१४ भदौ, काठमाडौं । वैदेशिक रोजगारीका रहेका नेपालीलाई लक्षित गरी सुरु भएको टेलिमेडिसिन सेवा लिने कामदारको संख्या साढे ३ महिनामा झण्डै १ हजार पुगेको छ । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार १५ चैत २०७९ देखि असार मसान्त २०८० सम्म ९३७ जना कामदारले यो सेवा लिएका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २ फागुनमा टेलिमेडिसिन सेवा सञ्चालन सम्बन्धी कार्यविधि २०७९ स्वीकृत गरेको थियो । बिहान १० बजेबाट यो सेवाको सुरुवात हुन्छ । सार्वजनिक बिदाका दिन बाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह हुने गरेको छ । यो सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, ह्वाटस एप वा इमो लगायत सामाजिक सञ्जालबाट फोन गर्न सक्ने छन् ।
कल टेलिमेडिसिनका मेडिकल अधिकृतले रिसिभ गरेर बिमारी कामदारलाई विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराउँछन् । विशेषत आइतबार र शुक्रबार गन्तव्य मुलुकमा सार्वजनिक बिदा पर्ने भएकोले सो दिनमा विशेषज्ञ सेवा उपलब्ध गराउन खोजिएको बोर्डको भनाइ छ ।
कुन मुलुकबाट कतिले लिए सेवा ?
बोर्डका अनुसार यो अवधिमा सबैभन्दा धेरै मलेसियाबाट टेलिमेडिसिन सेवा लिएका छन् । यो संख्या २७५ जना रहेको छ । साउदी अरेवियाबाट २२७, कतारबाट १०४, यूनाइटेड अरब इमिरेट्सबाट ९७, कुवेतबाट ७१, कोरियाबाट ५७, जापानबाट १९, पोर्चुगल र रोमानियाबाट ११/११ जनाले यस्तो सेवा लिएका छन् । अन्य मुलुकबाट यो अवधिमा ६५ जनाले सेवा लिएको बोर्डको तथ्यांक छ ।
कस्तो समस्या सुनाउँछन् कामदार ?
टेलिमेडिसिन सेवामा सबैभन्दा धेरै सोधपुछ औषधिसम्बन्धी हुने गरेको छ । यस्तो सेवा ३१२ जनाले लिएका छन् । सर्जरीबारे १७२, अर्थोपेडिकबारे १३२ जनाले सेवा लिएको विभागको तथ्यांक छ ।
अनलाइनमार्फत उपलब्ध गराइन्छ प्रेस्क्रिप्सन
सेवा लिने श्रमिकको प्रेस्क्रिप्सन अनलाइनमार्फत उपलब्ध गराइने गरिएको छ । यस्तो सेवाको सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्डले व्यहोर्छ । यो सेवा पूर्णत निःशुल्क रहने बोर्डले जनाएको छ । यो सेवामा वीर अस्पतालसँग साझेदारी गरिएको छ ।