गिरीबन्धु चिया बगानका श्रमिकले पाएनन् ज्याला

18 Apr, 2024

झापा — गिरीबन्धु टी-स्टेटका श्रमिकले ६५ दिनदेखि पारिश्रमिक पाएका छैनन् । दैनिक ज्यालामा काम गर्ने श्रमिक लामो समयदेखि पारिश्रमिक नपाउँदा समस्यामा परेका छन् । उनीहरु भोकभोकैको अवस्थामा पुगेका छन् । बिर्तामोड नगरपालिका–६ र अर्जुनधारा नगरपालिका–११ स्थित चिया बगानमा कार्यरत अतिविपन्न परिवारका श्रमिक बगान सञ्चालक छत्रबहादुर गिरीले ज्याला नदिँदा समस्यामा परेका हुन् ।

‘घरमा एक गेडा अन्न छैन् । काममा नआउँदा पनि भएको छैन । बेलुका घरमा गएर के खाने भन्ने अवस्था छ,’ पिँठ्यूमा डेढ वर्षीय छोरा बोकेर चियापत्ती टिपिरहेकी ४२ वर्षीया हेमा चौधरीले भनिन् । बगान मालिकले ज्याला नदिँदा जेठा छोराको स्कुलबाट रिजल्ट निकाल्न नसकेको उनले दुख सुनाइन् । बगान घाटामा गएकाले श्रमिकलाई पारिश्रमिक दिन नसकेको भन्ने खबर पाएको श्रमिक नारायण दर्जीले बताए । पारिश्रमिक नपाउँदा श्रमिक काकाकुलको अवस्थामा पुगेको उनको भनाई छ । ‘दैनिक ज्याला मजदुरी गरेर खाने मान्छेहरुले दुई महिनाभन्दा बढी समयदेखि पैंसा नपाउँदा सबैको हालत खराब भएको छ’ उनले भने,‘अझै कति दिनसम्म ज्याला नपाउने हो टुंगो छैन । सबै श्रमिकहरु आत्तिसकेका छन् ।’‘हप्ता थापेपछि दाल, चामल किनेर खाने मजदुरहरु अहिले कामबाट छुट्टी भएपछि ऋण खोज्न आफन्तको घर चहार्नु परिरहेको छ’ श्रमिक साबित्रा बन्जाराले भनिन्, ‘बाँकी खाने पसलेले पनि बाँकी दिन छोडिसक्यो । बगानबाहेक अरुतिर मान्छे चिनेको जानेको छैन् । घर चलाउन एकदमै गाह्रो भइरहेको छ ।’

उनीहरुले पारिश्रमिक नपाएको विषय जानकारी गराउँदै पहल गरिदिन जिल्ला प्रशासन कार्यालय र श्रम तथा रोजगार कार्यालय झापामा लिखित निवेदन दिएका छन् । प्रशासन र श्रम कार्यालयमा निवेदन दिएको एक हप्ता भइसकेपनि कुनै सुनुवाई नभएको श्रमिक केवल मगरले गुनासो गरे । ‘हामीले सीडीओ, श्रम कार्यालयसहित अर्जुनधारा र बिर्तामोड नगरपालिकामा पनि लिखित निवेदन दिएका छौं । अहिलेसम्म कसैले हाम्रो समस्याबारे कुनै पहल गरेको छैन्’ मगरले भने । गिरीबन्धु चिया बगानमा १ सय ६४ जना स्थायी श्रमिक कार्यरत छन् । बगानमा कार्यरत श्रमिकको दैनिक ५ सय रुपैयाँ ज्याला छ । बगानमा साप्ताहिक रुपमा प्रत्येक शुक्रबार ज्याला वितरण गर्ने चलन छ । तर, श्रमिकले फागुन २ गते यताको पारिश्रमिक पाएका छैनन् । श्रमिकले आगामी शुक्रबारसम्म पनि ज्याला नपाए शनिबार बैठक बसेर आन्दोलनमा जाने चेतावनी दिएका छन् । बगान मालिकसंग पैंसा नभएकाले श्रमिकलाई ज्याला वितरण गर्न नसकेको बगानका निमित्त प्रबन्धक शन्तकुमार राईले बताए । उनले बगानबाट चिया पत्ति उत्पादन राम्रो नभएकाले श्रमिकलाई ज्याला दिन समस्या भएको बताए । श्रमिकले ज्याला नपाएको विषयमा भोलि (बिहीबार) श्रम कार्यालयमार्फत बुझ्ने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । उनले भने, ‘श्रमिकले निवेदन दिएका छन् । पत्र पाएलगत्तै लगातार सार्वजनिक विदाहरु परेकाले यो विषयमा प्रक्रिया अगाडि बढाउन सकेको थिइन् । भोलि नै श्रम कार्यालयसंग छलफल गरेर समस्या समाधानमा पहल गर्छु ।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024