दीपक परियार
पोखरा — बन्दै गरेको घरको एउटा कोठामा कंक्रिटमाथि फलेक ओछ्याइएको छ । फलेकमाथि पुराना कम्बल छन् । प्लास्टिकको बोतलमा तेल सकिनै लागेको छ । चामलको बोरा रित्तिनै लागेको छ । न तरकारी छ, न मरमसला । पोखराको लेकसाइडमा ३ मजदुर दाल र भातको भरमा बाँचिरहेका छन् ।
कञ्चनपुर बाघफाँटाका टीकेन्द्र डगौरा, सुन्दरपुरका सञ्जय राना र सुरेन्द्र रानालाई अबको केही दिनपछि के खाने भन्ने पिरलो छ। ठूल्ठूला होटलको बीचमा अर्को होटल बनाउँदै गरेका यी मजदुर राहत नपाए भोकै हुनेछन्।
पोखरा महानगरले बाँडेको राहत पाउनेमा उनीहरू परेनन्। वडा–६ को टोल विकास समितिले नाम टिप्दा उनीहरूले पनि राहत माग फारम भरे। राहत बाँड्ने बेला पाएनन्। ‘वडामा जाँदा टोल विकास संस्थाले दिन्छ भनियो,’ २२ वर्षीय टीकेन्द्रले भने, ‘टोलमा अरूले पाए, हामीले पाएनौं।’
पोखरामा टीकेन्द्रले नै लिएर आएका हुन् सञ्जय र सुरेन्द्रलाई। उनी आफैं भने भिनाजु सन्तराम थारूसँग ६ महिनाअघि मजदुरी गर्न पोखरा आएका थिए। घर गएर दुई जनालाई पोखरा ल्याएको ५ दिनमै लकडाउन सुरु भयो। काम बन्द भयो।
घरबाट ल्याएको अलिअलि खर्च रासनपानीमै सकियो। ठेकेदारले बन्दको कारण देखाउँदै पैसा दिएका छैनन्। वैशाख १५ सम्म लकडाउन थपिएपछि उनीहरू चिन्तित छन्। ‘बन्द खुले काम गर्न पाइन्थ्यो, खाने, बस्ने चिन्ता हुन्थेन,’ टीकेन्द्रले भने, ‘अहिले ग्यास पनि सकिन लाग्यो। चामल २–४ दिनलाई मात्रै पुग्छ।’
घरबाट पनि पैसा पठाउन सम्भव नभएको उनीहरूले बताए। टीकेन्द्रका बुबा काम गर्न सक्दैनन्। गाउँमा अलिअलि खेतीपाती हुन्छ। ११ र १० कक्षामा पढ्ने दुई भाइलाई पढाउने जिम्मा उनकै काँधमा छ।
६ महिना पोखरामा कमाएको पैसा भाइहरूकै पढाइमा खर्च भएको उनले सुनाए। सञ्जय र सुन्दरको परिवार पनि खेतीपातीमै निर्भर छ। सञ्जयले उता पेन्टर काम गर्थे। कहिलेकाहीँ मात्रै काम पाउँथे। सुरेन्द्र आल्मुनियम पसलमा हेल्पर थिए। उताभन्दा पोखरामा राम्रो कमाइ हुने देखेर दुवै जना टीकेन्द्रसँगै आएका थिए।
उनीहरूका परिवारले गाडी खुलेपछि घरमै आउनु भनेका छन्। ‘गाडी खुले त यहीं काम सुरु हुन्थ्यो होला,’ सुरेन्द्रले भने, ‘साथमा पैसा छैन। मोबाइलमा रिचार्ज छैन। लोन लिएको पनि सकिन लाग्यो। अब परिवारसँग पनि कुरा गर्न पाइन्न होला।’ घरमा दुई महिनाकी छोरी छाडेर आएका उनलाई पोखरा बसाइ निल्नु न ओकल्नु भएको छ।
उनीहरूसँगै थिए बर्दियाका ७ मजदुर, जसले हिँडेरै घर जाने निर्णय लिए। केही कम्बल र कपडा पोको पारे। साथमा भएको ५ सय/हजार रुपैयाँ लिएर आइतबार बिहान ३ बजे बर्दियाको बाटो तताए।
पोखरामा रहेका अरू ७ मजदुर पनि उनीहरूसँगै हिँड्न राजी भए। झन्डै डेढ सय किलोमिटर हिँडेर उनीहरू सोमबार साँझ बुटवल पुगे। सोमबार राति पश्चिमतर्फ जाने मजदुरलाई बुटवल उपमहानगरपालिकाले बसको व्यवस्था गर्यो।
पोखराबाट गएका १४ र काठमाडौंबाट हिँड्दै पुगेकासहित ७० मजदुर बस चढे। कपिलवस्तुको पिपरा पुगेपछि रोकिनुपर्यो। सुरक्षाकर्मीले सवारी पास बनाएपछि मात्रै अगाडि जान दिने बताए।
मजदुरले पिपराकै सडकमा रात बिताएको सन्तराम थारूले बताए। मंगलबार बिहान सवारी पास बनेपछि बर्दियातर्फ लागेको उनले फोनमा भने। ‘साथमा भएको पैसा पनि सकियो, राहत पनि कतै पाइएनँ,’ उनले भने, ‘त्यहाँ भोकभोकै बस्नुभन्दा हिँडेरै घर जाने सोच्यौं।’
लेकसाइडबाट ७ मजदुर हिँड्ने बेला रुवाबासी चल्यो। जानेहध रुँदैरुँदै गए। बस्नेहरूले रुँदै बिदा गरे। ‘जाने गइहाले हामी पो के खाएर बस्ने,’ मलिन अनुहारमा टीकेन्द्रले भने, ‘हामी पनि हिँड्ने त होला।’ पोखराबाट कञ्चनपुर झन्डै ८ सय किलोमिटरको दूरीमा छ। दिनमा १ सय किलोमिटर हिँड्दा ७–८ दिनमा पुग्न सकिने उनीहरूको अनुमान छ।
टोलमा राहत बाँड्दा हुने खानेले हारालुछ गरेको उनीहरूले देखेका छन्। बिरानो ठाउँमा चर्को डाँको गरेर राहत माग्न सक्दैनन्। स्थानीय शम्भु खातीले उनीहरूका लागि राहतको पहल गरे तर वडाले टेरेन। हिँडेर घर जाँदै गरेका र त्यहाँ बसेका मजदुरको आँसु देखेर उनको मन खिन्न भयो। अनि सम्झिए जेबी टुहुरेको गीत–
‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ,
लाखौंका लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’