टुँडिखेलमा सीप सिक्दै २०८१ जना, रोजगारी पनि पाइने

7 May, 2024

टुँडिखेलमा जारी सीप मेलामा तालिम लिँदै सर्वसाधारण । महानगरले १५ वैशाखसम्म अनलाइन र वडा कार्यालयमार्फत फारम भर्नेहरूमध्ये २०८१ जनालाई तालिममा सहभागी गराएको छ । २८ वैशाखसम्म निवेदन दिनेलाई महानगरको रोजगारी र आय वृद्धि, काठमाडौं महानगरको समृद्धि कार्यक्रममार्फत तीन वर्षभित्र तालिम दिइनेछ ।

काठमाडौं महानगरपालिकाले २१ वैशाखबाट टुँडिखेलमा आयोजना गरेको सीप मेलामा दुई हजार ८१ जना निःशुल्क सीप सिक्दै छन् । १० विधा र ३० पेसाका लागि सञ्चालित प्रशिक्षणको अवधि सात दिन, १५ दिन र ३० दिनको रहेको छ । मेला १९ जेठसम्म चल्नेछ ।

सीप मेला निर्देशक समितिका सदस्य शैलेन्द्र झाका अनुसार चालू आवमा १५ हजारलाई सीपमूलक तालिम दिने र पाँच हजारलाई रोजगारी दिने महानगरपालिकाको गौरवकोे ‘रोजगारी र आय वृद्धि, काठमाडौं महानगरको समृद्धि’ कार्यक्रमअन्तर्गत सीप मेला आयोजना गरिएको हो । महानगरले १५ वैशाखसम्मको अवधि तोकेर वडा कार्यालयमार्फत फारम वितरण गरेको थियो । ‘उहाँहरूमध्ये २०८१ लाई सीपमूलक तालिम दिइरहेका छौँ । तालिम लिइसकेपछि स्वरोजगार पनि हुनुहुन्छ । त्यसबाहेक हामी महानगरको श्रम बैंकमा आबद्ध गराएर रोजगारी दिन्छौँ ।’

तालिम कक्षा हरेक दिन बिहान ८ बजे सुरु हुन्छ । तालिमका फास्टफुड एन्ड कुकिङ र बेकरीका कक्षाहरू चार–चार घण्टा हुन्छन् । अन्य कक्षा तीन–तीन घण्टा सञ्चालन हुन्छन् । यसरी दोस्रो कक्षा ११ बजे र तेस्रो कक्षा २ बजे सुरु हुन्छ ।

मेलामा महानगरलाई कर तिर्ने करदाता, महानगरवासी र डम्पिङसाइट प्रभावित क्षेत्र बन्चरेडाँडा र सिसडोलवासीलाई विशेष प्राथमिकतामा राखिएको छ ।

महानगरले गौरवको आयोजनाअन्तर्गत गत मंसिरबाट तालिम सुरु गरेको थियो । हालसम्म दुई हजारले तालिम प्राप्त गरिसकेका छन् । ‘सीपमूलक तालिम कार्यक्रम चलिरहेकै थियो, मासमा पनि जानकारी गराऔँ, सबैले थाहा पाउन् भनेर सीप मेला आयोजना गरिएको हो,’ झाले भने, ‘यसपनि पनि सीपमूलक तालिम नियमित नै हुन्छ ।’ महानगरले चालू आवभित्र १५ हजारलाई तालिम दिने र पाँच हजारलाई रोजगारी दिने, स्वरोजगार बनाउने वा ओजेटीमा राख्ने लक्ष्य लिएको छ ।

कुन–कुन तालिम सञ्चालन भइरहेका छन् ?

रोजगार संयोजक देवेन्द्र केसीका अनुसार १० वटा विधामध्ये अटोमोबाइल्समा तीनवटा पेसासँग सम्बन्धित तालिम छन् । पेसा अटोइलेक्ट्रिक र अटोएअर कन्डिसनको तालिम १५–१५ दिन चल्नेछ भने इलेक्ट्रिकल कार रिपेयर (इभी)को तालिम ३० दिनसम्म चल्नेछ ।

निर्माण विधाका चारवटा तालिम डकर्मी (म्यासन), टाइल एन्ड मार्बल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ ३० दिनसम्म चल्नेछ । हस्पिटालिटी एन्ड म्यानेजमेन्ट विधामा वारिस्ता, फास्ट फुड एन्ड कुक, बेकरी, बार टेन्डिङ र वेटर÷वेट्रेस तालिम छ । फास्ट फुड कुक १५ दिनको हो भने बाँकी तालिम सात दिनका हुन् ।

सूचना प्रविधि (इन्फर्मेसन एन्ड टेक्नोलोजी) विधामा चारवटा पेसाका तालिम छन् । डिजिटल मार्केटिङ, कम्प्युटर हार्डवेयर एन्ड नेटवर्किङ, सिसिटिभी क्यामेरा र मोबाइल रिपेयरिङका कक्षा चलिरहेका छन् । सिसिटिभीका तालिम सात दिन र बाँकी पेसाका कक्षा १५ दिन चल्नेछन् ।

मेकानिकल विधाअन्तर्गत वेल्डिङको १५ दिन र रेफ्रिजेरेटर एन्ड एसी टेक्निसियनको ३० दिन तालिम चलिरहेको छ । आर्ट एन्ड कल्चर विधामा १५ दिनको आर्ट एन्ड स्कप्चरको तालिम चलेको छ । गार्मेन्ट्स विधामा टेलरिङ÷ड्रेस मेकर र फेसन डिजाइनिङ गरी दुई तालिम छन्, जुन १५ दिन चल्नेछन् । ब्युटिसियन विधामा नेलआर्ट, हेयर कट एन्ड स्टायल र सैलुन गरी पाँच पेसाका तालिम छन्, जुन १५–१५ दिनका हुन् । मेकअप आर्ट, आइलेस आर्ट सात दिनका हुन् ।

डिजाइनिङ विधामा सात दिनको स्क्रिन प्रिन्टको कक्षा चलिरहेको छ । पुरोहित विधा १५ दिन अवधिको पुरोहित र सात दिन अवधिको ज्योतिष तालिम चलिरहेका छन् ।

धेरै माग आएपछि ‘मोबाइल रिपेयरिङ’ तालिम थपियो

सीप मेलामा यसअघि २९ प्रकारका तालिम भनिएको थियो । तर, मोबाइल रिपेयरिङसम्बन्धी तालिमको माग आएपछि थप गरेर ३० पु¥याइएको छ । यसैगरी, टेलरिङ (डे«स मेकिङ)मा संख्या धेरै भएपछि कक्षा थप गरिएको निर्देशक समितिका सदस्य शैलेन्द्र झाले जानकारी दिए । मेलामा इलेक्ट्रिक कार मर्मत, आइटी, ब्युटिसियन, गार्मेन्ट्स, फेसन डिजाइनिङ, हस्पिटालिटीदेखि ज्योतिष विद्यासम्म तालिम दिइँदै छ ।

टुँडिखेलमा सीप मेला आयोजना भएपछि तालिमका लागि ३५ हजारले भरे फारम

महानगरको रोजगारी र आय वृद्धि, काठमाडौं महानगरको समृद्धि कार्यक्रममार्फत सीपमूलक तालिम लिन अहिलेसम्म ३५ हजारले फारम भरेका छन् । तालिमका लागि १५ वैशाखसम्म वडा कार्यालयमा र १९ वैशाखमा टुँडिखेलमा फारम वितरण गरिएको थियो । तर, माग बढेपछि त्यसपछि पनि फारम वितरण हुँदा अहिलेसम्म ३५ हजारले फारम भरेका हुन् ।

हस्पिटालिटी एन्ड म्यानेजमेन्ट विधाअन्तर्गत वारिस्ता, फुड एन्ड कुक, बेकरी, बार टेन्डिङ र वेटर÷वेट्रेस तालिम र गार्मेन्ट्स विधाअन्तर्गत टेलरिङ÷ड्रेस मेकर र फेसन डिजाइनिङ तालिममा अत्यधिकको रुचि छ । यस्तै, मेकानिकलअन्तर्गत वेल्डिङ र रेफ्रिजेरेटर एन्ड एसी टेक्निसियन तालिम र निर्माण क्षेत्रअन्तर्गत सिकर्मी, टाइल एन्ड मार्बल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङका लागि कम सहभागिता छ ।

फारम भरेकामध्येबाट १० हजार छनोट गरी तालिम दिने महानगरको तयारी छ । यसका लागि महानगरले १० करोड रुपैयाँ विनियोजनसमेत गरेको छ । महानगरले तालिम सञ्चालनका लागि कलेजसहितका इन्स्टिच्युटसँग मिलेर ल्याबसमेत व्यवस्थापन गरेको छ ।

तर, फारम भरेका सबैले तालिम लिँदैनन् । ‘फारम भरेकामध्ये ३०–३५ प्रतिशतले तालिम लिने गरेको ट्रेन्ड छ । तालिम सुरु गरिसकेपछि बीचमा छाड्न पाइँदैन । छाडेमा लगानी फिर्ता गर्नुपर्छ,’ झाले भने, ‘निःशुल्क भनिए पनि कसै न कसैको पैसा लागेको छ, सुविधा दुरुपयोग गर्न पाइँदैन ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024