गाउँजस्ता गाउँ खै ?

21 Feb, 2025

गोरखाको सहिद लखन गाउँपालिकाको पुरानो गाउँमा ३६ वटा घर छन् । जहाँ ३० जना मात्रै बसोबास गर्छन् । अर्थात्, घरसंख्याभन्दा जनसंख्या कम छ । यस्तै, सोही गाउँपालिकाको सानो दिप्लिङ र ठूलो दिप्लिङको अवस्था त अझ नाजुक छ । जहाँ युवायुवतीमात्र होइन, बालबालिका पनि देख्न पाइँदैन ।

तर, ती गाउँमा बालबालिका नभएका होइनन्, सबै जना गाउँ नजिकको सहरमा पढ्न बसेका छन् । गाउँका युवा जति विदेश छन् । महिलाहरू छोराछोरी पढाउन सहरमा डेरा लिएर बसेका छन् । गाउँमा छन् त केवल वृद्धवृद्धामात्रै । गोरखाका यी गाउँ त उदाहरण मात्रै हुन् । आज हरेक गाउँ रित्तिँदै गएका छन् । जन्ती र मलामी पाउनै गाह्रो भइरहेको छ । वृद्धवृद्धाले गाउँ धानेका छन् ।

कुनै बेला गाउँ यस्ता थिए– बालबालिका, युवायुवती र वृद्धवृद्धाले भरिभराउ हुन्थे । अर्मपर्मले दैनिकी चल्थ्यो । सुख, दुःख साटासाट हुन्थे । कुनै भोजभतेर वा चाडवाड आयो कि, गाउँको रौनक अर्कै हुन्थ्यो । ठूलाको सम्मान, सानालाई माया, गाउँले जीवन नै बेग्लै हुन्थ्यो । तर, आज गाउँगाउँ जस्ता रहेनन् । कोही दुःखी बिरामी भए, अस्पतालसम्म लगिदिने कोही छैनन् । ज्यान गइहाले मलामी गइदिने छैनन् । दुःख परे, सुनिदिने÷सहयोग गरिदिने कोही छैन । बाहिरबाट घरै घर देखिन्छन्, तर बस्ने मान्छे छैनन्, गाउँ रित्ता र सुनसान छन् ।

युवायुवती त परको कुरा, बालबालिका पनि गाउँमा देख्न मुस्किल हुन थाल्यो । गाउँमा विकास त पुग्यो, तर रोजगारी नभएको भन्दै युवाहरू विदेशतिर लागे । छोराछोरी सहरमै पढाउनुपर्छ भन्ने भाष्यको विकास भयो । गाउँ बस्नेलाई ‘सहरिया मानसिकता’ ले गिज्याउन थाल्यो । गाउँमा भएका वृद्धवृद्धाका दुःखका कथा सुनिसाध्य छैनन । ज्येष्ठ नागरिक बिरामी परे, दुःख परे, आपत् आइलागे, सुनिदिने, बुझिदिने र समाधान गरिदिने कोही पनि गाउँमा छैनन् । त्यसैकारण, नयाँ पुस्ताले सुख र सुरक्षित भविष्यको खोजी गर्दा, पुरानो पुस्ता झनै पीडित बन्दै गएको छ ।

त्यसैले गाउँमा अब विकास मात्र होइन, त्यससँगै रोजगारी र अवसर सिर्जना गर्नुपर्छ । गाउँमा बस्नेलाई हेयको दृष्टिकोणले होइन, अवसर दिनुपर्छ । शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर गाउँमै सर्वसुलभ र प्रभावकारी बनाउन सके गाउँ फेरि हराभरा बन्न सक्छन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024