खाडीमा भेटिन्छन् आजका ‘मुना’हरू

19 Mar, 2024

महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालजयी कृति ‘मुनामदन’का मुख्य पात्र मदन कमाउन भोट (हाल चीनको तिब्बत) गएको काव्यकथा फेरि नयाँ ढंगले लेख्नुपर्ने भएको छ। अब मदन भोट होइन खाडी मुलुक जान्छन्। र, यो जिम्मेवारी अब मदनको मात्र होइन, मुनाको पनि हो।

प्रियजनसँग बिछोडिँदाको पीडा मनमा राखी विदेश जाने मुनाहरूको संख्या अचेल दैनिक बढिरहेको छ। छोरीले घरबाट निस्किन हुन्न, ठुलो स्वरमा हाँस्न वा कुरा गर्न हुन्न भन्ने रूढीवादी मान्यतालाई अहिलेका पुस्ताले चिरिरहेका छन्। केही वर्षयता नेपालमा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या निकै बढेको छ।

नेपालबाट श्रम स्वीकृति लिएर जाने संख्या बढेबाट यसको पुष्टि हुन्छ। महिलाहरूले घरको काममा मात्रै सीमित हुनुपर्छ, घरपरिवारलाई हेर्नुपर्छ र पुरुषले कमाएर ल्याउनुपर्छ भन्ने पुरानो मान्यता भत्किन थालेको छ। महिलाले विदेशमा गएर पुरुषले भन्दा बढ्ता जिम्मेवारीबोध गरी कमाएर फर्कने गरेको देखिन थालेको छ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार ३२७ जनाले विदेशमा रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। श्रम स्वीकृति लिएकामध्ये ७२ हजार १३४ महिला बिदेसिएका छन्।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ४ लाख ५ हजार ५५८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएकामा ५२ हजार २६७ जना महिला छन्।

वैदेशिक रोजगारीका निम्ति महिलाले विशेष गरी मलेसिया, खाडी मुलुकसँगै जोर्डन, ओमान, बहराइन, कुवेत, रोमानियालगायत देशलाई मुख्य गन्तव्य बनाएका छन्। उनीहरूलाई घरेलु कामका साथै हाउस किपिङ, गार्मेन्टलगायत क्षेत्रमा काम लगाउने गरिएको विभागले जनाएको छ।

पछिल्ला चार वर्षको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जाने महिलाको संख्या अकासिएको छ। आर्थिक वर्ष २०७७/७८ मा ११ हजार ४५६ महिला वैदेशिक रोजगारीमा विभिन्न देश गएका थिए।

आव २०७८/७९ मा त्यो संख्या करिब ५ गुणाले बढेको देखिन्छ। अर्थात् उक्त आवमा ४९ हजार १२८ जना महिला नेपालबाट श्रम स्वीकृति लिएर बिदेसिएका थिए। त्यसैगरी गत आव २०७९/८० मा बिदेसिने महिला ७२ हजार १३४ जना छन्।

यसरी महिला बिदेसिनुको एक कारण महिला आत्मनिर्भर हुनुपर्छ भन्ने चेतना बढ्नु पनि हो। सुनसरीकी एक महिला रोजगारीका लागि केही महिनादेखि बिदेसिने तयारीमा छिन्। स्वदेशमा जति मेहनत गर्दा पनि गुजारा चलाउन नसकेपछि वैदेशिक रोजगारीलाई चुन्न बाध्य भएको उनले बताइन्।

पतिले अत्यधिक मदिरा सेवन गरे घरझगडा निम्त्याएकै कारण छोराको भविष्य सोचेर बिदेसिन लागेको उनले बताइन्। ‘सकभर छोराछोरी छाडेर रोजगारीका लागि विदेश जान नपरोस् भन्ने लागेको थियो,’ उनले भनिन्, ‘घरमा रहँदा सामान्य खर्चको जोहोसमेत गर्न नसकेपछि वैदेशिक रोजगारी एक मात्र विकल्प बन्यो,’ दुबई जाने तयारीमा रहेकी उनले भनिन्।

पछिल्लो समय महिलाहरू आर्थिक संकट टार्न वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ। केही वर्षअघिसम्म पराई पुरुषसँग बोल्नसमेत लजाउने महिलाहरू यतिखेर धमाधम वैदेशिक रोजगारीमा जाने र कमाइ गर्ने क्रममा छन्।

समाजशास्त्री तथा श्रमविज्ञ गणेश गुरुङका अनुसार वैदेशिक रोजगारी दिनप्रतिदिन फस्टाउनुको कारण महिला पनि हुन्। एक महिला विदेश जाँदा अर्कालाई पनि रहर लाग्नु मानवीय स्वभाव हो। पहिला एकाध घरका महिला वैदेशिक रोजगारीमा जाने गरेका थिए।

अहिले एउटै घरका एकभन्दा बढी महिलाहरू विदेश जाने गरेका छन्। ‘समाजका हिजोका साँघुरा दृष्टिकोण तोड्दै जोसुकैले जेसुकै भनोस् भनेर आफ्नो खुसी र भविष्य हेर्दै विदेश जाने महिला धेरै छ,’ गुरुङले नागरिकसँग भने, ‘खाडी मुलुकमा घरेलु कामदारको अत्यधिक माग रहेकाले बिदेसिने महिला कामदार संख्या बढेको हो।’

पहिला कमाइ गर्न घरबाट बाहिर जाने जिम्मेवारी पुरुषको मात्र हो भन्ने थियो भने अहिले सामाजिक मान्यता परिवर्तन हुँदै जाँदा महिला पनि त्यो जिम्मेवारीमा उक्लिएका छन्। ‘अहिले महिला पनि पुरुषसरह कमाउन भनेर घरबाट बाहिर निस्कन थालेका छन्,’ उनले भने, ‘मुलुकभित्र रोजगारीको सम्भावना नभएपछि वैदेशिक रोजगारीमा जाने पुरुषसरह महिला पनि सहभागी भइरहेका छन्।’

मुलुकको आन्तरिक अर्थतन्त्रमा सुधार नहुँदा वैदेशिक रोजगारी सबैको बाध्यता बन्न पुगेको छ। महिलालाई घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जान सरकारले रोक लगाए पनि वैकल्पिक बाटो प्रयोग गरेर जोखिमकै बीच पनि उनीहरू विदेश जाने गरेका छन्। ‘गन्तव्य देशहरूमा बुढाबुढी र बालबालिका हेर्ने मानिसको कमी छ,’ गुरुङले भने, ‘त्यसमा महिला कामदारको निकै माग छ। जति कडाइ भयो, महिलाको जाने क्रम त्यति नै घट्छ र जति खुकुलो हुन्छ, त्यति नै संख्या बढ्दै जान्छ।’

कोरोनाकालपछि नेपालको श्रम गन्तव्य मुलुकहरूको बजार चलायमान हुन थालेकाले पनि वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढेको छ। त्यसमा जाने पुरुषसँगै महिलाको संख्या पनि बढिरहेको हो।

श्रमविज्ञ गुरुङका अनुसार अवैध बाटोको प्रयोग गरेर जाने महिला प्रायः कम पढेलेखेकाहरू छन्। श्रम स्वीकृति लिएर जाने धेरै महिला भने कक्षा १२ उत्तीर्ण छन्। शिक्षा आर्जनपछि स्वदेशमा भोग्नुपर्ने रोजगारी संकटबाट मुक्त हुने अपेक्षा राखेर र समाजका बन्धन तोडेर महिलाहरू वैदेशिक रोजगारीमा जाने गरेका हुन्।

दक्ष महिलाहरू पनि वैदेशिक रोजगारीमा जाने गरेका छन्। विभागको पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार दक्ष भएर वैदेशिक रोजगारीमा जाने महिला पनि छन्। चार वर्षयता उच्च दक्ष महिला ७० जना मात्रै वैदेशिक रोजगारीमा गएका छन्।

त्यस्तै २३३ महिला व्यावसायिक रूपमा काम गर्न वैदेशिक रोजगारीमा गएका हुन्। गत आर्थिक वर्ष मा साइप्रसमा पुरुषको तुलनामा महिला बढी गएका थिए। आर्थिक वर्ष २०७९/८० मा ४ हजार ३४६ महिला रोजगारीका लागि साइप्रस गएका थिए भने पुरुष ९७१ जना। त्यस्तै इजरायलमा समेत पुरुषको तुलनामा महिला बढी गएका छन्। जी–टु–जी प्रक्रियामार्फत लानुअघि नै इजरायले महिला कामदार बढी माग गरेको थियो।

त्यस्तै जोर्डनमा पुरुषको तुलनामा महिला बढी गएका छन्। कुवेतमा समेत उल्लेख्य संख्यामा महिला कामको सिलसिलामा गएका छन्। ओमान, साइबेरीमा समेत धेरै महिला गएका देखिन्छन्। यसकारण भन्न सकिन्छ, अहिले नेपाली ‘मदन’ मात्र होइनन्, ‘मुना’ पनि विदेश गइरहेका छन्। अर्थात्, कमाउने चस्काले महिलालाई पनि पछि पारेको छैन।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024