ठेकेदारले ज्याला नदिएको श्रमिकको गुनासो

15 May, 2023

नेपाल टेलिकमको अप्टिकल फाइबर बिछ्याउने जिम्मा पाएका निर्माण व्यवसायीले काम लगाएर आफूहरूको ज्याला नदिएको श्रमिकले गुनासो गरेका छन्।

झापा चन्द्रगढीदेखि इलाम सदरमुकामसम्म फाइबर बिछ्याउँदाको करिब करोड ज्याला ठेकेदारबाट लिन बाँकी रहेको श्रमिकको भनाइ छ।

ठेकेदारले रकम नदिएपछि इलामका श्रमिकले सदरमुकाममै आएर पत्रकार सम्मेलन गरी आफूहरू ठगिएको बताएका हुन्। पीडितले राम्चेसिद्ध निर्माण सेवाका प्रोप्राइटर मोहन खत्री दाहाल र निर्माण स्थलमा खटिएका उनकै छोरा कल्याण खत्री दाहालले आफूहरूको ज्याला दिन लामो समयदेखि ‘आनाकानी’ गरिरहेको गुनासो गरे।

निर्माण काममा सामग्री ल्याएका इलाम नगरपालिका–१०, गोदकका वेदबहादुर मगरले आफ्नो १० लाख ३४ हजार रुपैयाँ ठेकेदारबाट लिन बाँकी रहेको बताए।

गोदककै कुलबहादुर तामाङ (पाला) ले काम गरेको पैसा माग्दा ठेकेदारले पटक–पटक दिन्छु भन्दै झुलाइरहेको बताए।

उनले ठेकेदारसँग पैसा माग्न आफू काठमाडौं र इटहरीसम्म पुगेर सातादेखि २५ दिनसम्म बस्दा पनि ठेकेदारले श्रमिकको ज्याला भुक्तानी नगरेको गुनासो गरे। ‘सात दिनमा, १५ दिनमा दिइहाल्छु भन्न छाड्दैनन् तर दिएनन्,’ उनले भने, ‘हामी न्यायका लागि पत्रकार गुहार्दै आएका हौं, अब प्रशासनमा पनि जान्छौं।’ तामाङले अलि–अलि रकम बेला–बेला दिए पनि काम गरेको ज्याला र सामानको भुक्तानी लिन बाँकी श्रमिकको संख्या धेरै रहेको बताए।

निर्माण कम्पनीले २०७६ सालमा झापाको चन्द्रगढीदेखि इलामसम्मको सडकमा फाइबर बिछ्याउन करिब साढे ८ करोडमा ठेक्का लिएको थियो। यसमध्ये ४ करोड हाराहारी रकम आफूहरूले लिइसकेको कम्पनीका प्रतिनिधि कल्याण बताए। आफूले पनि ठेक्का लिएको ठाउँबाटै रकम आउन बाँकी रहेकाले सबै जनाको एकै पटक भुक्तानी गर्न नसकेको उनले प्रतिक्रिया दिए।

पीडितमध्येका कुलबहादुरले आउँदो बुधबार ठेकेदार प्रतिनिधि कल्याण र मोहन इलाम आएर रकम भुक्तानीका लागि लिखित प्रतिबद्धता जनाउने सूचना आएको जनाए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024