गैरआवासीय नेपालीहरूलाई परराष्ट्रमन्त्रीको आग्रह- अप्रिलभरि धैर्य गरौँ, त्यसपछि परिस्थिति हेरी निर्णय गर्नेछौँ

14 Apr, 2020

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसारभर रहेका संसारभर छरिएर रहेका गैरआवासीय नेपालीलाई अप्रिल महिनाभरि धैर्यतापूर्वक आफू रहेकै मुलुकमा रहन आग्रह गरेका छन् । त्यसपछि परिस्थितिको जटिलता हेरी आवश्यक निर्णय गर्ने विश्वास पनि उनले दिलाएका छन् । 

विदेशमा रहेका गैरआवासीय नेपालीमध्ये अधिकांशले आफूहरू स्वेदश फर्कन चाहेको तथ्यांक सार्वजनिक भएसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तसँगको टेलिफोन कुराकानीमा मन्त्री ज्ञवालीले अप्रिल महिनासम्म धैर्य गर्न आग्रह गरेका हुन् । 

आफूले सुरु गरेको हेल्प डेक्सले संकलन गरेको तथ्यांकका आधारमा मंगलबार एनआरएनएले कोरोना संक्रमणको सन्त्रासका कारण ७७ प्रतिसत गैरआवासीय नेपालीहरू स्वदेश फर्कन चाहेको तथ्यांक सार्वजनिक गरेको थियो । विदेशमा रहेका धेरैजसो नेपाली स्वदेश फर्किन चाहेको र कतिपय कठिन अवस्थामा रहेका नेपालीबारे मन्त्री ज्ञवालीलाई मंगलबार फोनमा अध्यक्ष पन्तले अवगत गराएका थिए । मन्त्री ज्ञवालीको जवाफ थियो, ‘हामी आफ्ना नागरिकलाई कुनै हालतमा अलपत्र हुन दिने छैनौँ ।’ 

मन्त्री ज्ञवाली र अध्यक्ष पन्तबीच उद्धार र राहत पु‍ऱ्याउने विषयमा पनि छलफल भएको थियो । त्यसक्रममा ज्ञवालीले विभिन्न मुलुकमा रहेका नेपालीबारे आफूले पनि दूतावासलगायत विभिन्न माध्यमबाट जानकारी लिइरहेको र सरकार यस विषयमा संवेदनशील रहेको मन्त्री बताएका थिए । उनले खाडीलगायत मध्यपूर्वका मुलुकमा रहेका नेपालीलाई कुनै सर्त नराखी समान व्यवहार गर्न आग्रह गरेको र त्यसमा सम्बन्धित मुलुकका सरकारले पूर्ण सहमति जनाएको जानकारी दिएका थिए । 

मन्त्री ज्ञवाली र अध्यक्ष पन्तबीचको कुराकानीमा तत्काललाई नेपाल सरकार, दूतावास र गैरआवासीय नेपाली संघले मिलेर विदेशमा रहेका नेपालीलाई नेपालीलाई सहायता पुर्‍याउने समझदारी पनि बनेको एनआरएनले बताएको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024