छोराछोरी विदेश पठाउने २१.७ प्रतिशत ज्येष्ठ नागरिकमा सामाजिक एक्लोपना

3 Oct, 2024

काठमाडौँ — छोराछोरी विदेश पठाउने २१.७ प्रतिशत ज्येष्ठ नागरिकहरूमा सामाजिक एक्लोपनाले सताएको काठमाडौं महानगरपालिकाले गरेको एक अध्ययनले देखाएको छ ।

महानगर अनुसन्धान शोधवृत्ति (मेट्रोपोलिटन रिसर्च फेलोसिप–एमआरएफ) को तेस्रो संस्करणको ‘ज्येष्ठ नागरिकहरुको मानसिक स्वास्थ्यका लागि महानगरपालिकाको जिम्मेवारी’ विषयक अध्ययनले उक्त निष्कर्ष देखाएको हो ।

अध्ययनले विदेशमा छोराछोरी भएका ज्येष्ठ नागरिकहरूमा गम्भीर र भावनात्मक एक्लोपना भएको देखाएको छ । महानगरले गरेको उक्त अध्ययनमा सबै वडा समेटिने गरी ५०९ जना ज्येष्ठ नागरिक सहभागी थिए । सहभागीमध्ये ६२.३ प्रतिशतमा मध्यम खालको एक्लोपना देखिएको अध्ययनमा छ ।

‘४८ प्रतिशतमा सामाजिक एक्लोपना, २८.३ प्रतिशतमा मध्यम र २३.७ प्रतिशतमा शून्य देखियो,’ अध्ययनको प्रतिवेदनमा भनिएको छ, ‘हेरचाह, जीवन व्यवस्थापन, सुविधाको पहुँच, सामाजिकीकरण, शारीरिक गतिविधि, सही सूचनामा पहुँच जस्ता पक्षमा ज्येष्ठ नागरिकले हिनता बोध गरेका हुन् । यसैले ज्येष्ठ नागरिकमा एक्लोपना र निराशा देखिएको हो ।’

यो अवस्थालाई विश्लेषण गर्दै अध्ययनले महानगरपालिकालाई ज्येष्ठ नागरिकको पुनः परिभाषा गरेर पहिचान प्रदान गर्न सुझाव दिएको छ । साथै ज्येष्ठ नागरिकलाई अधिक प्राथमिकता दिने, छुट तथा सुविधा प्रदान गरेर सम्मान गर्नुपर्ने र कानुनमा प्रतिबद्धता गरिएका व्यवस्था कार्यान्वयन गर्न अध्ययनले सुझाएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024