नेपाल बस्दै आएका विदेशी शरणार्थीहरूले काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोगको कार्यालय अगाडि अनिश्चितकालीन धर्ना शुरु गरेका छन्। १८ मंसिर राति यूएनएचसीआरको काठमाडौंस्थित कार्यालय अगाडि धर्नामा बसेका ९ पाकिस्तानी । १७ मंसीरदेखि शुरु धर्नालाई १८ मंसीरदेखि अनिश्चितकालीन बनाइएको पाकिस्तानी शरणार्थी मन्सुर अहमदले बताए । १८ मंसीर राति ९ पाकिस्तानी शरणार्थी धर्नामा बसेका छन् । दिउँसो धर्नाकारीको संख्या ४० भन्दा बढी थियो । महिला र बालबालिका चिसोका कारण धर्नामा बस्न नसकेको अहमदले बताए ।
यूएनएचसीआरसँग नेपालबाट तेस्रो मुलुक जान सहजीकरण र यहाँ रहुन्जेल गाँस र बासको व्यवस्था गर्न माग गर्दै उनीहरू धर्ना बसेका हुन् । यूएनएचसीआरले शरणार्थीको परिचयपत्र दिएका उनीहरूलाई नेपाल सरकारले भने अवैध आप्रवासी मान्ने गरेको छ । भारतीय बाटो हुँदै स्थल मार्गबाट लुकिछिपी र पर्यटकका रूपमा हवाई मार्गबाट नेपाल आएका उनीहरूलाई अन्तर्राष्ट्रिय मान्यताका आधारमा शरणार्थीको परिचय दिइएको यूएनएचसीआरले जनाएको छ । नेपालले भने अवैध आप्रवासीलाई भिसा म्याद नियमित गर्न दैनिक ५ अमेरिकी डलर जरिवाना लिने गरेको छ ।
हाल ७१७ को संख्यामा रहेका त्यस्ता अवैध आप्रवासीमध्ये कतिपयले १० हजार अमेरिकी डलरसम्म जरिवाना तिरेर मात्र नेपालबाट अन्यत्र जान सक्छन् । अवैध आप्रवासीको एउटा मुख्य माग उनीहरूलाई त्यस्तो जरिवाना मुक्त गर्नु पनि छ ।