जो डेनमार्कको मासिक १० लाख छाडेर खेतीमा खुसी छन् (भिडिओ)

17 Jun, 2024

बर्सेनि बीसौं अर्ब रूपैयाँको चामल र करोडौंको कोदो समेत आयात गर्ने नेपालमा कृषि पेसा मानिसहरूको प्राथमिकताको पुछारमा परेको धेरै भइसकेको छ।

हालै भारतको कृषिबारे एक प्रतिष्ठित पत्रकार राजीव रञ्जन भन्दै थिए — देशभर गाउँमा समेत मानिस धनी भएका छन् भने सहरबाट पठाएको पैसाबाट भएका छन्, जो गाउँको कृषिमा सीमित भएर उतै छुटेको छ, उसको कन्तबिजोग छ।

नेपालका हकमा पनि यही कुरा लागू हुन्छ भन्ने मलाई लाग्छ।

भारतमा नेपालमा भन्दा निकै बढी अनुदान पाउने किसानहरूको त त्यस्तो हालत छ र उनीहरुको हालत सुध्रिने सम्भावना दुरदुरसम्म कतै देखिएको छैन भने नेपालजस्तो निम्छरो आर्थिक जग भएको देशमा कृषि पेसा अहिलेको खाडलबाट कहिले निस्किने हो भन्न कठिन छ।

के उसो भए नेपाल अब खाद्यपदार्थका लागि पूर्ण परनिर्भर भएको यथार्थलाई सबैले निर्विकल्प स्वीकार गरेर देशको अर्थतन्त्रलाई नै सोही अनुसार पुनर्संरचना पर्ने हो त?

त्यसो नभएर कतै नेपालको कृषि क्षेत्रमा चौतर्फी निराशाबीच केही हरिया पालुवाहरू पो पलाइरहेका छन् कि?

केही वर्षदेखि मैले यी प्रश्नको जबाफ खोजिरहेको छु।

खानाका लागि खाद्य अभियानले अघिल्लो वर्ष विश्व खाद्य दिवसका अवसरमा चितवनको रामपुरमा त्यस्तो सम्भावना बोकेका केही कृषि उद्यमीहरूलाई जम्मा पारेको थियो।

तीमध्ये सिन्धुलीमा सहकारी ढाँचामा कृषि फार्मको नेतृत्व गरिरहेका माधव ढुंगेल, तनहुँमा प्रांगारिक कृषिको अभ्यास गरिरहेका नारायण वाग्ले र कास्कीमा एकीकृत फार्म चलाएर ठूलो संख्यामा दुधालु बाख्रा पालन गरिरहेकी माया गुरूङसित एक साँझ हामी घन्टौं बसेर नेपालको कृषिबारे मन्थन गरेका थियौं।

साँझको कार्यक्रममा छुटेका चितवनका अग्रणी प्रांगारिक कृषक तथा अभियन्ता चन्द्र अधिकारीले पनि दिउँसोको कार्यक्रममा आफ्ना अनुभव सुनाएका थिए।

उनीहरूका अनवरत संघर्ष र आंशिक सफलताका कथाहरू सुनेपछि कतै बाँझिदै गरेको नेपालको पहाडी भूभागमा पनि सम्भावनाका बाटा छन् है भन्ने आशाको झिल्को देखा परेको थियो।

तर त्यसको केही महिनापछि म जब त्यस दिनको कार्यक्रममा आउन नभ्याएका चितवनको माडीका कृषि उद्यमी भानेश्वर पोखरेलको फार्ममा पुगेँ, त्यो झिल्को झनै चहकिलो देखियो।

बारम्बार त्यहाँ जाँदा मलाई लाग्न थाल्यो — एउटा विश्वविद्यालयले जे गर्नुपर्ने हो, त्यो काम त यहाँ एउटा फार्मले पो गरिरहेको छ।

यता तरकारी खेती छ, उता खर्बुजा र मेवा खेती। तारबारभित्र प्रांगारिक खेती छ, बाहिरपट्टि रसायनसहितको तर सख्त मापदण्ड कायम भएको तरकारी खेती छ। थोपा सिँचाइबाट पानी मात्र होइन, बिरूवाको आवश्यकता अनुसार बोटैपिच्छे पोषक तत्वको प्रवाह भइरहेको छ। हलमा तालिम र कक्षा लिनेहरूको घुइँचो छ, छेउका टहरामा आवासीय तालिम र कक्षामा आउनेहरूको वास छ। विभिन्न विश्वविद्यालयहरूबाट आएर विभिन्न खाले शोध गर्ने विद्यार्थीहरूको समूह अर्कोतिर छ।

यता डोटीदेखिका किसान आएर डेनमार्कबाट नेपाल भित्रिएको प्रविधिबारे सिक्दैछन्, अर्कोतिर यहाँ आएर फर्केका किसानहरूले फोन गरेर आफ्नो माटोको स्वास्थ्यबारे पोखरेलसँग कुराकानी गरिरहेका छन्।

देशभर जुनसुकै बहानामा भए पनि युवा बाहिरिइरहेको भाष्य बनिरहँदा पोखरेलले मलाई एउटा कथा सुनाए — आफ्ना एक स्थानीय कामदार जोडीले फुसको झुपडीलाई टिनले छाएको घरमा स्तरोन्नति गरेको।

घर छेउको नियमित रोजगारीले उनीहरूलाई लाखौं ऋण खोजेर खाडी भासिने विवशताबाट मुक्त गरिदिएको थियो।

ओभरटाइम गर्ने कामदारले मासिक २५ हजार सजिलै कमाउन सक्छन् त्यहाँ। दुई जनाको ४० देखि ५० हजार रपैयाँ दिगो कमाइ भनेको नेपालको विपन्न र निम्न मध्यम वर्गका लागि अहिले उल्लेख्य कमाइ हो। माडीका मानिसका लागि त्यो भनेको नारायणगढमा डेरा गरेर ६० हजार रूपैयाँ कमाए बराबर हो।

दिगो व्यवसायले सिर्जना गर्ने यस खाले स्थानीय अर्थचक्रले मलाई धेरै उत्साही बनायो।

त्यस अगाडि मंगलपुरका प्रांगारिक किसान चन्द्र अधिकारी भन्दै थिए — यता मधेसबाट थोरै पुँजी लिएर मानिस आउँछन्, भाडामा जमिन लिएर तरकारी खेती गर्छन्। तरकारीको फसल बेचेपिच्छे त्यसबाट भएको आम्दानी लगेर मधेसमा टुक्रा भए पनि जमिन जोड्छन्।

ती किसानहरूले आफूले मात्रै आम्दानी र समृद्धिको यात्रा गरिरहेका थिएनन्, मधेसबाट ठूलो संख्यामा श्रमिकहरू पनि चितवन भित्र्याइरहेका थिए। ती श्रमिकका कारण चन्द्रजीजस्ता स्थानीय किसानको पनि गर्जो टरिरहेको थियो र श्रमिकको अभावमा खेतबारी बाँझो राख्नुपरेको थिएन। प्रांगारिक खेती गर्न यसै पनि रासायनिक खेतीभन्दा बीसौं गुणा बढी श्रमिक आवश्यक पर्छ, खास गरी झार गोड्ने बेला।

यो चितवनमा मैले कृषि क्षेत्रमा फेला पारेको अर्को आशाप्रद अर्थचक्र थियो।

डेनमार्कमा स्नातकोत्तर र विद्यावारिधि गरेपछि पोखरेल त्यहाँको एउटा निजी कृषि संस्थामा शीर्ष तहमा पुगिसकेका थिए। एउटा नेपाली भएर डेनिशहरूलाई कज्याउने हैसियतमा पुग्नु चानचुन कुरा थिएन। आम्दानी नै मासिक दस लाख रूपैयाँभन्दा बढी पुगिसकेको थियो। श्रीमतीको उहीँ राम्रो रोजगार थियो। छोरा उहीँ जन्मेर हुर्किँदै थियो।

प्रांगारिक कृषिको अग्रणी देश डेनमार्कमा पोखरेलको विज्ञता पनि प्रांगारिक खेतीमै थियो। यता देशमा सबै खाले कृषिको बिजोग रहेको कुरा उनीसित लुक्ने कुरै थिएन।

मसितको पहिलो भेटमै उनले खुलाए — डेनमार्कमा सबै कुरा हासिल भयो, खुसीबाहेक।

त्यसैले त्यही खुसीको खोजी गर्दै उताको बनिबनाउ व्यवस्था चटक्कै छाडेर एक दिन अपर्झट उनी नेपाल फर्के। त्यो पनि छोराले बाबुको सबभन्दा बढी खोजी गर्ने बेलामा।

दशक जसो राम्रो कमाइ गरेर करोडौंको ‘ब्याकअप’ राखेर होइन कि, उता अधिकतम कमाइ सुरू हुने बेलैमा फर्केका थिए पोखरेल।

उनको साथमा नेपाल फर्किँदा जम्मा एउटा कुरा थियो — यहाँको कृषिमा योगदान दिने हुटहुटी।

आखिर के रहेछ त त्यस्तो खुसीको रसायन जसले पोखरेललाई नेपालको कृषिमा फर्कायो? के अरू नेपाली युवाहरूको त्यस्तै हुटहुटीलाई खुसीको त्यो रसायनसँग जोडेर नेपालको कृषिलाई नयाँ गति दिन पो सकिन्छ कि? कृषिबाहेक अरू क्षेत्रमा पनि बाहिर गएर विज्ञता हासिल गरेका युवाहरू नेपाल फर्किन चाहने हो भने त्यसका पूर्वसर्त के हुनुपर्छ?

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024