ज्यालादारी गरेर छोरालाई इन्जिनियर बनाउने आमाको सपना

7 Jan, 2021

गणेश विशु

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–१, स्थित तारेभिर नजिकै दर्जन बढी महिलाहरू दैनिक गुजाराका लागि संघर्ष गर्दै छन्। चिसो सिरेटोसँगै ढुंगा र माटोमा आफ्ना पौरखी हातहरू ख्याउने महिलाको एउटै सपना छ, ‘साँझ बिहानको छाक टार्ने।’ तर यही भिडकी एउटी पात्र छिन्, जोसँग दैनिक गुजारा मात्रै होइन आफ्नो छोरालाई ‘इन्जिनियर’ बनाउने सपना छ। 

दैनिक सामान्य ज्याला मदजुरी गरेर आफ्ना सन्तानलाई इन्जिनियर पढाउने सपना कमैले देख्छन्। वीरेन्द्रनगर–१ सोलीघोप्टेकी नन्दकला आचार्य (४२) छोरा हेमन्तलाई इन्जिनियर बनाउन त्यही सपना पूरा गर्न तयार छिन्। सामान्य खर्चले इन्जिनियरिङ पढाइ नधान्दा धनाड्यहरूको सपना मात्र बनेको इन्जिनियरिङ उनी आट, आत्मविश्वास, लगनशीलता, क्षमता र इमान्दारीतासाथ काम गर्दा सामान्य व्यक्तिका छोराछोरी पनि इन्जिनियर बन्न सक्छन् भन्ने उदाहरण दिन चाहान्छिन्। ‘मेरो घरको आर्थिक अवस्थाले छोरालाई इन्जिनियर बनाउन सक्दैन,’ उनले भनिन्, ‘यही ज्यालादारी गरेर पढाउँदैछु।’ काम गरेवापत उनले दैनिक ६ सय रूपैयाँ ज्याला पाउँछिन्। जसले घर खर्चसँगै छोरा हेमन्तलाई इन्जिनियर पढाउनलाई जम्मा गर्छिन्।

‘छोरालाई इन्जिनियर बनाउने मेरो चाहना त थिएन,’ उनी भन्छिन्, ‘छोराले इच्छा गरेपछि इन्कार गर्न सकेन।’ महिनाभरि काम नपाइँदा कहिलेकसो समस्या हुनेभन्दै उनले भनिन्, ‘काम पाएसम्म गर्छु।’ सुर्खेतमै इन्जिनियर पढाइ हुने भएकाले पनि आफू छोरालाई इन्जिनियर पढाउन सहमत भएको उनले बताइन्। ‘जिल्ला बाहिर जाने भए धेरै खर्च हुन्थ्यो,’ उनी भन्छिन्, ‘जिल्लामै पढाइ हुने हुँदा सजिलो भएको छ।’ 

दैनिक ६ सय रूपैयाँ पाउने उनले छोराको मासिक आठ हजार रूपैयाँ शुल्क तिर्नुपर्छ। धनाड्य मान्छेका मात्र सपना नहुने भन्दै उनले सामान्य मान्छेका पनि सपना हुने बताइन्। तर संघर्षबिना ति सपना सफल नहुने उनको भनाइ छ। हाल उनका दुई छोरी र एक छोरा छन्। छोरीहरूलाई पनि रोजाइको विषय पढाउने उनले बताइन्। आफूले गर्ने फजुल खर्च मात्र कटाउँदा पनि आफ्नो लक्ष्यमा पुग्न सजिलो हुने उनको भनाइ छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024