गोरखाका ५ जना सहित १९ नेपाली मलेसियामा बन्धक

9 Jan, 2023

नरहरि सापकोटा

गोरखाका पाँच जना सहित १९ जना नेपाली मलेसियामा आठ दिनदेखि बन्धक छन्। सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावरबाट सप्लायर्स कम्पनीमा काम गर्न भदौ २३ गते मलेसिया पुगेका युवाहरू अलपत्र परेका हुन्।

काम गर्ने क्रममा कम्पनीका मालिकले कुटपिट गर्ने, चरम शारिरक यातना दिने गरेपछि किन यस्तो गरेको भन्दा कम्पनीबाट निकालिएको गुनासो बन्धक मध्येका गोरखा बुङकोटका ठाकुर रेग्मीले बताए।

बन्धक हुनेमा गोरखाको शहीद लखन गाउँपालिका ६ का ठाकुर रेग्मी, ७ का कमल श्रेष्ठ, भिमसेन थापा गाउँपालिका ७ का विष्णुप्रसाद ढकाल, टिकाराम गोतामे, सुजन गोतामे रहेका छन्। स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयले उद्धारकालागि पहल गरिदिए सहज हुने आशा उनीहरूलाई छ।

गोरखाका पाँच बाहेक उदयपुरका १ जना, सप्तरीका १ जना, मकवानपुरका ७ जना, रौतहटका ३ जना, भोजपुर र बैतडीका १/१ जना छन्। बन्धक भएका युवाहरू तत्काल रिहाइको माग गर्दै सामाजिक सञ्जालमा हारगुहार गरिरहेका छन्।

गत भदौ २३ गते मलेसिया पुगेका उनीहरुलाई कम्पनीले एक महिनाको पारिश्रमिक पनि नदिएको बन्धक भएका मध्येका एक बाबुराम बास्तोलाले बताए।

‘नेपालीहरूलाई दिनहुँ कम्पनीका मालिकले कुटपिट गरेपछि सबैले किन कुटपिट गरेको, हामी बालबच्चा पाल्न पैसा कमाउन आएका हौँ भन्यौँ’ उनले भने ‘यातना रोकिएन, हामीले नेपालस्थित कम्पनीलाईपनि भन्यौँ, तर सुनुवाइ भएन।’

उल्टै कम्पनीबाट निकालेर केलाङ भन्ने ठाउँमा एउटा कोठाको तेस्रो तलामा बन्धक बनाएर राखिएको उनले बताए।

‘अहिले बसेको ठाउँमा पानी छैन, बत्ती छैन, ओछ्याउने म्याट छैन, कसरी बस्नु’ गोरखाका ठाकुर रेग्मीले गुनासो गर्दै भने ‘खाली भुईँमा बस्नुपरेको छ।’

कम्पनीका मालिकले गरेको ब्यवाहार र ठगीबारे मलेसिया स्थित नेपाली दुताबासमापनि जानकारी गराएको र टेकबहादुर कार्की भन्ने व्यक्ति आएको तर आश्वासन बाहेक गुनासो सुनुवाइ नभएको उनले बताए।

नेपाल स्थित कम्पनीमा पनि समस्याका बारेमा जानकारी गराएको र एजेन्ट महमद जुदेन आएर तत्काल अन्यत्र काम दिने वा नेपाल पठाउने बताए पनि त्यसो हुन नसकेको उनले बताए।

‘सुरुको दिन २८ जना थियौँ, अहिले नौ जनालाई अन्यत्र होटल परिवर्तन गर्ने भनेर लग्यो, हामी २१ जना अलपत्र छौँ’ उनले भने।

एक नेपाली युवालाई कम्पनीका मालिकले निर्घात कुटपिट गरेपछि अन्य नेपाली युवाहरुले किन कुटपिट गरेको भनेर सोध्दा सबैलाई कम्पनीबाट निकालिदिएको गुनासो बन्धक भएर बसेका युवाहरूको छ।

अहिले सँगै रहेका १९ जनालाई तत्काल नेपाल ल्याइदिन सामाजिक सञ्जाल मार्फत युवाहरुले अपिल गरिरहेका छन्।

‘हामीलाई धेरै पिडा भइसक्यो, यहाँ यातना सहेर काम गर्नुभन्दा नेपाल नै जाऊँ भन्ने सबैले भन्नुभएको छ’ बास्तोलाले भिडियो संवादमा भने ‘खाने कुरा छैन, सुत्ने ठाउँ छैन, यो पिडा कति दिन कसरी सहनु?’

खोजी रिक्वायरमेन्टका प्रतिनिधि सँग यस बारे जानकारी लिन वेभसाईटमा रहेको टेलिफोनमा सम्पर्क गर्दा सबै नम्बर सेवा बाहिर रहेको भेटियो।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024