गड्डाचौकी हुँदै सिमला

17 Jul, 2023

कञ्चनपुर — उत्तर भारतको हिमाञ्चल र उत्तराखण्डको जनजीवन बाढीपहिरोले कष्टकर बनेको छ । यतिबेला नै तराईमा रोपाइँ सकेर नेपालीहरू कामको खोजीमा त्यतै गइरहेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार हिमाचलमा गत साता भीषण वर्षापछिको बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ । जोखिमकै बीच सुदूरपश्चिम र कर्णालीको मौसमी रोजगारीको प्रमुख गन्तव्य हिमाचल र उत्तराखण्डको पहाडी क्षेत्र पस्नेको दैनिक भीड बढेको छ ।

३२ वर्षदेखि हिमाचलमा रोजगारी गर्दै आएका बर्दिया भुरीगाउँका ५२ वर्षीय लक्ष्मण खड्का शुक्रबार गड्डाचौकी नाका हुँदै भारत पसे । खेतीपातीको काम सकेर साथीभाइसँगै सिमला हिँडेका उनीसँग आफ्नै उमेरका तीन साथी पनि थिए । हिमाचलको स्याउ टिप्ने र बाढीपहिरोले भत्केको सडक मर्मतको काम पाउने आसमा उनीहरू सिमला हिँडेका हुन् । गहुँबाली भित्र्याउन र नयाँ वर्ष मनाउन गत चैतमा घर फर्केका उनी रोपाइँ सकेर कामको खोजीमा हिँडेका हुन् । अब उनी असोजमा दसैं मनाउन फर्किनेछन् ।

शुक्रबार साँझ सीमावर्ती बजार वनबासाबाट बस चढेका उनले शनिबार बिहान सिमला पुगिने बताए । ‘उता बाढीपहिरोले सबै तहसनहस गरेको सुनिन्छ,’ खड्काले भने, ‘जे भए पनि घरमा बसेर के गर्नु, अलिअलि काम गरेर घर खर्च त चलाउनुपर्‍यो ।’ सिमलामा रहेका साथीहरूले अवस्था सुधार हॅुँदै गएको जानकारी दिएपछि जान लागेको उनले बताए । ‘सँगैका साथी जहान परिवारसहित बसेका छन्, बाढीले धेरै तहसनहस गरेको भनिरहेका छन्,’ बर्दिया भुरीगाउँकै धीरबहादुर खड्काले भने, ‘अब स्याउ टिप्न काम खोज्नेको तँछाडमछाड हुने बेला हो । ढिलो गए काम नपाइने समस्या हुन्छ ।’ असोजसम्म स्याउ टिप्न भ्याइनभ्याइ हुने गरेका उनी बताउँछन् ।

नयाँ वर्ष मनाउन घर फर्किएकाहरू अहिले रोपाइँ सकेर रोजगारी खोज्दै उत्तराखण्ड र हिमाचलतिर जाँदै छन् । उनीहरूको भीड गड्डाचौकी नाकामा दिनहुँ देखिन्छ । सुदूरपश्चिमसँगै लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश कामदारहरू यही बाटो भारत पस्छन् । रोपाइँ सकिएपछि साउन पहिलो सातादेखि कामको खोजीमा भारत पस्नेको चाप अझै बढ्छ । पछिल्ला वर्ष थारू बस्तीहरूबाट युवा उत्तराखण्ड र हिमाचलका पहाडी क्षेत्रमा काम खोज्दै पुग्न थालेका छन् । उक्त क्षेत्रमा भारी बोक्ने, सडक तथा भवन निर्माण र स्याउ टिप्ने काम पाइन्छ । यसबाहेक कतिपयले होटलमा पनि काम पाउँछन् ।

नियमित रूपमा स्याउ टिप्न जानेलाई अहिले मालिकले नै फोन गरेर बोलाउने गरेका छन् । कोरोना संक्रमणका बेला स्याउ बगानका मालिक नाकामै पुगेर कामदार लगेर गएका थिए । अहिले पनि बाढी पहिरोले तहसनहस भएका बेला स्याउ टिप्ने र ढुवानी गर्ने काम धेरै पाउने नेपाली कामदारको आशा छ । सिमलामा सडक निर्माणको काम पनि धेरै पाउने उनीहरू बताउँछन् ।

यस पटक बाढीले धेरै सडक बगाएका कारण अझ बढी काम पाइने उनीहरू बताउँछन् । ‘स्याउ टिप्ने काम सुरु भइसक्यो, चाँडो आउनुस् भनेर साथीले बोलाएको छ,’ कैलाली लम्कीका दीपक चौधरीले भने, ‘त्यही भएर हतारहतार रोपाइँ सकेर जान लाग्यौं ।’

उनीहरू ठूलो समूहमा सिमला जान लागेका हुन् । कतिपय नियमित जान लागेका छन् भने केही पहिलो पटक पनि गइरहेका पनि छन् । सिमलामा विगतमा स्याउ टिप्नेदेखि ग्रेडिङ र ढुवानी गर्ने काम सबै कामदारबाटै हुन्थ्यो । तर अहिले टिपेको स्याउ ग्रेडिङको काम मेसिनबाट हुन थालेको छ । टिप्ने र ढुवानीको काम मात्रै पाइन्छ । स्याउ टिप्दा वा ढुवानी गर्दा दिनको ४/५ सय भारु ज्याला पाइन्छ ।

अहिले सिमला गएकाहरू असोज–कात्तिकमा दसैंतिहार मान्न घर फर्कन्छन् । घर फर्किंदा धेरैले मालिकले उपहार दिएको स्याउको पेटी बोकेर आउँछन् । यसरी वर्षौंदेखि नेपाली कामदारको पटके र लामो समयको रोजगारी चलिरहेको छ ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024