घरेलु श्रमिक बालिका बलात्कारको अभियोग लागेका इन्स्पेक्टरलाई तीन लाख धरौटीमा छाड्न आदेश

13 Sep, 2024

आफ्नै घरमा काम गर्न राखेकी बालिकालाई बलात्कार गरेको अभियोग लागेका नेपाल प्रहरीका इन्स्पेक्टर विदुर सिवाकोटीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।

उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र हेमन्त रावलको इजलासले उनलाई बिहीबार तीन लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। यसअघि जिल्ला अदालतको आदेशअनुसार सिवाकोटी पुर्पक्षका लागि थुनामा थिए।

काठमाडौंको नागार्जुन नगरपालिका– १ घर भएका सिवाकोटीले पढाउने सर्तमा एक बालिकालाई घरमा राखेकोमा बारम्बार बलात्कार गरेको पीडित बालिकाको उजुरीपछि गत जेठमा अनुसन्धान सुरु भएको थियो।

काठमाडौं महानगरपालिकाको बाल कल्याण समितिले ती बालिकालाई गत २३ जेठमा उद्धार गरेको थियो। उद्धारपछि बालिकाले आफूमाथि बलात्कार हुँदै आएको बताएकी थिइन्। सोही आधारमा प्रहरीमा जाहेरी परेको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहेका सिवाकोटीलाई स्वयम्भू वृत्तले पक्राउ गरी अभियोजन प्रक्रिया अघि बढाएको थियो। पछिल्लोपटक गत १६ जेठमा आफूमाथि बलात्कार भएको बालिकाको भनाइ छ।

सिवाकोटीले भने विद्यालयबाट ढिला आउने तथा पैसा चोरी गर्नेलगायत विषयमा उनलाई गाली गरेको र उनकै घर पठाइदिने कुरा गरेकाले आफूविरुद्ध झुटो उजुरी दिएको बयान दिएका थिए। बलात्कार भएको भनिएको समयमा आफू कार्यालयमै कार्यरत रहेको दाबी उनले पेस गरेका थिए। तर, जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल पठाएको थियो। उच्च अदालतले भने उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024