चीनको क्वाङ्सीमा नेपाली युवा मृत भेटिए

21 Oct, 2024

लक्ष्मी लम्साल

बेइजिङ — चिकित्साशास्त्र अध्ययनका लागि चीनमा रहेका नेपालगन्जका ३५ वर्षीय युवा चीनको क्वाङ्सी स्वायत्त प्रदेशमा मृत फेला परेका छन् । बेइजिङस्थित नेपाली दूतावासका अनुसार सन् २०१९ तिर एमडी अध्ययनका लागि आएका बाँके नेपालगञ्जका संजीव सिंह क्वाङ्सी मेडिकल युनिभर्सिटीस्थित छात्रावासमा अक्टुबर १७ मा मृत भेटिएका हुन् ।

लगातार ३/४ दिनसम्म कक्षामा अनुपस्थित भएपछि उनका नेपाली तथा विदेशी सहपाठीहरूको अनुरोधमा प्रहरी, छात्रावास सुपरीवेक्षक, प्राध्यापकलगायतले सोधखोज गर्ने क्रममा ढोका फोडेर कोठाभित्र हेर्दा सिंह पासो लगाएको अवस्थामा फेला पारेका थिए ।

मृत्युको कारण आत्महत्या हो वा अन्य केही भन्ने विषयमा प्रहरीले पोस्टमार्टमको अन्तिम रिपोर्ट उपलब्ध गराएपछि मात्रै भन्न सकिने दूतावास अधिकारीले बताए। मृतक सिंह लामो समयदेखि अध्ययनमा अल्झिरहेकाले मानसिक दबाबमा रहेको र पारिवारिक स्वास्थ्य समस्याबाट गुज्रिरहेकाले निराश भएर यस्तो निर्णयमा पुगेको हुन सक्ने अनुमान गरिएको छ ।

चीनकै छोङछिङमा एमबीबीएस गरेका सिंह क्वाङ्सीमा आएर एमडी अध्ययन गरिरहेका थिए । चीनबाट शव स्वदेश लैजान महँगो पर्ने भएकाले नेपालबाट आफन्तजन चीन आएपछि के गर्ने भन्नेबारेमा निर्णय हुने बताइएको छ।

‘मृतककी दिदी स्मृतिका अनुसार बुबा वा घरका सदस्यको पासपोर्ट बनाउने प्रक्रिया चलिरहेकाले परिवारजन चीन आएपछि थप निर्णय हुनेछ,’ क्वाङ्चौस्थित महावाणिज्य दूतावासका भाइस-कन्सुलर सागर मरासिनीले कान्तिपुरलाई बताए ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024