जापान पठाउने भन्दै पैसा असुलेर फरार

6 Jan, 2023

विराटनगर, पुस २२ गते । वैदेशिक रोजगारीमा जापान पठाइदिने भन्दै मोरङको रङ्गेली तथा सुनवर्षी नगरपालिकाका युवाबाट रकम असुलेर सम्बन्धित व्यक्ति फरार भएका छन्। रङ्गेली तथा सुनवर्षी नगरपालिकाका ४६ जना युवाबाट दुई करोड ७९ लाख ३० हजार रुपियाँभन्दा बढी रकम असुलेर सुनवर्षी नगरपालिका–६ का अजय राजवंशीसहितको समूह फरार भएको हो।

मोरङको रङ्गेली नगरपालिका–९ का हरि राजवंशीका अनुसार ठगीमा पर्नेमध्ये ४६ जनाले बुधबार जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएका छन्। त्यसका आधारमा जिल्ला प्रहरी कार्यालयलाई सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याउन निर्देशन भइसकेको छ। मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले सम्बन्धित व्यक्ति उपरको अनुसन्धान सुरु भएको जानकारी दिनुभयो। उहाँले उजुरीमा उल्लेखित व्यक्तिहरू फरार रहेकोले खोजतलास सुरु गरिएको बताउनुभयो।

बिहीबार अन्य पीडित रकम फिर्ता माग्दै अजय राजवंशीको घरमा पुगेका थिए। तर त्यहाँ परिवारका अन्य सदस्यसमेत नभेटिएको पीडित हरि राजवंशीले जानकारी दिनुभयो। पीडित राजवंशीका अनुसार अजय राजवंशीले आफ्नोसहित भाइ रञ्जित, बुहारी अनुराधा र बहिनी विद्याकुमारीको नाममा रहेको बैङ्क खातामा रकम जम्मा गराएका थिए। त्यसबाहेक चितवन घर भएका राजेन्द्र अधिकारीको नामको खातामा समेत रकम जम्मा गरिएको पीडितको भनाइ छ।

जापान पठाउने भन्दै रकम जम्मा गराएपछि अजयसहित सम्पूर्ण परिवार बेखबर बनेको पीडितको गुनासो छ। पीडितको सङ्ख्या बढ्दै गएकोले एक सय जनाबाट रकम असुलेको हुनसक्ने अनुमान गरिएको छ। मलाई सात लाख जम्मा गर्न लगाइएको थियो, पीडित हरि राजवंशीले भन्नुभयो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024