जोगवनीबाट छिरे रोहिंज्या, सीमा सुरक्षामा चरम लापरवाही

22 Nov, 2018

कमजोर सीमा सुरक्षाको फाइदा उठाउँदै म्यान्माबाट विस्थापित १० जना रोहिंज्या नेपाल प्रवेश गरेको पाइएको छ। उनीहरू काठमाडौं कपनस्थित शिविरको सम्पर्कमा छन्। सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बललाई अवैध ढंगले नेपाल प्रवेश गरेका उनीहरूबारे जानकारी भने छैन। रोहिंज्याहरू नेपाल–भारत सीमाक्षेत्रमा सुरक्षाकर्मीको फितलो उपस्थितिका कारण सहजै नेपाल प्रवेश गरेका हुन्। गृह मन्त्रालयले पछिल्लो समय रोहिंज्या मुस्लिम समुदायका व्यक्ति प्रवेश नगरेको दाबी गरेको छ। तर भदौ दोस्रो साता १० जना रोहिंज्या अवैध मार्ग हुँदै नेपाल प्रवेश गरेको पाइएको छ। गृह मन्त्रालयले केपी ओली नेतृत्वको सरकार गठन भएपछि रोहिंज्याहरू नेपाल नछिरेको दाबी गर्दै आएको थियो। रोहिंज्याहरू बंगलादेशबाट भारतको कोलकाता हुँदै जोगवनीबाट नेपाल छिरेका हुन्।

नेपाली भाषा बोल्न नजान्ने उनीहरू कसरी कपनसम्म आइपुगे भन्ने चर्चाको विषय बनेको छ। उनीहरूलाई मानव तस्करले काठमाडांै ल्याएको हुन सक्ने प्रहरी आशंका छ। हालसालै रोहिंज्याहरू नेपाल प्रवेश नगरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले बताए। ‘रोहिंज्याहरू छिरेको भन्ने कुनै सूचना पाएका छैनौं’, उनले भने, ‘शिवरमा रहेका पुराना हुन्। अहिले आएका छैनन्।’ रोहिंज्याहरूको अवैध प्रवेश र गृह मन्त्रालयको बेखबरले राष्ट्रिय सुरक्षामा सरकार कति गम्भीर छ भन्ने प्रस्ट पारेको छ। रोहिंज्याहरू कपनमा दुईवटा शिविरमा बस्दै आएका छन्। उनीहरूको दैनिक गतिविधिमाथि न अध्यागमनले निगरानी गरेको छ, न प्रहरी प्रशासनले नै रोहिंज्याहरू उपत्यकालगायत काभ्रे, गोरखा, नेपालगन्जलगायत स्थानमा समेत काम गर्न पुगिसकेका छन्। शिविर छाडेर बाहिर जान नपाइने भए पनि सुरक्षा निकायको कमजोरीका कारण उनीहरू कामका लागि गाउँगाउँ पुग्न थालेका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024