गहुँ बोटमै सुकेपछि भोकमरी टार्न भारततर्फ

24 Apr, 2024

कालीकोट वैशाख १२ गते । खडेरीले गहुँ वाली बोटमै सुक्न थालेपछि कर्णालीका जिल्लाहरूमा भोकमरीको सामना गर्नु पर्ने देखिएको छ । गत असोज देखि खासै पानी परेन । कहिले काहीँ पर्ने पानीले सुख्खा क्षेत्रमा छरिएको गहुँलाई खासै सिचाई पुगेन । सिचाई अभाव भई रहेका क्षेत्रमा पाक्दै गरेको गहुँ बोटमै सुक्न सुरु गरेको छ । फागुन महिनामा कहिले काहीँ पर्ने पानीले गहुँका बाला (फल) लागेको थियो ।

तर चैत लागे यता पानीको छिटा सम्म नपरेकाले गहुँका बाला(फल) बोटमै सुक्न थालेपछि किसान चिन्तित भएका छन् । रास्कोट नगरपालिका वडा नं ९ का सङ्कर प्रसाद बरालले बोटमै गहुँ सुक्न थालेपछि किसानमा छटपटाहट हुन थालेको बताउनुभयो । पानी पार्नका लागि रात भरी भजनकृर्तन (खहरात्री) गर्ने चलन पनि अहिले छैन । गहुँको फल दुध जमेको बारीमा भने किसानले काँचै भए पनि भित्राउन थालेका छन् ।

बरालले केही किसान भने पानी परेमा गहुँका बोट फर्किन्छ की भनेर प्रतीक्षा गरिरहेको सुनाउनुभयो । राम्रो सिचाई छैन । पाखो बारीमा न सिचाई छ, न पानी पर्छ उसै सुकेर खर जस्तै भएका छन् । सिचाई हुने खेतमा पनि पानी नपरेका कारणले मूलको पानी सुकेको छ । खडेरीमा सानो पानीले सिचाई नहुने, मुहान सुकेकाले खोलामा पानी छैन । उसै पनि खेतका गहुँ सुक्ने भएपछि कृषकहरू त्रासमा छन् ।

केही उपाय नभएकाले केही किसान घरपरिवारको पेट पाल्नका लागि भारत तिर जान थालेका छन् भने केही किसान दैनिक आकाशमा हेदैँ दिन बिताई रहेका छन् । रास्कोट २ का कविराज जैसीले गाउँमा रोजगारी नभएको र बारीको गहुँ सुकेर बोटमै हराएपछि परिवारको पेट पाल्न दुई महिना भए पनि भारत तर्फ जान लागेको बताउनुभयो । शनिवार जिते बसपार्कमा भेटिनु भएका जैसीले असारको अन्तिम तिर पानी परेमा रोपाई गर्नका लागि आउनु पर्ला, पानी परेन भने आएर पनि केही काम नहुने भन्दै आफू लगायत धेरै यो समयमा भारत जान बाध्य भएको सुनाउनुभयो ।

रोजगारीका लागि भारत गएका नागरिक घर फिर्ता हुने समय हो । तर खेतबारीमा लगाएको गहुँ खडेरीले सुकेका कारणले घरमा बसेर के खाने भन्दै भारत जानु पर्ने बाध्यता भएको जैसीसँगै भेटिनु भएका पालाँता ९ का भैरे साकीको भनाई छ । मङसिरमा गहुँ छरेर नैनीताल गएको थिए । अस्ति चैतको १२ गते घर पुगे । गाउँमा केही छैन । सबै खडेरीले खाएकाले बसेर के गर्नु । त्यसैले फेरी भारत गएर दुई महिना भए पनि खाद्य किन्ने रुपियाँ होस भनेर जान लागेको सुनाउनुभयो । यस्ता समस्या कालीकोटका सबै गाउँ बस्तीमा छ ।

सिचाइका लागि स्थानीय सरकारले कुलाको व्यवस्थापन नगर्नु, जथाभाबी सडक निमार्ण गर्ने भन्दै एक्स्काभेटर (डोजर) लगाउनुले पानीका मुहान पनि अन्यत्र सर्ने भएकाले साबिकका मुहानमा पानी छैन । पानीका श्रोत बन्द हुँदा खोलामा पनि पानी नबग्ने गरेकाले सिचाई कुला भएका ठाउँमा पनि किसानले सिचाई गर्न पाएका छैनन् । यस्तो समस्याको समाधान तर्फ सरकारको खासै चासो छैन । जलवायु तथा वातावरणको क्षेत्रमा लामो अनुभव समाल्नु भएका राष्ट्रिय योजना आयोगका पूर्व सदस्य मीनबहादुर शाहीले जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्न स्थानीय सरकारले विशेष ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले पानीका मूलको संरक्षण, बोटबिरुवाको सुरक्षा, कतिपय स्थानमा आरसिसी पोखरीको निमार्ण गर्न सके मात्र खडेरीसँग अनुकूलन हुन सक्ने सुझाव दिनुभयो ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024