क्यानडा लैजाने भन्दै ठगेको आरोपमा २ विदेशीसहित ६ जना पक्राउ

26 Jan, 2024

क्यानडा लैजाने प्रलोभनमा पारी ठगेको आरोपमा ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई विदेशी र चार नेपाली नागरिक छन्।

कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित एक होटलमा क्यानडा लैजान्छु भनी प्रलोभन देखाई अन्तर्वार्ता लिन विभिन्न व्यक्तिलाई बोलाएको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो।

कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ पाटनबेँसी बस्ने वर्ष ६५ की पार्वती सुनार, पोखरा–९ महेन्द्र पुलकी वर्ष ३७ की रिता सुनार, स्याङ्जाको फेदीखोला गाउँपालिका–३ की ३२ वर्षीया सीमा सुनार र काठमाडौं महानगरपालिका–१४ कलंकीका ३८ वर्षीय प्रदीप उपाध्याय रहेका छन्। त्यस्तै क्यानडामै स्थायी बसोबास भएका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्यप्रदेश भोपाल जिल्ला घर भएका ३२ वर्षीय इस्मित कौर पक्राउ परेका हुन्।

पक्राउ परेकी पार्वती सुनारले आफ्नी छोरी क्यानडामा रहेकाले सहजै क्यानडाको भिसा लगाइदिने भनेर अन्तर्वार्ताका लागि सर्वसाधारणलाई प्रलोभनमा पारी अन्तर्वार्ताका लागि बोलाएकी थिइन्।

‘छोरी क्यानडा भएकाले भिसा लाग्छ, राम्रो काममा पनि लगाइदिन्छौं। विदेशबाट अन्तर्वार्ता लिन आएका छन् भनी प्रलोभन देखाई क्यानडा जान प्रतिव्यक्ति ३० लाख रूपैयाँ लाग्ने भनेर अन्तर्वार्तामा बोलाएको पाइएको छ,’ प्रहरीले भनेको छ, ‘उक्त रकम अन्तर्वार्ता पास भएपछि दिनुपर्ने र अन्तर्वार्ताका लागि प्रतिव्यक्ति दुई हजार रूपैयाँ लाग्ने भन्दै प्रतिव्यक्ति दुई हजार रूपैयाँ लिएर अन्तर्वार्ता लिइरहेको अवस्थामा प्रहरीले फेला पारेको हो।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024