सामाजिक विभेद, अपहेलना, हिंसा, शोषण र साथीभाइको लहैलहैलगायत विभिन्न कारणले घर छोडेका बालबालिका समस्यामा पर्ने गरेका छन् । घर छोडेर हिँडेका यस्ता बालबालिका अनिश्चत गन्तव्यमा पुग्छन्, सुरक्षित हुँदैनन् । यस्तै एक उदाहरण हुन् नेपालगन्जकी १६ वर्षीया किशोरी । घरमा दिनहुँ आमाबुवाको झगडाका कारण मानसिक तनाव भएपछि उनले घर छोडिन् । उनी भन्छिन्, ‘ममीबाबाको झगडा हुन्थ्यो, रिसले मलाई कुट्नुहुन्थ्यो ।’ घर छोडेर उनी काठमाडौं आइन् । केही दिन होटलमा भाँडा माझ्ने काम गरेर पेट पालिन् । साहुले भाँडा माझ्ने काम छाडेर खाजा खान आउने ग्राहक रिझाउनुपर्ने जिम्मेवारी दिए । भनेको नमान्दा खानै नपाउने स्थिति आएपछि उनी ग्राहकसँग बस्न थालिन् । यौन व्यवसायमा लागिन् ।
उनी जस्तै घर छोडेकै कारण नुवाकोटकी १४ वर्षीया बालिकाले निकै दु:ख पाइन् । दलित परिवारमा जन्मिएकी उनलाई गाउँमा अरूले राम्रो लगाएको, मिठो खाएको देख्दा त्यस्तै गर्न खुब रहर लाग्थ्यो । घर छोडेर हिँडेकी दिदीले काठमाडौंमा राम्रो काम पाइने भनेर बोलाएपछि उनी घरबाट भागिन् । यहाँ उनले सोचेजस्तो राम्रो काम र दाम त पाइनन्, बरु दिदीबाटै हिंसाको सिकार भइन् । यौन व्यवसायमा लागेकी दिदीले उनलाई पनि त्यही काम गर्न कर गरिन् । बाध्यतामा उनले लामो समय यही व्यवसाय गरिन् । यी दुई प्रतिनिधि पात्र मात्रै हुन् । घर छोडेर हिँडेका, परिवारसँग बस्न नपाएका बालबालिका हिंसा, र्दुव्यवहार र बेचबिखनको जोखिममा पर्ने गरेका छन् । केन्द्रीय बाल कल्याण समितिका बालबालिका स्रोत व्यक्ति रवि गौतम भन्छन्, ‘बालबालिकाप्रति परिवार संवेदनशील नहुँदा उनीहरू घर छोड्छन्, घर छोडदा हुने जोखिमबारे बच्चालाई थाहा हुँदैन ।’ घर छोडेका बालबालिका श्रमिक बन्ने, कुलतमा फस्ने, लागूपदार्थ बेचबिखनमा प्रयोग हुने जस्ता जोखिममा पर्ने गरेको उनले बताए । यस्ता बालबालिकालाई उद्धार, कानुनी सहायता, पुन:स्थापना र पारिवारिक पुनर्मिलनको आवश्यकता भएको उनी बताउँछन् । घरबाट टाढा बसेका बालबालिका विभिन्नखाले शोषण, हिंसा र जबर्जस्ती श्रमको सिकार भइरहेका छन् । गौतमका अनुसार घर छोडेका बालबालिकाको सुरक्षा र संरक्षणमा सम्बन्धित निकाय सक्रिय हुन सकेका छैनन् ।
यस्ता बालबालिकाको खोजी र संरक्षण गर्ने सरकारी नीतिनियम र योजना नबन्दा उनीहरूले दु:ख पाइरहेका छन् । अलपत्र परेका बालबालिका कानुनीपहिचान, स्वास्थ्य सेवा, शिक्षा र खेलकुद र कानुनी संरक्षण जस्ता सुविधाबाट वञ्चित भइरहेका छन् । राष्ट्रिय जीवनस्तर सर्वेक्षण २०११ अनुसार १५ वर्षमुनिका ११ प्रतिशत बालबालिका परिवारभन्दा टाढा छन् । केन्द्रीय बाल कल्याण समितिले सन् २०१४ मा गरेको अध्ययनअनुसार करिब ६ हजार बालबालिका संस्थागत स्याहारमा छन् । राष्ट्रिय श्रम शक्ति सर्वेक्षण २००८ अनुसार एक लाख २६ हजार बालबालिका श्रम गरिरहेका छन् । त्यस्तै राष्ट्रिय बाल संरक्षण प्रतिवेदन २०१२ अनुसार श्रम गरिरहेका बालबालिकामध्ये १२ प्रतिशत घर छोडेर आएका छन्, ३३ प्रतिशत यौन व्यवसायमा छन् र ती बालबालिका १८ वर्ष मुनिका छन् । गत आर्थिक वर्षमा मात्रै केन्द्रीय बाल कल्याण समितिले ८ सय ७३ सडक बालबालिकाको उद्धार गरेको थियो ।
केन्द्रीय बालकल्याण समितिको तथ्यांकअनुसार ३२ हजार बालबालिका इँटाभट्टामा श्रम गर्छन् । अधिकांशको जन्मदर्ता छैन । गौतम भन्छन्, ‘पहिचानपत्र नहुँदा उनीहरूका कुनै पनि घटना सार्वजनिक निकायमा दर्ता हुँदैनन्, बालश्रम, सडक र टुहुरा शरणार्थी र विस्थापित बालबालिका बढी जोखिममा छन् ।’
एक्लै यात्रा गरिरहेका बालबालिकाहरू कोसँग र कसरी यात्रा गरिरहेका छन् भन्ने विषयमा अनुगमन, निरीक्षण गर्नुपर्ने नीतिगत व्यवस्था छैन । यस्ता बालबालिकाको बारेमा अनिवार्य सोधपुछ गर्ने जानकारी लिने र सम्बन्धित निकायमा जानकारी दिने गरेमा उनीहरू सुरक्षित हुन सक्ने सरोकारवाला बताउँछन् । राजमार्ग, सीमा, चेक पोस्ट र बसपार्कका प्रहरी चौकीहरू र सम्बन्धित यातायात व्यवसायीलाई यसमा संलग्न गराउनुपर्ने अधिकारकर्मी मिलनधरेल बताउँछन् । नेपालमा घर छोडेका बालबालिकाबारे अध्ययन भएको छैन, तथ्यांक छैन । बालबालिकाका लागि बनेका कानुन प्रभावकारी रूपमा लागू हुन सकेमा यस्ता समस्या न्यूनीकरण हुन सक्ने बालअधिकारकर्मी बताउँछन् । केन्द्र,प्रदेश र स्थानीय सरकारले बलियो कानुन र संयन्त्र बनाएर बालबालिका संरक्षण गर्न आवश्यक छ ।