खत्री परिवारका जेठा छोरा दुर्घटनामा बेपत्ता भएपछि ऋणको भारी बिसाउने आशामा माहिला छोराले अमेरिका जाने तयारी गर्दै आएका हुन्। उनी पनि अमेरिका नपुग्दै आधा बाटोबाट दुबई पुगेर दोहोर्याईतेहर्याई फर्किनुपरेको परिवारले जानकारी दिएको छ। खत्री परिवारलाई प्रदीप दुर्घटनामा बेपत्ता भएसँगै करोडौंको आसपासमा ऋण भएको र सो ऋण तिर्न दाइको सट्टामा भाइलाई अमेरिका पठाए पनि पुग्नेनपुग्ने कुनै ठेगान नभएको परिवारले बताएको छ।
नेपालीहरू वर्षौं लगाएर लाखौं रकम खर्चेर पानीजहाज, डुंगा, ट्रक, मालवाहक सवारी, पैदल, तेलको ट्यांकरजस्ता साधनबाट विभिन्न मुलुक हँुदै अमेरिका जाने गरेका छन्। अवैध रूपमा अमेरिका पुग्नु भयावह छ। यात्राका क्रममा कतिपय नेपाली गन्तव्यमा नपुग्दै मृत्यु हुने गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्ण पंगेनीले जानकारी दिए। यसरी अमेरिकासम्म गरिने मानव तस्करी अझै बढ्दो छ। अमेरिका पुग्ने सपना बोकेर विभिन्न मुलुक हुँदै गैरकानुनी बाटोबाट तस्करीमा लगिएका धेरै नेपाली युवा विभिन्न देशका कारागारमा रहेको, बाटैमा कतिपयको मृत्यु हुने गरेको सूचना आइरहेको उनले बताए।
रुकुम पश्चिमका ३८ वर्षीय रमेश गौतमको कथा पनि कम दर्दनाक छैन। उनलाई करिब दुई वर्षपहिले अमेरिका सपनाले डोर्याएको थियो। गौतम नेपाली सेनाबाट स्वैच्छिक अवकाश लिई रुकुम पश्चिमको सदरमुकाम खलंगास्थित यामाहा सोरुममा सेल्सम्यानका रूपमा कार्यरत थिए। स्थानीय दलालमार्फत अमेरिका सपनाले गौतमलाई तानेको थियो। उनी घरमा आमाबुबा, पत्नी र दुई बालबच्चालाई छाडेर ४० लाख दलालको हातमा सुम्पिएर दुबई, पानामा हुँदै अमेरिका छिर्ने क्रममा थिए।
तर अमेरिका नपुग्दै गौतमकी पत्नी लीलाको मोबाइलमा एउटा ‘अडियो म्यासेज’ आयो, जुन अडियो हजारौं मान्छेको मोबाइल हँुदै उनको मोबाइलमा आइपुगेको थियो। ‘दुबई हँुदै पानामासम्म पुग्ने क्रममा डुंगा दुर्घटना भई बेपत्ता भएको तीनजनामा आफ्ना श्रीमान्को नाम पनि जोडेर आएको अडियो सुन्नुपर्यो,’ लीलाले भनिन्। दुर्घटनामा परी बेपत्ता भएको खबर आएयता अन्य कुनै पनि जानकारी नआएको उनले सुनाइन्। गत वर्षको वैशाखतिर ४० लाख जुटाएर दलालमार्फत घरपरिवारसँग बिदा माग्दै अमेरिकाका लागि गौतम गएको लीलाको भनाइ छ। ‘आर्मीको जागिरपछि यामाहा सोरुममा काम गर्दै हुनुहुन्थ्यो। साथीहरूको लहैलहैमा अमेरिका जाने ढिपी बढ्दै गयो,’ उनले भनिन्, ‘सायद परिवारको खुसीका लागि नै होला, श्रीमान् विदेशतर्फ लाग्नुभयो।’
अमेरिकाका लागि प्रस्थान भएका गौतमको बेलाबखतमा भने परिवारसँग सम्पर्क हुँदै थियो। गत वर्ष असोजमा अमेरिकाका लागि यात्रामा हिँडेका पतिसँग १५÷२० दिन उनको कुरा भएन। पछि त्यही वर्षको कात्तिकमा ‘अमेरिका जाँदै गरेको रमेश गौतमलगायत अन्य नेपाली पनि डुंगा दुर्घटनामा परी बेपत्ता भएको’ खबर आयो। ‘कसरी विश्वास गरौं। पानीमा बेपत्ता भएका पतिको न सास छ न त शव नै आएको छ। अहिलेसम्म उहाँको काजकिरिया पनि गरेका छैनौं। उहाँ बित्नुभयो भन्ने कुरामा विश्वास नै लागेको छैन,’ लीलाले भनिन्, ‘एकातिर अथाह ऋण अर्कातिर ससाना छोराछोरी। उज्यालो दिन पुरै रात भएको छ।’ दुर्घटनाको खबर पाएको सात महिना भए पनि पति भने अझै जीवितै आउने आस उनलाई लागेको छ।
नेपालबाट अवैधानिक रूपमा विभिन्न मुलुक हुँदै अमेरिका पुर्याइने गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोले बताएको छ। पैदलमार्ग मेक्सिकोको बाटो हुँदै विभिन्न दलालमार्फत नेपालीहरू अमेरिका प्रवेश गर्ने गरेका छन्।
यसरी अवैधानिक रूपमा अमेरिका प्रवेश गर्ने नेपालीको संख्या वार्षिक २ हजारभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ। नेपालको नक्कली राहदानी प्रयोग गरेर अन्य मुलुकका मानिस पनि अवैधानिक रूपमा अमेरिका प्रवेश गर्ने गरेको श्रम मन्त्रालयका एक अधिकारीले बताए। यस्तो पासपोर्टमा नाम स्थानीय व्यक्तिकै हुन्छ भने फिंगरप्रिन्ट तथा फोटोचाहिँ अवैध आप्रवासीको राखिएको हुन्छ। जस्तो ब्राजिल पुगेको नेपालीले मेक्सिको जान पासपोर्ट बनाएको छ भने ब्राजिलको स्थानीय व्यक्तिको नाम र राष्ट्रियता हुन्छ भने फिंगरप्रिन्ट र फोटोचाहिँ यात्रा गर्ने नेपालीकै हुने ब्युरोको भनाइ छ।
मानव तस्कर र तीनका दलालहरूले नेपालीलाई काठमाडौंबाट दिल्ली, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, दुबई, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुर्याउने गरेका छन्। ३० देखि ६० लाखमा नै अमेरिका पुर्याउने सपना बाँड्ने र अलपत्र पार्दै घरबाट रकम लिने उनीहरूको नियत रहेको ब्युरोका एसपी पंगेनी बताउँछन्।
त्यसरी अमेरिका जाने बाटोमा भेटिएका शव एक महिनाभित्र कसैले नबुझे सम्बन्धित देशको कानुनअनुसार बेबारिसे लासका रूपमा व्यवस्थापन गर्ने गरिन्छ। ‘तीमध्ये कति नेपाली होलान् भन्ने पत्ता लगाउन गाह्रो छ। कुनै एउटा देशको टुरिस्ट भिसा लगाएर हिँडेका नेपालीले विभिन्न बाटो हुँदै बोलिभिया पुगेपछि पासपोर्टलगायत आवश्यक कागजात च्यातेर फाल्नुपर्ने रहेछ,’ ब्युरोका एसपी पंगेनीले भने। उनका अनुसार कुनै पहिचान नखुल्ने हिसाबले विभिन्न मुलुक छिर्ने भएकाले यकिन तथ्यांक पाउन गाह्रो छ। यात्रा अवधिभर प्रायः घर परिवारसँग टेलिफोन सम्पर्क नहुने भएकाले आफ्नो परिवारको सदस्य कहाँ पुगिरहेको छ, मर्यो कि बाँच्यो भन्नेसम्म थाहा नहुने अवस्था रहेको उनले बताए।
२०७८ असार ५ गते डुंगा दुर्घटना हुँदा एकजना अपरिचित व्यक्तिसहित सात नेपालीको मृत्यु भएको ब्युरोले जनाएको छ। मृत्यु हुनेमा दाङका एन्जल बुढामगर र रेशम दिङ मगर, बाँकेका हेमराज अधिकारी, पर्वतका दिनेश गौतम र राजु गुरुङ, स्याङ्जाका देवकोटा थर भएका एक व्यक्ति रहेका थिए। उक्त डुंगा दुर्घटनामा म्याग्दीका प्रकाश विकेलाई भने सकुशल उद्धार गरिएको थियो। उक्त घटनामा संलग्न तोपबहादुर नाम गरेका व्यक्तिलाई इन्टरपोलले रेड कर्नर जारी गरेपछि गत वर्षको भदौ २३ गते पक्राउ परेको ब्युरोले जानकारी दिएको छ।
अवैध रूपमा अमेरिका जाँदै गरेका रुकुम पश्चिमका २० वर्षीय मदन शाही पानामाको जंगलमा खोलाको किनारमा मृत अवस्थामा फेला परेको ब्युरोले जनाएको छ। संयुक्त राज्य अमेरिकाबाट हालसम्म नेपालीलाई ‘डिपोर्ट’ गरिएको संख्या १७७ रहेको ब्युरोका एसपी पंगेनीले बताए। यी नेपालीहरू मानव तस्करको सहायताबाट गैरकानुनी रूपमा अमेरिका छिरेका हुन्। ब्युरोका अनुसार १७÷१८ देश हुँदै जाने क्रममा कतिपय नेपाली विभिन्न मुलुकको जेल पर्ने गरेका छन्।