टिप्पणी : आजाद, हथौडे वा तनुवा भिसा

2 Jun, 2012

दिनेश रेग्मी

खाडीमा सबैभन्दा बढी समस्यामा पर्ने ती कामदार हुन्, जो व्यक्तिगत रूपमा एजेन्ट/दलालको पहलमा रंगीन सपना बोकर वैदेशिक रोजगारीका लागि छिरेका छन् ।

विशेषतः अदक्ष कामदार र बेरोजगारको हुललाई प्रलोभनको पोको देखाएर मोटो रकम कुम्ल्याउँदै मानव तस्करहरूले मुहानदेखि नै ठग्न सुरु गर्छन्, जो गन्तव्य खाडी आएर ठगीको चरम चरणमा पुग्छन् । 

 

यी एजेन्टहरूमा कहीं कतै व्यवसायको लागि दर्ता नभएका दलाल र कतिपय म्यानपावर कम्पनी स्वयंसमेत छन् । म्यानपावर कम्पनीका सञ्चालक, स्टाफ र एजेन्टहरूले आफू जिम्मेवारीबाट पन्छिन व्यक्तिगत रूपमै कामदार पठाउने गरेका प्रशस्तै घटनाहरू छन् । यी तस्करलाई व्यक्तिगत रुपमा कामदार पठाउन सहयोग गर्ने खाडीमा अरू व्यक्ति हुन्छन्, जसले यहाँबाट भिसा निकाल्छन् । ती भिसा निकाल्नेमा कुनै कामदारका आफन्त, कुनै एजेन्ट, दलाल, सप्लाई व्यवसायी, कम्पनी प्रतिनिधि र म्यानपावर कम्पनी हुन्छन् । मुख्यतः यसमा दलाल र सप्लाई कम्पनी चलाएका -कथित) ठूला व्यवसायीको जगजगी छ । खाडी मुलुकमा रोजगारदाता कम्पनीले कामदारको भिसा र हवाई टिकट निःशुल्क उपलब्ध गराउँछन् । तर दलालहरूले भिसा र हवाई टिकटको शुल्क भन्दै कामदारसँग रकम असुल्न छाड्दैनन् । कस्तोसम्म पाइएको छ भने दलालहरूले कम्पनीका म्यानेजर -मुदिर), जनसम्पर्क अधिकृत -मन्दुप) लाई कमिसन दिलाएर भिसा निकाल्ने र बढी मूल्य पाउनासाथ त्यो भिसा अरूलाई बेच्नेसमेत गरेका छन् । 

 

सधैं गलत तरिका अपनाएका दलालहरूको नियत ठग्नु सिवाय अरू केही हुँदैन, जसको कारण कामदारले मोटो रकम खर्च गरेर आए पनि यहाँ सबैभन्दा बढी ठगी बेहोर्छन् । दलालहरूको नक्कली सम्झौतामा कामदार झिकाउने, एउटा काम भनेर अर्को काममा लगाउने, भनेअनुसार तलब, सेवासुविधाबाट वञ्चित गराउने गर्छन् । ठग एजेन्ट, दलाल र म्यानपावर कम्पनीको मिलेमतोमा कामदारलाई स्वीकृति दिने निकाय वैदेशिक रोजगार विभाग र उडान अनुमति दिने अध्यागमन कर्मचारीको पनि हात छ । यस्तो मिलेमतो -जसलाई ‘सेटिङ’ भन्ने गरिन्छ) ले कैयौं कामदार बिचल्लीमा परेका छन्, जसको दर्दनाक दृश्य खाडीका विमानस्थल र नेपाली दूतावासमा सहजै देख्न सकिन्छ ।

 

व्यक्तिगत रूपमा कामदार झिकाउने प्रवृत्ति जुन आजाद भिसा -हथौडे भिसा) को नामले पनि चिनिन्छ, त्यसलाई निरुत्साहित गर्न खाडीका दूतावास, यहाँका सक्रिय संघ, संस्था र पेसाकर्मीले कामदारको रोजगार करारनामा -इम्प्ल्वाइमेन्ड-कन्ट्रयाक्ट) दूतावासबाट अनिवार्य प्रमाणित गर्नुपर्ने र त्यसैको आधारमा वैदेशिक रोजगार विभागले अन्तिम स्वीकृति दिनुपर्ने आवाज उठाए । एक वर्षअघि तत्कालीन राजदूत डा. सूर्यनाथ मिश्रले व्यक्तिगत रूपमा आउने कामदारको रोजगार करारनामा र भिसा दूतावासबाट अनिवार्य गर्न पहल थालेका थिए । यसबारे कतारस्थित नेपाली समुदायसँग छलफल गरी तयार गरेको मापदण्ड कार्यान्वयनका लागि परराष्ट्र, श्रम मन्त्रालय र वदैशिक रोजगार विभागमा दूतावासले पत्राचार गरेको थियो । ती निकायले कुनै प्रतिक्रिया नजनाएपछि दूतावासले गत वर्षको वैशाख १८ -मे १, २०११) देखि अनिवार्य रूपमा व्यक्तिगत रूपमा आउने कामदारको रोजगार करारनामा र भिसा प्रमाणित गर्ने मापदण्डको सुरुवात गर्‍यो ।

 

अघिल्लो वर्ष असोजमा संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिएर प्रधानमन्त्री बाबुराम भट्टराई कतार हुँदै स्वदेश फिर्ने क्रममा यहाँस्थित दूतावास र नेपाली समुदायले फेरि श्रममा अनिवार्य प्रमाणीकरण गर्न माग गरे । प्रधानमन्त्री स्वदेश पुगेको एक साताबाटै वैदेशिक रोजगार विभागले मापदण्ड अनिवार्य गरेपछि कतारमा यो लागू हुनपुग्यो । नियम अनिवार्य भएपछि व्यक्तिगत रुपमा आउने कामदारको रोजगार करारनामा र भिसा प्रमाणित गर्न दूतावासमा भीड नै लाग्न थाल्यो । कहिल्यै नदेखिएका, नसुनिएका एजेन्ट, दलालहरू पनि रोजगार करारनामा र भिसा बोक्दै दूतावास पुग्न थाले ।

 

पछिल्लो समय खाडीका दूतावास भएका मुलुकहरूमा व्यक्तिगत रूपमा वैदेशिक रोजगारमा जाने कामदारको प्रमाणीकरण दूतावासबाटै हुनुपर्ने नियम अनिवार्य भए पनि थप संस्थागतभन्दा व्यक्तिगतमा चाप कम भएको छ । म्यानपावर कम्पनीहरूले पनि संस्थागत रूपमा नगरी व्यक्तिगत रूपमै कामदार पठाउने क्रम घटाएका छैनन् । कतिसम्म भने दुई/चारमात्रै होइन, बढीमा ९२ जना कामदार पनि व्यक्तिगत तवरबाट मगाउने भेटिएको छ । 

 

संस्थागत रूपमा पठाउनुपर्ने कामदारलाई व्यक्तिगत रूपमा पठाएर आफ्नो दायित्वबाट पन्छिन खोज्ने म्यानपावर कम्पनी र रोजगारदाता कम्पनीलाई अंकुश लगाउन अहिले ‘परराष्ट्र र वैदेशिक रोजगार विभागबाट आएको आदेश’ भन्दै दूतावासले व्यक्तिगत रूपमा आउने कामदारलाई अरू कडाइ गरेको छ । एक महिनाअघि वैशाख १९ -मे १) देखि नाता प्रमाणित हुनेबाहेक अरू कामदारलाई व्यक्तिगत रूपमा झिकाउन नपाइने दूतावासले नियम जारी गरेको छ । संस्थागत रूपमा कामदार झिकाउने र पठाउने क्रमलाई जोड दिन यो नियम लागू गरेको दूतावासको भनाइ छ । 

 

‘काम गर्न आएको मान्छेले भिसाको कारोबार गर्ने होइन, त्यही हुनाले व्यक्तिगत रूपमा झिकाउने क्रमलाई रोक्न पनि नाता प्रमाणित खोज्नुपरेको हो’, श्रम सहचारी इन्द्रदेव पाण्डे भन्छन्— ‘संस्थागत रूपमा कसैले कामदार झिकाउँछ भने कम्पनीको जुनै प्रतिनिधि पनि प्रमाणीकरण गर्न आउन सक्छ ।’ दूतावासले यो नियम लागू गरेपछि अहिले व्यक्तिगत रूपमा दैनिक प्रमाणीकरणका लागि १ सयको हाराहारीमा र संस्थागत रूपमा औसत ८ कम्पनी प्रमाणीकरणका लागि दूतावास पुग्ने गरेका छन् । एक कम्पनीले औसतमा २० कामदार झिकाउने दूतावासले जानकारी दिएको छ । यो नियमपूर्वक व्यक्तिगत रूपमा डेढ सयभन्दा बढी कामदारको प्रमाणीकरण र औसत चार कम्पनीको दूतावासबाट रोजगार करारनामा प्रमाणित हुने गरेको थियो ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024