रोल्पाको दुर्गम गाउँमा जन्मिएका ३८ वर्षीय सुरेन्द्र पुनमगरले आफ्नो भाग्य बदल्ने ठूलो सपना देखे । परिवारको आर्थिक अवस्था सुधार्न उनी विदेशिन बाध्य भए । परिवर्तन गाउँपालिका-४ पाछावाङका यी युवकले एक दशकअघि कतार र मलेसियामा पुगेर धेरै संघर्ष गरे । तर, सोचेजस्तो सफलता पाएनन् । अन्ततः युरोपमा राम्रो कमाइ हुने आशामा सन् २०२३ को फेब्रुअरी दोस्रो सातामा उनी अल्बानिया प्रवेश गरे।
काठमाडौं सिनामंगलमा रहेको एउटा म्यानपावर कम्पनीलाई (नाम नखुलेको) सात लाख रुपैयाँ बुझाएर उनले यो यात्रा सुरु गरेका थिए । ‘महिनामा लाखौं रुपैयाँ कमाउन सकिन्छ भन्ने सुनेर ऋण लिएर हिंडेको’, उनले सम्झिए । तर, जब उनी अल्बानिया पुगे, यथार्थले उनको सपना टुक्राटुक्रा पारिदियो । कमाइ न्यून थियो,खर्च धेरै। ‘प्लाष्टिक कम्पनीमा काम पाएँ । तर, महिनाको ३०-४० हजार रुपैयाँ पनि हुँदैनथ्यो । यही बस्नुभन्दा अरू देश खोजौं भनेर ग्रिस छिर्यौं’, उनले अनलाइनखबरसँग भने।
उनी अवैधानिक रूपमा ग्रिस प्रवेश गरे । त्यहाँ पाकिस्तानी एजेन्टमार्फत कृषि क्षेत्रमा काम सुरु गरे । ‘आलु प्याकिङलगायत घाँस काट्ने, खेतीपातीका कामहरू गर्थें । यहाँ पनि राम्रो कमाइ त हुँदैनथ्यो, तर विकल्प थिएन,’ उनले सुनाए । एक वर्षसम्म लुकीछिपी काम गरिरहे । परिवारको ऋण तिर्न नसके पनि उनको आशा भने बाँकी नै थियो । तर, अचानक उनको सपना मात्रै होइन, जीवन नै भताभुङ्ग बन्न पुग्यो।
चार महिनाअघि अचानक पेटमा असह्य पीडा सुरु भयो। सुरुमा सहेर बसे । तर, जब पीडा सहन नसक्ने भयो, उनी अस्पताल जानु पर्यो । उपचारको लागि आफ्नो मेडिकल कार्ड नभएपछि उनले अरूको कार्ड प्रयोग गरे । चेकअपको क्रममा कार्ड अरूको प्रयोग भएको थाहा भयो । जेनतेन कागजी प्रक्रिया पूरा गरेर चेकजाँच गराए तर डाक्टरले भने, ‘तपाईंलाई पेटको क्यान्सर छ, र यो अन्तिम चरणमा पुगेको छ।’ यो थाहा पाएपछि उनी छागाबाट खसे जस्तै भए । भक्कानिए।
‘म नेपाल फर्कन चाहन्छु’
एकाएक उनका सबै सपना भताभुङ्ग भए । ‘पहिले मलाई धन कमाउनु थियो,परिवारलाई सुखी बनाउनु थियो । तर, अब मेरो चाहना एक मात्र छ- म नेपाल फर्कन चाहन्छु।परिवारसँग अन्तिम पल बिताउन चाहन्छु’, उनले याचना गरे ।
उनको शारीरिक अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको छ। ‘पहिला म ७० किलो थिएँ,अहिले ४० किलो पनि छैन होला,’ उनले सहयोगको याचना गर्दै भने, ‘जहाजबाट सामान्य रूपमा यात्रा गर्न नमिल्ने रहेछ । एक जना डाक्टरसहित सहयोगी अनिवार्य रहेछ । नेपाल सरकार, एनआरएनए, संघसंस्था जो जसले सक्नुहुन्छ,मलाई फर्कन सहयोग गर्नुहोस् । म बाँचें पनि, मरे पनि, परिवारको काखमा हुन चाहन्छु ।’
‘बाँचे पनि, मरे पनि आफ्नै माटोमा ल्याइदिनुहोस्’
सुरेन्द्रकी श्रीमती विपना बुढा दिनहुँ श्रीमानसँग कुरा गर्छिन्। ‘अस्पतालमा सुतेको चार महिना भइसक्यो’, उनले भक्कानिंदै, ‘उहाँलाई घर आउन मन छ । दिनरात रोइरहनुहुन्छ । अब बाँच्नु भयो भने पनि, मर्नु भयो भने पनि आफ्नै माटोमा ल्याइदिनुहोस् ।’
उनले श्रीमानलाई नेपाल फर्काउन सहयोग गरिदिन सबैसँग अपिल गरिन् । ‘परराष्ट्र मन्त्रालयमा पुगेर उहाँको अवस्थाबारे जानकारी दिएकी छु । कागजात मिलाइदिने त भन्नु भएको छ । तर, खर्चको जोहो आफैं गर्नुपर्ने देखिएको छ । घरमा बुढी आमा पनि हुनुहुन्छ । कृपया विदेशबाट सबैले सहयोग गरेर पठाइदिनुहोस् ।’
सुरेन्द्र पुन मगरका लागि नेपाल फर्कने आशा अझै जीवित छ । ग्रिसमा रहेका सामाजिक अभियन्ता कृष्ण पोखरेलले आफूले सक्दो पहल गरिरहेको बताएका छन् । २८ वर्षदेखि ग्रिसमा बस्दै आएका पोखरेलले भने, ‘उहाँ लामो समयदेखि एथेन्सस्थित आगियाएलेनी अस्पतालमा हुनुहुन्छ । नेपाल फर्काउनका लागि अष्ट्रियास्थित नेपाली राजदूतावाससँग समन्वय भइरहेको छ । तर, उहाँको स्वास्थ्य अवस्थाका कारण डाक्टरसहित नै पठाउनु पर्ने हुँदा जटिल बनेको हो।’
सुरेन्द्रको परिवारमा वृद्ध आमा, दुई श्रीमती, एक छोरा र एक छोरी छन् ।