कर्जाको भार र शोक एकैचोटि उठाउन बाध्य भइन् । गहभरि आँसु पार्दै उनले भनिन्, ‘जोडा त बितेर गए, यी लालाबाला कसरी पाल्ने अनि यति धेरै ऋण कसरी तिर्ने ?’
६० लाख खर्चेर अमेरिका छिरेका वसन्त त्यहाँ पुगेको एक वर्ष पनि नबित्दै बिरामी परेपछि उपचारमा थप १० लाख खर्च गर्न बाध्य भए । तर उनी नै संसारमा नरहेपछि उर्मिलाका निम्ती संसार खसेजस्तो भयो । उनले सुनाइन्, ‘गत मंसिरमा उहाँ बिरामी परेर अस्पताल भर्ना भएको खबर आयो । निको होला भन्ने आशा गरेर बसेको त यस्तो पो भयो ।’
बसन्तलाई अस्पताल भर्ना गर्नेदेखि उपचारमा सघाएकी उनकी भाउजू अस्मिताका अनुसार क्षयरोगको संक्रमणका कारण उनको निधन भएको थियो । उनले अस्पतालको भनाइ उदृत गर्दै भनिन्, ‘क्षयरोगको संक्रमण फोक्सोबाट बढेर दिमागसम्म पुगेकाले ज्यान बचाउने प्रयास सफल भएन ।’
मानव तस्करमार्फत नेपालबाट विभिन्न देश हुँदै अमेरिका पुर्याइएका वसन्त बाटोमा जाँदा जाँदै बिरामी परेको तर जसरी पनि अमेरिका पुग्ने तापका कारण बेवास्ता गर्दा अहिले यो अवस्था आएको उनीसँगै अमेरिका गएका साथी मिलन बुढा मगर बताउँछन् । ‘एउटै गाउँका हामी मेक्सिकोसम्म सँगै थियौं । बाटोमा उनी खोकिरहन्थे । पछि बिरामी भएको खबर सुन्दा दुःख लाग्यो,’ उनले भने, ‘अस्पताल भर्ना भएपछि मात्रै थाहा पाएका हामीले बचाउन धेरै कोसिस गरे पनि सकिएन ।’
क्षयरोगको सामान्य संक्रमण हुँदा नै अस्पताल नपुगेर अन्तिम अवस्थामा मात्रै उपचार भएका कारण बचाउन नसकिएको अमेरिकामै रहेका उनका अर्का साथी लक्ष्मण शर्माले बताए । ‘यहाँ पुगेपछि कसरी पैसा कमाउने भन्नेमा मात्रै ध्यान हुन्छ । यस
कारण पनि वसन्तले स्वास्थ्यको ख्याल गरेनन् सायद,’ उनले भने, ‘पछि धेरै गाह्रो भएपछि मात्रै उपचारका लागि गुहार मागे । अनि उनकी भाउजूलाई खबर गरेर अस्पताल भर्ना गर्यौं ।’
न्युयोर्कस्थित एक अस्पतालमा करिब तीन महिनाको सघन उपचारपछि वसन्को मृत्यु भएको थियो । अवैध रूपमा अमेरिका पुर्याइएका उनीसँग कुनै कानुनी मान्यता प्राप्त नहुँदा उपचारमा त कठिन भयो नै मृत्युपछि पनि दाहसंस्कारमा मुस्किल परेको लक्ष्मण बताउँछन् । ‘उनी बिरामी परेदेखि नै यहाँ रहेका नेपालीले सहयोग संकलन गर्न सुरु गर्यौं,’ उनले भने, ‘यसले उनको उपचार, अन्त्येष्टि र शोकाकुल परिवारको दुःखमा समेत केही सहयोग पुग्यो ।’
वसन्तलाई अमेरिका पुर्याउन परिवारका सदस्यले छर–छिमेक, आफन्त र साहुँबाट २५ देखि ४० प्रतिशत ब्याजमा ५० लाखभन्दा धेरै ऋण लिएका थिए । कमाउन भन्दै हिंडेको मान्छे नै बितेपछिको शोकमा यतिबेला घुमिरहेको ब्याजको मिटरले थप सास्ती दिएको छ ।
अमेरिकामा वसन्तको मृत्युपछि उनका साथीहरूले संकलन गरेर करिब १८ लाख नेपाली रुपैयाँ आफुूहरूसम्म पठाएको बताउँदै श्रीमती उर्मिलाले यसले आफूहरूलाई ठूलो सहयोग पुगेको बताइन् । उनले अझै पनि ५० लाखभन्दा धेरै ऋण तिर्न बाँकी रहेको बताउँदै भनिन्, ‘श्रीमान् र ऋण दुवैको सम्झनाले सताएको छ । कमाउने मान्छे बितिहाल्नुभयो । अब कसरी यो संकटबाट मुक्त हुने होला ?’
उर्मिलाले शोकका बेला भएकाले पैसा दिएकाहरूले तत्कालै नमागे पनि सधै यसै गरी त पक्कै चल्दैन भन्ने बुझिसकेकी छन् । उनले भनिन्, ‘तर सधैं यसै गरी त कसरी चल्ला र । माग्न आउनेलाई के दिएर पठाउँला ?’