राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सकहरु स्वदेशभित्र अडिन नसक्नु चिन्ताको विषय भएको बताएका छन् । नेपाल चिकित्सक संघमा स्थापनाकालदेखि हालसम्मका ३२ अध्यक्षको विषयमा लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’ विमोचन कार्यक्रममा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
दक्ष र विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु र नेपालमै स्तरीय स्वास्थ्य सेवा उपचारको थालनी हुनु सुखद पक्ष रहेको उनको भनाइ थियो । उनले स्वदेशभित्रै स्तरीय उपचार सेवाको अनुभव आफूले पाएको मात्रै बताएनन्, नेपालमा पर्याप्त जनशक्ति उत्पादन भए पनि त्यसअनुसार अवसर सिर्जना नभएकामा चिन्ता व्यक्त गरे । भने, ‘जनशक्तिले पर्याप्त अवसर नपाएको गुनासो आइरहेको छ। त्यसको परिणाम चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो । यस्तो अवस्था रोक्न सम्बद्ध पक्षले अधिकतम कदम चाल्नुपर्छ ।’
संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले चिकित्सक संघसँगै नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने चिकित्सकको सम्मान र स्मरण दुवै हुने भन्दै संघले यो पुस्तक प्रकाशनको निर्णय लिएको बताए ।
चिकित्सक संघ स्थापनाको ७५ वर्ष पुगेको अवसरमा विमोचित पुस्तकमा संघका ३२ जना अध्यक्षको जीवनी, संघमा उनीहरुले गरेका योगदान र संघर्ष समेटिएको छ ।पुस्तकका सम्पादक प्रवीण ढकाल हुन् । उनले यो पुस्तकले संघको इतिहाससँगै नेपालको चिकित्सा इतिहासको संरक्षण गर्ने बताए ।
२००७ फागुन २० गते स्थापना भएको संघ नै नेपालको पहिलो पेशागत संघ हो । वीर अस्पतालमा कार्यरत २० जना चिकित्सकको बैठकले संघ स्थापना गर्ने निर्णय गरेको थियो । संघको पहिलो अध्यक्ष डा. सिद्धिमणि आचार्य दीक्षित हुन् ।