काठमाडौं : वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले रामहरि भण्डारी पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार गोरखा आरुघाट गाउँपालिका–१० घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने ३४ वर्षीय भण्डारीले आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै दुई जनासँग रकम लिएका थिए।
‘रोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी लामो समयसम्म झुक्याइ विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले जाहेरी दिएपछि बिहीबार पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ’ आचार्यले भने।