खाजा घरमा बालिकाको बेचबिखन

29 Aug, 2024

काठमाडौं : काठमाडौंको कोटेश्वरमा रहेको कमलामाई खाजा घर एण्ड गेस्ट हाउसमा बालिकाको बेचबिखन हुने गरेको छ। नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रवक्ता गौतम मिश्रका अनुसार बालिकालाई यौनकार्यमा संलग्न गराउने गेष्ट हाउस सञ्चालक रामेछापका गोरे नेवा खड्की र सिन्धुलीका राजु शाही रहेका छन्।

उनीहरूले सञ्चालन गरेको कमलामाई खाजा घर एण्ड गेस्ट हाउसमा बालिकाहरूलाई सरसफाई गर्ने, भाडा माझ्ने काम छ भनी गेष्ट हाउसमा लैजाने गर्थे। सञ्चालकहरूले बालिकाहरूलाई कोठामा थुनी ललाई फकाई गरी आर्थिक प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाउँथे।

वेश्यावृत्तिको काममा लगाउनका लागि उनीहरूले गेष्ट हाउसमा निश्चित रकम तोकेका थिए। बालिकाहरूलाई शारीरिक सम्पर्क राखेमा प्रति ग्राहक ५ सय दिने भनी प्रलोभन देखाई रकमसमेत नदिई दिनको समयमा ग्राहकसँग शारीरिक सम्पर्क राखेको १५ सय र रातको समयमा ८ हजार लिई जबर्जस्ती वेश्यावृत्तिको काममा लगाउने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ।

प्रहरीका अनुसार अधियुक्तहरूले आफ्नो आफन्त, साथीहरूमार्फत समेत पुरुष ग्राहकहरू खोजी ५/६ जना बालिका तथा युवतीहरूमध्ये एक जनालाई छान्न लगाई उक्त गेष्ट हाउस र अन्य होटल तथा गेष्ट हाउहरूमा समेत पठाई ग्राहकसँग शारीरिक सम्पर्क राख्न लगाउने गर्थे। प्रहरीको प्रारम्भिक अनुसन्धानमा बालिकाहरूलाई दैनिक ४/५ जना पुरुषसँग शारीरिक सम्पर्क राख्न लगाउनुको साथै अभियुक्तहरू समेतले बालिकाहरूलाई जबर्जस्ती शारीरिक सम्पर्क राख्ने गरेको खुलेको छ।

अनुसन्धानमा खटिएको प्रहरी टोलीले उक्त गेष्टहाउसबाट ५ जना बालिकाहरूलाई उद्दार गरेको छ। आरोपीहरूलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024