जेठ २ गते भारतबाट आएका थिए बाँकेका ६ नयाँ संक्रमित

20 May, 2020

नारायण खड्का

बाँके जिल्लाको नरैनापुर ५ का १७, २०, २८, ३९ र ४० वर्षीय पुरुष जेठ २ गते महाराष्ट्रबाट फर्किएकाहरु रहेको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक नागेन्द्र कुमार शाहले जानकारी दिए।

उनीहरुलाई वडा नं. ५ स्थित नमुना प्रावि मोतिपुरको विद्यायमा निर्मित क्वारेन्टिनमा राखिएको थियो।

त्यसैगरी खजुरा ५ का २७ वर्षीय युवक भने जेठ २ गते मात्रै भारतबाट नेपाल आएका व्यक्ति हुन्। वसन्तपुर क्वारेन्टिनमा सँगै आएका तीन जनाको स्बाव तीन दिन अगाडि संकलन गरिएकोमा उनीहरुलाई संक्रमण पुष्टि भएको छ। वसन्तपुर क्वारेन्टिनमा ३६ जनालाई राखिएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले पनि नयाँ संक्रमित फेला परेका सबै एकै एकैदिन आएको बताए।

वैशाख ३० गते यता मात्रै एकै साथ ४/५ सय जति मानिसहरु भारतबाट नेपाल फर्केको र उनीहरुलाई सोझै गाउँपालिकाका विभिन्न क्वारेन्टिनमा लगेर राखिएको उनले बताए। मंगलबार संकलन गरिएका ९६ नमुनामध्ये बुधबार नरैनापुर ५ का ५ जना थपिएका हुन्। मंगलबार मात्रै नरैनापुर गाउँपालिकाका १ सय ५८ जनाको नमुना संकलन गरिएको थियो।

६ वटा वडाहरु रहेको नरैनापुरमा बुधबारसम्म ७२ जनामा संक्रमण भेटिएको छ।

गाउँपालिकाका स्वास्थ्य उपसंयोजक नागेन्द्र साहका अनुसार वैशाख २४ गतेदेखि ३१ गतेसम्म भारतको महाराष्ट्र लगायत विभिन्न शहरबाट मजदुरीमा गएका ८१४ जना घर फर्किएका छन्। उनीहरु सबैलाई घर जान नदिएर सोझै क्वारेन्टिनमा लगेर राखिएको उनले बताए। 

नरैनापुर गाउँपालिका वडा नं. ५ निवासी २५ वर्षीय युवाको गत सोमबार कोरोना भाइरसका कारण मृत्यु भएको थियो।

नयाँ फेला परेका संक्रमित सबैलाई बुधबार नै नेपालगन्ज ल्याई सकिएको छ। मंगलबार फेला परेका ५९ जना संक्रमितलाई कोहलपुरको पिपिरी र नेपालगन्जको लाइन्स डेन्टल अस्पतालमा राखिएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024