गाउँमा रित्तिँदै छन् बस्ती

30 Nov, 2022

रमेशचन्द्र अधिकारी

धनकुटा — डाँडाबाट नियाल्दा बाक्लै बस्ती देखिन्छ । तर, त्यहाँ पुग्दा खण्डहर घर र मानव शून्य छ । खासगरी बसाइँसराइको चरम चपेटा भोग्दै आएका गाउँबस्तीमा सीमित संख्यामा बसोबास रहेका घरआँगनमा छरछिमेकको रिक्तताले सिंगो बस्ती शून्य–शून्य देखिन थालेको छ ।

धनकुटाको चौबीसे तथा छथर जोरपाटी गाउँपालिकाका कैयौं गाउँबस्ती मानवशून्य अवस्थामा पुग्नै लागेका छन् । ती गाउँमा बसाइँ सरेर खाली रहेका सयौं घरमध्ये छिटफुट रूपमा बसोबास गर्दै आएका स्थानीयमा उल्लास छैन । चौबीसे गाउँपालिका ३ र ४ का कुरुलेतेनुपा क्षेत्रमा विगतमा बाक्लो बस्ती रहेका दर्जनौं गाउँ रित्तिइसकेका छन् ।

बाँकी बस्तीमा पनि भुसको आगो सल्किएझैं बसाइँसराइको क्रम बिस्तारै सर्दैछ । २–३ पुस्तादेखि बस्दै आएको गाउँघरलाई पछिल्लो पुस्ताले चटक्कै त्याग्दैछ । साविकको कुरुलेतेनुपा गाविसको गैरिगाउँ, बाजथला, ठूलागाउँ पूरै खाली भइसक्यो भने पनि हुन्छ । ठूलागाउँका २२ मध्ये ३ घरबाहेक सबै खाली भइसके ।डाँडागाउँमा २६ मध्ये २ र अँधेरीका २० घरमध्ये स्थानीय गोपाल परियार मात्रै एक्लै बस्दै आएका छन् । अन्य सबै घर रित्तै छ ।

काफ्लेगाउँ पनि खाली नै छ । तेनुपामा ५० मध्ये ५ घरमा मात्र मानिस बस्दै आएको स्थानीय किरण अधिकारी बताए । दशक अघिसम्म गाउँमा टोलैपिच्छे लिंगे पिङ, रोटेपिङ हालेर दसैंमा रौनक छाउने गरे पनि अहिले त्यस्तो नभएको स्थानीय बालानन्द अधिकारीले स्मरण सुनाए । गाउँका छरछिमेक नभएपछि विरक्त नै लाग्ने उनी सुनाउँछन् । ‘भोट माग्न आउने उम्मेदवार पनि हरेक चुनावमा मात्र गाउँ आइपुग्छन्,’ उनले भने, ‘बसाइँ सरेका फर्केर गाउँमा आउने वातावरण भए फेरी खुसी फिर्ता आउन सक्थ्यो कि, हाम्रो सुनुवाइ नै हुँदैन ।’

चौबीसे गाउँपालिकाअन्तर्गत साविकको कुरुलेतेनुपा गाविसमा बसाइँ सर्नेको अवस्था यति भयावह छ कि, कैयौं गाउ‘बस्ती शून्य बनिसकेको छ । त्यहॉ पुग्ने जोकोहीलाई विगतमा बाक्लो बस्ती थियो भन्ने खण्डहर बनेका रित्ता घरले मात्र प्रमाणित गर्दछ । कैयौं घर भत्किएका छन् त केही सग्ला घरको ढोकामा ताला लागेको छ । अधिकांश फुसले छाएका घर भएकोले सहजै भत्किन थालेका छन् ।

पछिल्लो केही वर्षभित्र बसाइँसराइको लहरले अधिकांश बस्ती शून्य बन्दै गएको गाउँपालिकाको कार्यालयमा रहेको तथ्यांकले पुष्टि गर्दछ । खासगरी २०६३ देखि बसाइँ सर्नेको क्रम चुलिँदै गएर अघिल्लो वर्षसम्म भयावह अवस्थामा पुगेको स्थानीय गोपिकृष्ण भण्डारीले बताए । उनले सबैजसो बस्तीमा उल्लास भित्रिन नसकेको बताए । ‘खानेपानीको चरम समस्या र सेवा सुविधाबाट टाढिँदै गएपछि बसाइँसराइ बाढीझैं उर्लियो,’ भण्डारीले भने, ‘यसलाई रोक्न खास योजनासमेत प्रभावकारी नहुँदा हामी चिन्तित बनेका छौं ।’

चौबीसे गाउँपालिका ३ र ४ वडामा समेटिएको कुरुलेतेनुपामा हालसम्म तीन सय बढी परिवार विस्थापित भइसकेको पालिका अध्यक्ष राजकुमार चेम्जोङ बताउँछन् । बसाइँसराइले कुनै गाउ‘बस्ती अछुतो छैन । सबैभन्दा बढी यसको असर ठूला गाउँमा मानव शून्यको अवस्थामा छ । बाजथला क्षेत्र पनि खाली बन्दै गएको छ । अँधेरी गाउँका अधिकांश घर रित्ता छन् । अन्य प्रभावित गाउँमा पनि ९० प्रतिशत बस्ती शून्य रहेको छ । गाउ‘पालिकाको कार्यालयमा रहेको बसाइँसराइको दर्ता किताबका पाना भरिने अवस्था रहेको गाउ‘पालिका प्रमुख चेम्जोङले बताए । तर बसाइँसराइ रोक्ने केही प्रयास थालिएको उनी बताउँछन् ।

‘बसाइँसराइ रोक्ने प्रयासमा खानेपानीको योजनासमेत सञ्चालनमा आउन लागेको छ,’ उनले भने, ‘सडक, स्वास्थ्यजस्ता पूर्वाधार जारी रहेकोले कुनै पनि बेला बाहिर गएका फेरि गाउँ फर्कने आशामा छौं ।’ लागर्से मुहानदेखि बन्दुकेडाँडासम्म लिफ्ट प्रणालीबाट खानेपानी योजनाको काम अन्तिम चरणमा रहेको उनले बताए । खानेपानी योजनाबाट बसाइँसराइबाट पिरोलिएको कुरुलेतेनुपाबासीलाई राहत मिल्ने दाबी गर्छन् । यस्तै मौनाबुधुक–५ र कुरुलेतेनुपा–२ जोड्ने जरुवा खोला दोभानमा पक्की पुल निर्माण कार्य भएपछि यातायात सञ्चालनमा समेत सघाउ पुग्ने बताए ।

बसाइँ जानेको तथ्यांक १ सय ९८ पुगिसकेको छ । तर जानकारी नगराई जानेको संख्या झन्डै दोब्बरको नजिक पुगेको गाउ‘पालिका स्रोतले जनाएको छ । कुल ८ सय ८६ घर मध्ये आधामा बसाइँसराईको प्रभाव परेको छ । झुरुप्प बसेका सिंगो गाउँ नै सल्लाह गरेर गए जस्तै देखिएको स्थानीय टेकप्रसाद भण्डारीले बताए । बसाइँ जानेमध्ये अधिकांश धनकुटा बजारआसपास तथा तराईका झापा, सुनसरी र मोरङ जिल्लामा जाने गरेका छन् ।

यसैगरी छथर जोरपाटी गाउँपालिका–४ तेलिया गाउँमा पनि उस्तै प्रकारको अवस्था छ । साविकको तेलिया गाउँ विकास समितिको २, ५ र ६ वडामा बसाइँसराइको चरम समस्या छ । त्यहाँ रहेका करिब डेढ सय घरधुरीमध्ये हाल ३१ घर मात्र रहेका छन् । स्थानीय मार्सेमा रहेका ६५ मध्ये १०, पिप्लेमा १५ मा ४, कर्कलेमा १२ मध्ये २, फडिरेमा १० मा सबै घर र गुठमा ४५ मध्ये १५ घट मात्र बाँकी रहेका छन् ।

२०४५ सालपछि ती स्थानबाट मानिस बसाइँ सर्ने क्रम बढेको पालिकाका सामाजिक परिचालक शंकर ओझाले बताए । पानीको मुहान सुक्दै गएपछि खानेपानीको वैकल्पिक व्यवस्था नहुनु र उत्पादन गरिएका वस्तु बिक्री गर्ने बजार टाढा हुनु तथा विद्यालय, भौतिक पूर्वाधारका विकास पुग्न नसक्दा बसाइँ सर्नेको लहर उर्लिएको ओझाको तर्क छ । गाउँमा बसाइँ सरेर आउनेका लागि पालिकाले दुहुनो गाई दिने कार्यक्रमसमेत अघि सारेको छ । तर, प्रभावकारी बन्न सकेको छैन ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024