चैतमा आधा घट्यो रेमिट्यान्स

18 May, 2020

विनय बञ्जारा 

काठमाडौं : विदेशबाट प्राप्त हुने रेमिट्यान्स चैतमा भारी मात्रामा घटेकोे छ। चालु वर्षका अघिल्ला ८ महिनामा मासिक औसत ७४ अर्ब रेमिट्यान्स भित्रिने गरेको नेपालमा चैतमा ३४ अर्ब ४८ करोड मात्रै भित्रिएको छ। यो करिब ५५ प्रतिशतको गिरावट हो। फागुनको तुलनामा यो अझै उच्च दरको गिरावट हो। फागुनमा ७९ अर्ब २० करोड रेमिट्यान्स भित्रिएको थियो।

विश्वभर कोरोना भाइरस महामारीको असर बढ्न थालेपछि चैतदेखि रेमिट्यान्स आयमा भारी गिरावट आउने अनुमान गरिएको थियो। रेमिट्यान्ससँगै अन्तर्राष्ट्रिय व्यापार खुम्चिएको पनि राष्ट्र बैंकले बताएको छ। त्यस्तै, सरकारी राजस्व र खर्च पनि कोराना भाइरसका कारण प्रभावित भएको र यसले लगातार ७ प्रतिशतको आर्थिक वृद्धिमा रहेको मुलुकलाई तेस्रो त्रैमाससम्म २ प्रतिशतको विस्तारमा धकेलेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

नयाँ तथ्यांकले मूल्यवृद्धि भने बढेको देखाएको छ। मूल्यवृद्धिको औसत दर (मुद्रास्फीति) चैतसम्म ६.७४ प्रतिशत बढेको छ। गत वर्षको यही समयमा यस्तो वृद्धिदर ४.४४ प्रतिशत थियो। चैतमा पनि तरकारी, फलफूल, दाल, गेडागुडीको भाउ उच्च दरमा बढेको छ।

चैतसम्म नेपालले ७८ अर्ब ८२ करोडको सामान बेचेर ९ खर्ब ८२ अर्ब ५३ करोड रुपैयाँको सामान विदेशी बजारबाट किनेको छ। मानिसलाई विदेशमा पैसा लान नियन्त्रण गर्ने नीतिगत सुधारपछि पनि चैतसम्म विदेशीले नेपालमा सेवा लिएर खर्चनेभन्दा नेपालीले विदेशमा खर्चने पैसा नै बढी भएको छ। तथापि, चैतसम्म पैसा बाहिरिनेभन्दा भित्रिने रफ्तार नै बढी देखिएको छ।

चैत मसान्तमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोड बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। तर, विदेशी मुद्राको ढुकुटी भने पहिलेभन्दा पनि बलियो भएको देखिएको छ। कोरोना महामारी सुरु भएपछि औद्योगिक कच्चापदार्थदेखि ठूला विकास परियोजनाले मगाउने सामग्रीसम्मको आयात घटेको छ। पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी गिरावटले पनि मुलुकको आयात गत वर्षभन्दा साढे ७ प्रतिशत घटेको देखिएको छ। यसको असर विदेशी मुद्राको ढुकुटीमा परेको छ।

गत चैतसम्म नेपालसँग ११ खर्ब ५५ अर्ब ९० करोड बराबरको विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकले बताएको छ। यो पैसाले अहिलेको अवस्थामा साढे ९ महिनाको आयात थेग्नसक्ने देखिएको छ। तर, अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर र सुनको भाउ महँगिएकाले पनि यो रकम उच्च देखिएको हो। नेपालले पनि डलर र सुनमा लगानी गरेका कारण त्यस्तो लगानीको नेपाली रुपान्तरण अहिले महँगो पर्न गएको छ। आगामी दिनमा डलर सस्तियो र तेलको भाउ बढ्यो भने मुलुकले यो स्तरको आयात सामथ्र्य कायम राख्न सक्दैन।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024