खाडीमा भेटौंला…!

2 May, 2023

यमुना पराजुली अधिकारी

प्रसंग एक : ‘खाडीमा भेटौंला, युरोप यात्रा सफल रहोस्, वैदेशिक यात्रा सफल रहोस्। यी वाक्यहरू उमेर पुगिसकेका परिपक्व मानिसले भनेका होइनन्। स्कुले पढाइ भर्खरै सकेर कलेज यात्रा आरम्भ गर्न लागेका नाबालिग भाइबहिनीको लेखाइ हो। उनीहरूले स्कुलको अन्तिम दिन आआफ्ना सर्टमा कोरिएका भावना हुन्। जुन तस्बिर सामाजिक सञ्जालमा अहिले भाइरल छ। मुटु नै कटक्क काटिने यो तस्बिरमा मानिसले सरकार र देशको सिस्टमलाई गाली गरिरहेछन् त कहिले ब्यंग्यसमेत गरेका छन्।

प्रसंग दुई : वर्षदिन अगाडि आफन्त पर्ने भाइले आत्महत्या गरे। पढाइमा अब्बल अनि बानी व्यवहारमा उत्तिकै असल उनले त्यस्तो बाटो किन रोजे ? सुरुमा सबै छक्क पर्‍यौं। बुझ्दै जाँदा ऊ केही महिनादेखि विदेश जाने चक्करमा रहेछन्। भनेजस्तो ठाउँमा जान नसकेपछि तनावमा परेछन्। घरमा पनि विदेश जान पर्दैन। पढाइ सकेर यतै सानोतिनो जागिर खानु भनिएको रहेछ। तर, विदेश नगई नछोड्ने मनस्थिति परिवारको सल्लाह बेकार लाग्न थालिसकेको रहेछ। तनावग्रस्त र झर्काेफर्काे गर्ने स्वभाव बढ्दै जाँदा विदेशको चक्करले एउटा जीवन सखाप भयो।

प्रसंग तीन : पूर्वतिर राम्रो व्यापार व्यवसाय गरिरहेका साथीले एकदिन फोन गरे र काठमाडौं आएको कुरा बताए। ‘कहिले आयौं ?

कहिले फर्किन्छौं ?’ अकमकाउँदै भने, ‘विदेश जान आएको। सबै मिलाउँदैछु। हेरौं कति दिन लाग्छ ?’ छक्क पर्दै भनेँ, ‘त्यस्तो राम्रो बिजनेस गरेर बसेको मान्छे किन जानुपर्‍यो विदेश ?’ दिक्क मान्दै उनी बोले, ‘यहाँ गरेर खाने वातावरण छ र ? यहाँ त कमिसनखोर, फटाहा, जाली, भ्रष्टाचारीले मात्रै राज गर्छन्। हामीजस्ता गरिखानेका लागि यो देश होइन। न हाम्रो यहाँ कुनै इज्जत छ न कोही सहारा छ।’

लगातार बोलिरहे उनी– कत्रो–कत्रो उद्योगधन्दा चलाएर बस्नेहरूले वर्षाैं कर नतिर्दा केही हुँदैन। खुलेआम आफ्नो व्यवसाय गरिरहेका हुन्छन्। हामीजस्तो ८-१० लाखको कारोबार गर्नेहरूले केही दिन कर तिर्न ढिला गरे पसलमै चाबी लगाउने धम्की आउँछ। रातदिन नभनी, भोकतिर्खा नभनी काम गरेर कमाएको पैसा टोले गुण्डा आएर थर्काएर लैजान्छ। शिक्षा यति महँगो छ कि बालबच्चा पढाउन स्कुलमा भर्ना गर्न सक्ने क्षमता छैन। जति छाला घोटे पनि यहाँ केही होला जस्तो लागेन। ऊ एकोहोरो बोल्दै थियो, सुनिरहें। मसँग उसलाई सम्झाउने र भन्ने कुनै जवाफ थिएन। केही महिनासम्म देशमै केही गर्नुपर्छ, अवसरहरू कति छन् कति ? भन्ने साथीको यो रूप देखेर वास्तवमै शून्य भएकी थिएँ।

प्रसंग चार : मिडियामा काम गर्ने मित्रले फोनमा भनिरहन्छन्– लौन बाहिर जानुपर्‍यो। तपाईंको त जनसम्पर्क धेरै छ, भनसुन गराइदिनुस्। भन्छु– ‘काम गरिरहेको मिडियामा राम्रो तलब छ सुविधा पनि राम्रै छजस्तो लाग्छ। किन जानुपर्‍यो विदेश ? जानुपर्दैन चुपचाप बस्नु, काम गर्नु नि !’ उनी सधैं भन्छन्, ‘यहाँ बसेर केही हुँदैन।’ तर, एकदिन उनले भनेको वाक्यले मलाई चुप गराइदियो। उनले निकै आक्रोशित हुँदै भने, ‘ल ठीक छ, मेरो तलब राम्रै छ तर काठमाडौंको महँगी, कोठा भाडा, छोराछोरीको फि, यति गर्दा मेरो बचत कति होला ? शून्य हुन्छ। म शून्य बचतमा बाँचिरहेछु। यस्तो अवस्थामा परिवारमा कसैलाई ठूलै रोग लाग्यो भने कसरी उपचार गराउने ?

उनको तर्कले सोचनीय बनायो। उनी भनिरहे, सरकारी अस्पतालमा राम्रो उपचार नै पाइँदैन। प्राइभेट अस्पताल कति महँगा छन् तपाईंलाई थाहै छ। सरकारले उपचारमा सहयोग गर्छ त्यतिबेला मलाई ? हुनेले त घरजग्गा पनि बेच्लान् तर नहुनेले यत्तिकै त मर्नु पर्छ। विदेश छिर्न पाइयो भने कम से कम स्वास्थ्य र शिक्षाको त ग्यारेन्टी छ। स्वास्थ्य र शिक्षा पहिलो प्राथमिकतामा पर्छन्। तर, यी दुई नै हाम्रो देशमा छोइनसक्नुका महँगा छन्। हो, विदेशमा धेरै काम गर्नुपर्ला, घोटिनु पर्ला तर निदाउन त पाइन्छ नि ! भोलि के गरेर टारौंला भन्ने त हुँदैन नि ! यसमा भने कुनै जवाफ दिन सकिनँ।

दस पास गर्दै गरेका कलिला बालबालिका हुन् या उमेर पुगेर परिपक्क भइसकेका, सबैलाई विदेश मोह छ। आखिर किन ? प्रसंग एक र दुईका जवाफ प्रसंग तीन र चारले दिइसकेका छन्। मानिस सामाजिक प्राणी हो। ऊ आफ्नो समुदाय र परिवार छोडेर मनमा खुसी लिँदै समुद्र पार गरेर पक्कै जान चाहँदैन। उसलाई पनि आफ्नासँगै बस्न र रमाउन पक्कै मन पर्छ। तर, जब तिनै आफ्नाको भविष्यले पिरोल्न थाल्छ अनि ऊ नचाहँदा–नचाहँदै सात समुद्र र सात डाँडा काट्न बाध्य बन्छ। जसमा हामीले किन ? भनेर प्रश्न गर्न सक्ने कुनै बाटा हुँदैैनन्।

केही वर्ष अगाडिसम्म बाबुआमाहरू छोराछोरी विदेश पठाउँदा गर्व गर्थे। भन्थे, ‘मेरो छोरो मेरो छोरी फलानो ठाउँमा छन्। तर, अहिले अधिकांश बाबुआमालाई सन्तान विदेश पठाउन मन छैन। देशमै बसेर केही गरून् भन्ने छ। तर, यो देशमा के गर्लान् उनीहरूले ? खोइ अवसर ? म पनि छोरालाई विदेश जानु हुँदैन यहीँ बसेर केही गर्नुपर्छ भन्छु। तर, उसले हजुरले भनेको ‘केही’ चाहिँ के हो ? भन्द्र प्रतिप्रश्न गर्छ।

भन्छ, मैले पढेको विषयका लागि उपयुक्त अवसर छ त ? मेरो भविष्य यहाँ सुरक्षित छ ? भनेर सोध्यो भने मैले के जवाफ दिने ?

म र म जस्ता कैयौं अभिभावकको प्रश्न हो यो। यसको उत्तर हामीले कता गएर खोज्ने? खाडी, युरोप, वैदेशिक रोजगार भन्ने मानसिकताबाट हामीले सन्तानलाई कसरी जोगाउने ?

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024