खाडी जाने श्रमिकलाई अभिमुखीकरण दिने संस्थाले युरोप जानेलाई दिन नपाउने

27 Sep, 2024

अब वैदेशिक रोजगारीमा मलेसिया खाडी लगायत मुलुक जाने श्रमिकलाई अभिमुखीकरण दिने संस्थाले युरोप लगायत अन्य मुलुक जाने श्रमिकलाई अभिमुखीकरण तालिम दिन नपाउने भएका छन्।

वैदेशिक रोजगार विभागले देशगत क्लस्टर लागू गर्ने भएको हो।

विभागले सूचना जारी गर्दै देशगत क्लस्टर अनुसार तालिम सञ्चालन गर्न गत साउन २९ गते मन्त्रिस्तरीय निर्णय भएको जनाएको छ।

उक्त मन्त्रिस्तरीय निर्णयपछि विभागले फेरि असोज ८ गते उक्त व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

यो निर्णय भएसँगै कतिपय व्यवसायीले सरकारले सिण्डिकेट लाद्न खोजेको बताएका छन्।

‘एउटै व्यक्तिले विभिन्न व्यक्तिका नाममा सात वटासम्म तालिम प्रदायक संस्था चलाएका छन्। उनीहरूलाई हेरेर सरकारले यस्तो निर्णय गरेको जस्तो देखिन्छ। उनीहरूलाई त सजिलो हुने भयो। तर, हामी जस्ता एउटा मात्रै तालिम केन्द्र भएकालाई असहज भयो,’ वैदेशिक रोजगर विभागमा भेटिएका एक व्यवसायीले भने।

त्यसमाथि मलेसिया जानेलाई तालिम दिनेले अरू खाडी मुलुकमा जानेलाई तालिम दिन नपाउने व्यवस्था ल्याएकाले असहज भएको उनले बताए।

‘अहिले त मलेसिया पूरै बन्द छ। अनि मलेसिया जानेलाई तालिम दिन्छु भन्नेहरू त सुक्ने भएन?,’ उनले भने।

त्यसैगरी, विभागले अबदेखि फेसटाइम एटेन्डेन्स एण्ड आइरिस रेकोनाइजेसन सिस्टम पनि लागू गर्ने भएको छ।

वैदेशिक रोजगारीमा जाने युवाहरूलाई तालिम नै नदिई पठाउने गरेको गुनासो बढेपछि सरकारले आइरिस सिस्टमको व्यवस्था गर्ने भएको हो।

आइरिस प्रणाली राखेपछि सम्बन्धित व्यक्ति उपस्थित भएपछि मात्रै हाजिरी हुने हुँदा छलछाम नहुने विश्वास गरिएको छ।

यो प्रणालीलाई व्यवस्थित तरिकाले कार्यान्वयनका लागि अनुगमन समेत हुनुपर्ने उल्लेख गरिएको छ।

तर, कतैबाट निगरानी नहुने हो भने यसमा पनि समस्या देखिने गुनासो छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024