जिलो छैन अमेरिकामा नेपाली विद्यार्थीलाई

27 Jun, 2024

अमेरिकन ड्रिम पछ्याउँदै करिब दुई वर्ष पहिले विद्यार्थी भिसामा अमेरिका छिरेका चितवनका सुजन (नाम परिवर्तित) अहिले मानसिक तनावमा छन्। उनी सन् २०२२ को मध्यतिर अमेरिकाको कम जनसंख्या भएको एउटा राज्यको युनिभर्सिटीमा पढ्न आएका थिए। उनले नेपाल बस्दा एक छाक पनि खाना पकाएका रहेनछन्। अमेरिका छिरेपछि खाना पकाउने मात्रै होइन बस्ने कोठा खोज्ने, रासन किन्ने र पैसाको जोहो पनि आफैं गर्नुपर्ने अवस्थामा पुगे, त्यो पनि बिरानो ठाउँमा।

उनको साथी कोही थिएन, नेपालीको त्यति उपस्थिति नभएको कलेजमा स्नातक तह पढ्नेको लागि कलेज भित्र काम पनि थिएन। भिसा इन्टरभ्युमा आफ्ना बाआमाको व्यापार व्यवसाय भएको र आफू चार वर्ष अमेरिकामा बसेर पढ्ने पैसा बाआमाले सजिलै पठाउन सक्ने भनेर अमेरिका छिरेका उनको परिस्थिति त्यस्तो थिएन। बिहान बेलुका हातमुख जोड्न र कलेजको फि तिर्न उनले काम गर्नै पर्ने थियो।

कलेजमा काम थिएन, र बाहिर गएर काम गरौं भने पनि नजिक काम गर्ने ठाउँ थिएन। उनलाई नितान्त चार वर्ष पढ्नको लागि भिसा दिइएको थियो, नेपालमा अन्तर्वार्ता दिंदा उनले त्यही चाहन्थे। अमेरिकामा बस्ने खाने चिन्ता मात्रै होइन अमेरिका आउँदाको नेपालमा लागेको ऋण पनि उनकै थाप्लोमा थियो।

बाआमासँग पनि आशा थियो छोरो अमेरिका छिर्‍यो, अब पठाउँछ। तर उनीसँग काम थिएन, खान किन्ने पैसा थिएन। सुरुका केही समय नेपालबाटै मगाए। कहिले साथीहरूसँग मागे। जेनतेन दुई वटा सेमेस्टरको पढाइ सके। तर उनले पढाइमा राम्रो गर्न सकेनन्। उनको जीपीए जम्मा १.५ आयो। उनको सपना टेक्सस सरेर काम गर्दै पढ्ने थियो।

दुई सेमेस्टर पढेपछि टेक्सस बस्ने साथीहरूको सहयोगमा टेक्सस त सरे तर उनको कम जीपीएको कारण यहाँ कुनै पनि कलेजले भर्ना दिएन। उनी अहिले मानसिक रूपमा विक्षिप्त छन्। उनी बरु नेपाल फर्किन चाहन्छन् तर बाआमाको इच्छा पढाइ छोडे पनि अमेरिकै बसेर कमाओस्, ऋण तिरोस् भन्ने छ। जुन उनको लागि सम्भव देखिंदैन।

सुजन एक प्रतिनिधि पात्र हुन्। अहिले अमेरिकामा स्नातक (अन्डरग्राजुएट) गर्न आउने धेरैजसोको साझा समस्या हो, यो।

अहिले उच्च शिक्षाको लागि नेपालबाट अमेरिका आउने विद्यार्थीको दर बढ्दो छ। अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदान सम्बन्धी ओपन डोर्स प्रतिवेदनमा उल्लेख छ- ‘लगातार तीन वर्षदेखि अमेरिका अध्ययनार्थ जाने नेपाली विद्यार्थी बढेका छन् । अमेरिका विद्यार्थी पठाउने २५औं देशमा रहेको नेपाल अहिले १०औं स्थानमा उक्लिएको छ।’

अहिले अमेरिकाका अन्य स्टेटहरूबाट क्यालिफोर्निया, न्युयोर्क र टेक्सस सर्ने विद्यार्थीको संख्या धेरै छ। र अझ टेक्सस सर्ने विद्यार्थीहरूको क्रम बढ्दो छ। अवसरको आसमा सर्नुपूर्व उनीहरूले टेक्ससमा कस्तो माहोल छ भन्ने बारे सामान्य रिसर्च पनि गरेका हुँदैनन्। कलेज सरिसकेपछि पछुताउँछन्।

अहिले टेक्ससमा विद्यार्थीको यति धेरै चाप बढिसक्यो, जसले गर्दा काम पाउन एकदम गाह्रो छ। क्यालिफोर्निया र न्युयोर्कको पनि अवस्था त्यही छ। हाम्रो सम्पर्कमा धेरै विद्यार्थी आउने गर्छन्। कतिले त अमेरिका आएको एक वर्ष हुँदासम्म पनि काम पाउन नसकेको बताएका छन्।

म आफैंलाई पनि व्यक्तिगत रूपका धेरै विद्यार्थीले टेक्ससमा कामको अभावले गर्दा सम्पर्क गर्ने गर्दछन्। पढ्नकै लागि अमेरिका आएका विद्यार्थीहरू, काम नपाएर उनीहरूको दैनिक जीवन नै असहज भएको। घरमा छोरो अमेरिका छ भन्ने गर्व गर्दछन् र यहाँ आफ्नो दैनिकी नै अभावमा बितिरहेको हुन्छ।

काम पाउनेहरूको पीडा पनि कम छैन। अमेरिका पढ्न अरू देशबाट पनि आउँछन्, तर उनीहरू आफ्नो पढाइलाई प्राथमिकतामा राख्छन्। पढिसकेपछि आफ्नो देश फर्किन्छन् अथवा काम खोज्छन्। तर नेपालीहरू एअरपोर्टबाटै काम खोज्न थाल्छन्।

किन यस्तो हुन्छ?

आफ्नो भविष्य उज्ज्वल बनाउँछु भन्ने अठोटका साथ अमेरिका जस्तो ठाउँमा आइसकेपछि केही न केही जोहो गरेर आफ्नो खर्च टार्ने धेरै छन्। घरपरिवारले पनि आश राखेका हुन्छन्। कोही कोहीले नेपालबाट पैसा मगाएर फि तिर्ने हैसियत राखे पनि सबैको त्यो ल्याकत हुँदैन।

भिसा इन्टरभ्युमा घरपरिवार धनी छन्, मेरो पढाइको खर्च आरामले उठाउन सक्छन्, बैंकमा चाहे जति पैसा छ केही अप्ठ्यारो छैन भनेर देखाए पनि, अमेरिका आइसकेपछि नेपाली विद्यार्थीको प्राथमिकता पढाइ भन्दा पनि पैसा कमाउने नै हुन्छ। सरल भाषामा भन्ने हो भने, इन्टरभ्युमा जे गफ लगाए पनि, हामी अमेरिका पैसा कमाउनकै लागि आउँछौं।

कोभिड पछि बजार सुस्ताएकाले व्यापार कम छ। अमेरिकी सरकारले रोजगारीमा कटौती गरेको छ। यस्तो अवस्थामा अमेरिकन सिटीजन ग्रिनकार्ड भएकालाई पनि काम पाउन मुश्किल छ। अनि यो स्थितिमा विद्यार्थीले काम सहजै पाउने, त्यो पनि लुकेर क्यासमा भन्नेर कल्पना गर्नु व्यर्थ हो।

एनआरएन जस्ता संस्थाले के गर्न सक्छन् ?

अमेरिकामा अलपत्र विद्यार्थीलाई काम लगाउन भित्र–भित्र एनआरएनए जस्ता संस्थामा पदासीन कतिपय सदस्यले लामो समयदेखि सहयोग गर्दै आएका छन्। यो कानुनी रूपमा गलत भएतापनि एक जना नेपालीलाई गाह्रो पर्दा अर्को नेपालीले सहयोग नगरेर रहन सकिंदैन। झन् बिरानो ठाउँमा आफ्नै देशको भनेपछि माया नै छुट्टै हुन्छ।

अपरिचित ठाउँमा कहिले कतै गाह्रो अप्ठ्यारो पर्दा छुट्टै कुरा हो तर विद्यार्थीका संघसंस्थासँग धेरै अपेक्षा राख्दछन्। उनीहरू पूर्ण रूपमा निर्भर भएका छन्। सामान्यदेखि सामान्य कामसम्म एनआरएनको आश गर्दछन्। काम खोजिदिने एनआरएन, कोठा खोजिदिने एनआरएन, एअरपोर्टबाट पिकअप गर्ने एनआरएन। हरेक साना काममा एनआरएनसँग अपेक्षा छ, र यो संस्थाले सहयोग पनि गर्दै आएको छ।

तर एनआरएनको पहल अलि सिस्टम लेभलमा हुनुपर्ने हो। एनआरएन जस्तो संस्थाहरू संगठित भएर विद्यार्थीलाई हप्तामा कम्तीमा २० घण्टा कानुनी रूपमा ट्याक्स तिरेरै काम गर्ने वातावरण बनाउन अमेरिकी सरकार अथवा राज्य सरकारसँग पहल गर्न सक्नुपर्छ।

व्यक्तिगत सहयोग भन्दा पनि नीतिगत परिवर्तनको खाँचो छ। एक एक व्यक्तिका समस्या समाधान गर्न सकिने सम्भव पनि हुँदैन। तर यस विषयमा संस्था र विद्यार्थीहरू दुवैले सोचेका छैनन्। यदि यस्तो नीति ल्याउन सकियो भने विद्यार्थी साथै संस्थालाई पनि धेरै हदसम्म सहज हुनेथियो।

अभिभावकलाई सुझाव

तपाईंको १८ वर्ष नपुगेका छोराछोरी विदेश पठाउनुपूर्व दश पटक सोच्नुहोस्। अहिले +२ दिएसँगै विदेश जाने होडबाजी चलेको छ। हर कसैको विदेश जाने योजना, नेपालमा बसेर समय बर्बाद हुन्छ भन्ने मनसायको प्रभावमा आएर उनीहरूले अपरिपक्व निर्णय लिन्छन्। हल्लाको पछि लाग्छन्। आफ्नो वरिपरिको सम्भावना देख्दैनन्, हेर्न नै चाहँदैनन्।

उनीहरू अपरिपक्व भए पनि हामीले परिपक्व निर्णय लिन सक्नुपर्छ। अरूले भनेकै भरमा पैसा कमाउँछ, भविष्य उज्ज्वल हुन्छ भन्दै घरमा यत्रो उमेरसम्म केही काम नअह्राएर, भन्ने बित्तिकै हरेक चिज मुखनिर टक्र्याएका तपाईंका बाबुनानीलाई एकैपटक गाह्रो अप्ठ्यारो विचार नगरी कसरी विदेशमा होम्नुभयो। बच्चाले जिद्दी गर्‍यो, लौ पठाइदिउँ न भन्दा पनि यसको परिणामहरूको ख्याल गर्नु आवश्यक छ।

केही महिना पहिले एकजना भाइ बाटोमा होमलेस भेटिए। तीन वर्ष पहिले स्नातक पढ्न विद्यार्थी भिसामा अमेरिका आएका ती भाइको मानसिक अवस्था ठिक थिएन। नेपाली सोसाइटी अफ टेक्सस (एनएस्टी) का सचिव विजय भुषाल र म भएर भाइसँग लामो भलाकुसारी गर्‍यौं। कलेज छोडेका कारण विद्यार्थीको स्टाटस पनि नभएका उनको बस्ने–खाने टुङ्गो थिएन।

मैले उनलाई सोधेँ, भाइ यतै बस्ने कि नेपाल जाने? उनले रुँदै भने, “दाइ म यहाँ केको लागि बस्नुपरेको छ र? म नेपाल जाँदा हुन्न? मेरा हजुरबाले कुटो–कोदाले गरेर खाँदा पनि खुशी थिए मेरा बा पनि आफ्नो जेनतेन गरेर रमाएका छन्, म अमेरिकै बस्नुपर्ने केही छ र?” भाइको यति कुरा सुनेपछि हामीले अलिअलि पैसा डोनेसन उठाएर र आफ्नो खल्तीबाट पनि मिसाएर भोलिपल्टको टिकट काटेर नेपाल पठायौं।

नेपालमा अहिले उनी परिवारसँग खुशीका साथ बसेका छन् । उनका बाआमाले पनि उनलाई नेपाल नपठाउन आग्रह गरेका थिए, तर भाइको नाजुक अवस्थाका कारण हामीले नेपाल पठायौं, पछि छोराको अवस्था देख्दा बाआमा पनि खुशी भए।

छोराछोरीलाई विदेश पठाउनु मात्र बाआमाको कर्तव्य नठान्नुस् । विदेश पठाउने नै भए अलि व्यावहारिक बनाएर पठाउनुस्। नेपालमा कम्तीमा स्नातक गरेर अमेरिका आएकाले दु:ख पाएका छैनन्। सबैभन्दा गाह्रो स्नातक गर्नेहरूलाई छ। अर्को कुरा अमेरिका पुगेका छोराछोरीसँग कम्तीमा ग्राजुएट नहुने बेलासम्म पैसा नमाग्नोस्। सक्नुहुन्छ भने आफूले पैसा पठाउनोस् ।

पैसा छैन भने ढाँट-छल गरेर झुटा कागज बनाएर विदेश नपठाउनुहोस्, नेपालमा पनि धेरै अवसरहरू छन्। स्मार्ट विद्यार्थीले आफ्नो भविष्य जहाँ पनि उज्ज्वल बनाउन सक्दछ। अहिले नेपालमा जस्तो अवसर अन्यत्र छैन।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024