घर जान लागेका कामदारलाई राहत

8 Apr, 2020

हिमनाथ देवकोटा

 

रसुवा – रसुवामा लकडाउनको समयमा घर जान लागेका कामदारलाई राहत दिएर काम गरिरहेको स्थानमा नै फिर्ता गरिएको छ। जिल्लाको बृद्धिम र लाङटाङमा काम गरिरहेका ओखलढुंगाका १७ जना कामदार सोमबार साँझ स्याफ्रु आएका थिए। 

गाउँपालिकाले सोमबार र मंगलबार खाना तथा बास उपलब्ध गराएको छ। गाउँपालिकाले वैशाख ३ गतेसम्म लकडाउन भएका कारण उनीहरूलाई राहत सहित फिर्ता पठाएको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए। ‘लकडाउन अवधिभरका लागि पुग्ने सामग्री प्रदान गरेका छौँ, उनले भने, ‘उनीहरू बुधबार बिहानै काम गरेर बसिरहेको स्थानमा पुग्छन्।’ 

गाउँपालिकाले १७ जनालाई नै दाल, चामल, नुन, तेल, मसलालगायतका दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको हो। त्यसैगरी गाउँपालिकाको स्वास्थ्य शाखाले वडा कार्यालय, नेपाल प्रहरी, ट्राफिक प्रहरी र नेपाली सेनासँगको साझेदारीमा स्याफ्रु बजारमा किटनासक औषधि छरेको छ। 

स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेका अनुसार अत्यावश्यक सामग्री किनमेल गर्ने पसल, क्वारेन्टाइन, हेल्प डेक्स लगायतका आवश्यक स्थानमा कोरोनाको संक्रमण रोकथामका लागि यस विरुद्धको औषधि छर्ने काम गरिएको हो। उनले गाउँपालिकाको ६ वटै वडामा किटनासक औषधि छर्ने काम गरिने बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024