‘घरेलु श्रमिक प्रतिबन्ध लगाएर समस्या समाधान हुँदैन’

25 Dec, 2023

सरोकारवालाहरूले सरकारले खाडी तथा मलेसियामा घरेलु कामदार प्रतिबन्ध लगाएर मात्रै समस्या समाधान नहुने बताएका छन्।

शुक्रबार काठमाडौंमा आम्कास नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै आम्कास नेपालकी संस्थापक अध्यक्ष विजया राईले प्रतिबन्धले झनै समस्या बढाएको बताइन्।

‘सरकारले प्रतिबन्ध लगाउँदा पनि घरेलु काममा श्रमिकहरू पुगिरहेका छन्। अवैध बाटो र प्रक्रियामार्फत् जाँदा उनीहरू समस्यामा परिरहेका छन्,’ उनले भनिन्।

प्रतिबन्धका कारण सीप तथा अभिमुखीकरण तालिम समेत नलिइ लु्किछिपी जान बाध्य भएको उनको भनाइ छ। ‘खाडी मुलुकमा भारतको बाटोबाट जान बाध्य पारिएको छ। सम्बन्धित गन्तव्य मुलुकसँग छुट्टै सम्झौता गरेर व्यवस्थित तरिकाले खुला गर्नुपर्छ,’ उनले थपिन।

श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालले पनि घरेलु श्रमिकहरू पठाउन रोकेर मात्रै समस्या समाधान नहुने तर्क गरे। उनले सम्बन्धित गन्तव्यमा घरेलु श्रमिकको हकअधिकार सुनिश्चित हुने गरी सम्झौता गरेर बाटो खुला गरिनुपर्ने बताए।

मानव बेचविखन अनुसन्धान ब्युरोका एसएसपी जीवनकुमार श्रेष्ठले पछिल्लो समय भारतको बाटो हुँदै मानव तस्करी तथा बेचविखनका घटना बढिरहेको उल्लेख गरे।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024