ज्यान जोगियो, खुट्टा जोगिएन

22 Nov, 2018

‘के गनाएको यस्तो ?’ ट्रमा सेन्टरका स्वास्थ्यकर्मीले नाक खुम्च्याउँदै धनबहादुर गुरुङको बेडमा एक्सरे राखिदिएर भने, ‘उहाँलाई तुरुन्तै ४३१ नम्बर कोठामा लैजानु ।’  त्रिभुवन विमानस्थलमा धनबहादुर गुरुङ । त्यो नमीठो गन्ध धनबहादुरको खुट्टाबाट आइरहेको थियो । गन्धको मतलब नगरी धनबहादुरकी श्रीमती देउकुमारी बेडको छेउमा बसिरहेकी थिइन् । दुवै खुट्टा भाँचिएको २२ औं दिन मंगलबार मलेसियाबाट आएका धनबहादुरसँग उनको चार वर्षपछि भेट भएको थियो । ‘उहाँको खुट्टा पूर्ण रूपले पाकिसकेको छ, घाउ आलो छैन,’ देउकुमारीले भनिन्, ‘मलेसियामै उपचार भइदिएको भए यस्तो हुने थिएन ।’ कात्तिक ८ गते पुलबाट खस्दा उनको दुवै खुट्टा भाँचिएको थियो । ड्युटीबाट बसमा फर्कने क्रममा हतियारधारी मलेसियन नागरिकले लखेट्दा उनी आत्तिएर पुलबाट खसेका थिए । ‘मैले बसमा भाडा तिर्ने बेला मलेसियालीले मसँग भएको रकम देखेछन् । गाडीबाट उत्रिनासाथ उनीहरू तरबार लिएर पछि लागे । पैसा लुट्नका लागि पहिले पनि नेपालीमाथि आक्रमण हुने गरेको थियो,’ उनले भने, ‘उनीहरू मलेसियाली भाषामा मलाई मार्ने बताउँदै अगाडि बढे । म आत्तिएर दौडिँदा पुलबाट खस्न पुगें ।

धन्न गुडिरहेको गाडीले ब्रेक लगायो । नत्र त्यहीं मर्थें ।’ त्यतिखेर उनको खल्तीमा ९ सय रिंगेट थियो । उनलाई प्रहरीले तुरुन्तै अस्पताल लगेको थियो । अस्पतालको रिपोर्टअनुसार धनबहादुरको दुवै खुट्टाको कुर्कुच्चा बाहिर निस्किएको छ । ‘डाक्टरले अप्रेसन गर्नुपर्छ भनेका थिए । कम्तीमा २५ हजार रिंगेट (करिब साढे सात लाख) लाग्ने बताएका थिए । त्यत्रो पैसा थिएन,’ उनले भने, ‘उनीहरूले सामान्य उपचार गरेर डिस्चार्ज गरिदिए ।’ उनको बिमा थिएन । कम्पनीले परिचयपत्र बनाइदिएको थिएन । मलेसियाको अध्यागमन नियमअनुसार उनको हैसियत गैरकानुनी थियो । ‘मेरो सप्लाई कम्पनी थियो । १८ महिनासम्म फलाम पखाल्ने कम्पनीमा काम गर्न पठायो । त्यो कम्पनी बन्द भएपछि अन्यत्र सार्‍यो । परिचयपत्र नवीकरण गर्न छाड्यो । टिकट दिएर नेपाल पनि पठाइदिएन । पैसा हुने साथीहरू आफैं टिकट काटेर गए । ५ महिनाको तलब लिन बाँकी थियो ।

मसँग पैसा पनि थिएन,’ उनले भने, ‘मलेसिया आउँदा लागेको ऋण तिर्न सकेको थिइनँ । ऋण तिरेर घर फर्कने योजना बनाउँदै थिएँ ।’ कमाउन गएका श्रीमान्लाईदेउकुमारीले उल्टो एक लाख रुपैयाँ घरबाट पठाएर झिकाउनुपर्‍यो । ‘परिचयपत्र नभएकाले जरिवाना तिर्नुपर्दो रहेछ । जरिवाना तिर्नका लागि ३१ सय रिंगेट (करिब ९३ हजार रुपैयाँ) बुझाउनुपर्‍यो,’ उनले भने, ‘जसोतसो श्रीमतीले खोजेर पठाइदिइन् ।’ कटुन्जे–४, गोरखाकी देउकुमारीलाई श्रीमान् झिकाउन तीन साता लाग्यो । ‘छिट्टै झिकाउन पाएको भए खुट्टाको घाउ आलै रहन्थ्यो । यति साह्रै बिग्रिँदैनथ्यो होला,’ उनले भनिन्, ‘घरमा साना दुई छोरा छन् । भएको जमिनले खान पुग्दैन । ऋणमाथि ऋण थपियो । सहारा दिने मान्छेको यस्तो गति भयो ।’ उनको श्रम स्वीकृतिको म्याद सकिएकाले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कल्याणकारी कोषले उपचार खर्च बेहोर्न नमिल्ने बताएको छ । ‘खाने पैसा साथमा छैन,’ उनले भने, ‘अब लाग्ने खर्च कताबाट जुटाऊँ ?’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024