घर फर्कने नेपालीलाई सीमामा सास्ती, भन्सारदेखि गाडीभाडासम्ममा ठगी

9 Oct, 2024

गुजारा चलाउन छिमेकी देश भारत छिरेका नेपाली मजदुर घर फर्कँदा सीमानाकामा ठगिने गरेका छन्। चाडपर्व नजिकिएसँगै घर फर्कने नेपाली भारतीय भन्सारका कर्मचारीदेखि सवारीचालकसम्मबाट ठगिँदै आएका छन्।

महाकाली नदीमा निर्माण भएको शारदा ब्यारेजस्थित बनबासा पुल खुल्ने समयसीमा तोकिएकाले पनि भारतबाट नेपाल फर्किने नागरिकले सास्ती खेप्दै आएका छन्। बिहान ६–८ र १०–१२, दिउँसो २–४ र साँझ ६–७ बजेको समयमा मात्र पुलबाट आवतजावत गर्न दिइन्छ। पुलकै कारण देखाएर भारतीय सवारीचालकहरूले नेपालीलाई ठग्दै आएका छन्। पुल बन्द भए पारी जान पुलका कर्मचारीलाई पैसा दिनुपर्नेदेखि भारतीय भन्सारका कर्मचारीलाई पैसा दिनुपर्ने समस्या नेपालीले भोग्ने गरेका छन्।

बनबासा बजारदेखि सीमावर्ती गड्डाचौकीसम्म ५० भारु (नेपाली ८० रुपैयाँ) निर्धारण भए पनि सवारीसाधनले दोब्बर–तेब्बरसम्म भाडा असुल्ने गरेका छन्। भारतको विशेष गरी हिमाञ्चल क्षेत्रमा कञ्चनपुरका नेपाली मजदुरी गर्न जाने गरेका छन्। घरायसी सामानको परिमाण केही बढी देखिए पनि भारतीय यातायात व्यवसायीदेखि भन्सार कर्मचारीसम्मले दुःख दिने गरेका त्यहाँबाट यात्रा गर्ने नेपालीको गुनासो छ।

बर्दियाको ठाकुरबाबा नगरपालिका– ४ का नृप खनाल बनबासा–गड्डाचौकी सीमा क्षेत्रको यात्रा सहज नभएको बताउँछन्। ‘भारततिर भन्सार, एसएसबीदेखि नेपालमा भन्सार, सशस्त्र प्रहरी र प्रहरीको चेकजाँचले हामी हैरान भएका छौँ। यति मात्रै होइन, भारतीय सवारीसाधनका चालकले त चर्को भाडा लियो,’ उनले भने, ‘भारतीय ट्याक्सीवालाले बिचबाटोमा चेकजाँच झन्झटमुक्त गराउन भन्दै अतिरिक्त ५०/५० रुपैयाँ लियो। हामीले पनि झन्झट हुनुभन्दा दियौँ, नत्र पुल बन्द भए सामान बोकेरै लैजानुपर्छ।’

हिमाञ्चलबाट स्याउ टिपेर स्वदेश फर्किएका अछामको ढकारी गाउँपालिका– ६ का नवीन थापा बिचबाटोमा चेकिङको झन्झटले जिप बुकिङ गरेर आए। तर, लामो समय लाइनमा बस्दा सामान अलपत्र छाडेर जिप फर्किएको उनले गुनासो गरे। ‘बनबासा पुल वारी एसएसबीको चेकिङ थियो। हामी लाइनमा थियौँ, गाडी सीधै गड्डाचौकीतिर आएर फर्कियो, हाम्रो सामान त्यहीँ छाडिदियो। मैले उतैबाट किनेर ल्याएको स्पिकर पनि लगिदियो,’ उनले भने। थापासहितका ७ नेपाली उत्तराखण्ड रयाखाल विचौरीझालेबाट बनबासासम्म जिप बुकिङ गरेर आएका थिए। बुकिङमा पनि बढी भाडा असुलेको उनको गुनासो छ।

रोपाइँ सकेर खाली रहेको समयमा भारतको सिम्लामा स्याउ टिप्न गएका कञ्चनपुरको कृष्णपुर नगरपालिका– ७, कलुवापुरका सहदेव रानाले बनबासा बजारदेखि गड्डाचौकीसम्मको भाडा दुई सय रुपैयाँ तिर्नुपरेको गुनासो सुनाए। यहाँको भाडादर ५० रुपैयाँ तोकिएको छ। विगतका वर्षहरूमा भारतबाट स्वदेश फर्किने नेपालीहरूलाई सीमावर्ती क्षेत्रमा नसालु पदार्थ सेवन गराएर लुटपाट गर्ने, ठग्नेजस्ता घटना हुने गरे पनि यस वर्ष त्यस्ता ठुला घटना खासै भएको छैन। भारतीय भूमिमा सास्ती खेप्दै आएका मजदुरले स्वदेश पुगेपछि पुनः नेपाली भन्सार, सशस्त्र प्रहरी र नेपाल प्रहरीले अलग-अलग झोला खोतल्दा थप हैरानी खेप्नुपरेको गुनासो छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले भारतीय भूमिसहित सीमावर्ती नेपालमै पनि मजदुरसँग बढी भाडा असुल्नेमाथि कारबाहीका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई निर्देशन दिएको बताए। भारतमा अतिरिक्त भाडा असुल्ने गुनासो बढेपछि सशस्त्र प्रहरी बल नेपालले समकक्षी भारतीय एसएसबीलाई अतिरिक्त भाडा असुल्ने सवारीसाधनमाथि कारबाही गर्न भनेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024