क्यानडा जाने विद्यार्थी बढ्दै

2 Feb, 2015

उच्च शिक्षा हासिल गर्नका लागि क्यानडा जाने विद्यार्थी बढ्न थालेका छन्। विशेषगरी नर्सिङ, इन्जिनियरिङ, आइटी, विज्ञान, होटेल व्यवस्थापन, टुरिज्मलगायत विषय पढ्नका लागि विद्यार्थीले क्यानडालाई रोज्न थालेका हुन्।

राम्रो शैक्षिक योग्यता र सबल आर्थिक स्थिति भएका विद्यार्थीले क्यानडालाई गन्तव्य ठान्न थालेको मैतीदेवीस्थित प्रज्ञा एजुकेसनल सर्भिसेसका प्रबन्ध निर्देशक श्याम कुमारले बताए। उनका अनुसार पढाइसँगै पिआरसमेत पाउने सम्भावनासमेत धेरै हुने भएकाले विद्यार्थीले उच्च शिक्षाका लागि क्यानडा रोज्ने गरेका हुन्। आठ वर्षदेखि क्यानडा जान चाहनेलाई शैक्षिक परामर्श दिँदै आएका उनले पढाइसाथै पार्टटाइम काम गर्न पाउने व्यवस्थाले विद्यार्थी क्यानडातर्फ आकर्षित भएको जानकारी दिए।

‘अन्तर्राष्ट्रिय विद्यार्थीका लागि क्यानडा सरकारले ग्य्राजुएसन सकिएपछि पोस्ट ग्य्राजुएसन वर्क पर्मिटको व्यवस्था गरेको छ,’ निर्देशक श्यामकुमारले भने, ‘यसअन्तर्गत विद्यार्थीले पढाइपछि आफ्नो क्षेत्रमा तीन वर्ष काम गर्ने अवसर पाउँछन्। यसपछि तुरुन्तै पिआर अप्लाइ गरेर स्थायी बसोबास गर्ने अनुमति पाउने सम्भावना बढ्छ।’ 

बसोबासका हिसाबले क्यानडा सुरक्षित वातावरण भएको देशमा पर्छ। अन्तर्राष्ट्रिय विद्यार्थीको भविष्य सुरक्षित भएकाले पनि क्यानडा धेरैको रोजाइमा पर्न थालेको वर्ल्डवाइड एजुकेसन इन्फर्मेसन सेन्टरका अध्यक्ष हरिराम आचार्यले बताए। उनका अनुसार क्यानडामा सरकारी विश्वविद्यालयको बाहुल्यता भएकाले शुल्कको हिसाबले समेत नेपाली विद्यार्थीका लागि सहज छ। क्यानाडाका कुल ९३ विश्वविद्यालयमध्ये ८० वटा सरकारी र १३ वटा निजी रहेको विकिपिडियाको तथ्यांक छ। 

‘डिपेन्डेन्ट भिसा अप्लाई गरेर परिवारसमेत लान पाउने प्रावधानले क्यानडा विद्यार्थीको आकर्षक गन्तव्य बनेको हो,’ अध्यक्ष आचार्यले भने, ‘पढ्ने नै चाहना भएका विद्यार्थीले कागजात पुर्यानएर अप्लाइ गरे भिसा पाउँछन्।’ क्यानडामा नागरिकको न्यूनतम आधारभूत आवश्यकता खाना, बसोबास, शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले गरेको हुन्छ। 

वर्ल्डवाइड एजुकेसनका अध्यक्ष आचार्यले २० वर्षदेखि विशेषगरी क्यानडाकै लागि विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएका छन्। क्यानाडा निकै चिसो ठाउँ भएकाले वर्षको ८ महिनामात्र पढाइ हुन्छ। चार महिनाको बिदामा समेत विदेशी विद्यार्थीले पूर्ण रूपमा काम गर्न पाउँछन्। वार्षिक १ लाख २० हजार विदेशी विद्यार्थी उच्च शिक्षा हासिल गर्न जाने गरेको त्यहाँको सरकारी तथ्यांक छ।  शिक्षा मन्त्रालयका अनुसार पछिल्ला तीन वर्ष क्यानाडा जाने विद्यार्थीको संख्या बढिरहेको छ। आर्थिक वर्ष ०६८/०६९ मा ७० विद्यार्थीले उच्च शिक्षा हासिल गर्न क्यानाडाका लागि नो अब्जेक्सन लेटर लिएका थिए भने आर्थिक वर्ष ०६९/७० मा ८९ ले नो अबजेक्सन लेटर लिएको तथ्यांक छ। यसैगरी आर्थिक वर्ष ०७०/०७१ मा १ सय २१ ले क्यानाडाका लागि नो अब्जेक्सन लेटर लिएका छन्। 

सेलेक्टिभ विद्यार्थी विशेषगरी मास्टर्सभन्दा माथिलो तहमा उच्च शिक्षा हासिल गर्नका लागि क्यानडा जाने गरेको मन्त्रालयका उपसचिव नन्दलाल पौडेलले जनाए। उनका अनुसार क्यानडामा प्राविधिक शिक्षालाई प्राथमिकता दिइन्छ। नेपालबाट विशेषगरी नर्सिङ, इन्जिनियरिङ, आइटी, कम्प्युटर इन्जिनिरिङ, टुरिज्म, होटेल व्यवस्थापन विषयमा स्नातकोत्तर गर्न धेरै विद्यार्थी जाने गरेको उनले बताए। 

‘क्यानडामा योजनाबद्ध शिक्षाको प्रावधानले जनशक्ति विकासको राम्रो योजना छ,’ उपसचिव पौडेलले नागरिकसँग भने, ‘एजुकेसन प्लान राम्रो भएकाले राष्ट्रलाई आवश्यक जनशक्ति उत्पादनमा जोड दिइन्छ।’ 

एक्सेस एजुकेसन नेटवर्कका प्रबन्ध निर्देशक राकेश श्रेष्ठका अनुसार क्यानडा साधारणसँगै सीपमूलक शिक्षाका लागि राम्रो गन्तब्य भएकाले नेपाली विद्यार्थीको आकर्षण बढेको हो। छात्रवृत्तिको राम्रो व्यवस्थाले पनि विद्यार्थी बढी क्यानडामा जाने गरेको उनले जनाए। ‘प्राविधिक र सीपमूलक शिक्षा नै क्यानडाको डिमान्डिङ विषय हुन्,’ श्रेष्ठले भने, ‘सीपमूलक शिक्षा हासिल गरेका विद्यार्थीले तुरुन्तै रोजगारी पाउँछन्। आफ्नो शैक्षिक लगानी विद्यार्थीले काम गरेरै उठाउने भएकाले अभिभावकलाई आर्थिक भार पर्दैन।

विद्यार्थी सचेत हुनुपर्छ

क्यानडामा पढ्ने चाहना र आर्थिक अवस्था सबल भएका विद्यार्थीले मात्र क्यानडामा अध्ययन गर्नसक्ने उपसचिव पौडेल बताउँछन्। उनका अनुसार विद्यार्थीले क्यानडाका विश्वविद्यालयमा अध्ययन गर्न आफू योग्य भए–नभएको विभिन्न वेबसाइटमा हेरेर आफैं थाहा पाउन सक्छन्।

उच्च शिक्षा हासिल गर्न क्यानाडा जान चाहने विद्यार्थीले ठगिनबाट जोगिन अध्ययन गर्न चाहने विषय, विश्वविद्यालय, कलेज, शुल्क र भिसा प्रावधानबारे राम्ररी जानकारी लिनुपर्ने शैक्षिक परामर्शदाता बताउँछन्। क्यानडाका विश्वविद्यालय तथा कलेजका लागि नेपालमा प्रतिनिधित्व गर्ने आधिकारिक शैक्षिक परामर्शदाताबाट परामर्श लिएर सही सूचना प्राप्त गर्नुपर्ने प्रज्ञा एजुकेसनका श्याम कुमार बताउँछन्।

शैक्षिक योग्यता र अभिभावकको आर्थिक पक्ष राम्रो भएका तथा कम्तीमा ६ महिनाको बैंक ट्रान्जिट भएकाले मात्र भिसा पाउने एक्सेस एजुकेसनका राकेश श्रेष्ठले जानकारी दिए। 

सिभिलमलमा रहेको एजुकेसन पार्कका अध्यक्ष भूपन्द्र सिटौला कस्तो डिग्री लिने भन्नेबारे विद्यार्थी पहिले नै सचेत हुनुपर्ने सुझाउँछन्। ‘पढाइपछि नेपाल फर्कने हो वा अरु देश गएर काम गर्ने हो, त्यसबारे विद्यार्थी पहिले नै स्पष्ट हुनुपर्छ,’ सिटौलाले सुझाए, ‘विद्यार्थीले कुनै पनि देशमा अध्ययन गर्न जाँदा त्यस देशको डिमान्डिङ विषय अध्ययन गर्दा राम्रो हुन्छ।’

एक्सप्रेस इन्ट्री

एक्सेस एजुकेसनका निर्देशक श्रेष्ठले क्यानडाले सन् २०१५ देखि विभिन्न क्षेत्रका विद्यार्थीका लागि एक्सप्रेस इन्ट्रीको नयाँ व्यवस्थासमेत ल्याएको बताए। विभिन्न क्षेत्रमा सीपमूलक शिक्षा हासिल गरेका र सोही क्षेत्रमा कामको अनुभव लिएर अंग्रेजीमा दक्षता हासिल गरेका व्यक्तिका लागि क्यानडा सरकारले एक्सप्रेस इन्ट्रीको व्यवस्था गरेको हो। एस्सप्रेस इन्ट्री माइग्रेसन हो। क्यानडा सरकाले हाल विभिन्न क्षेत्रमा सीपमूलक शिक्षा हासिल गरेका करिब दुई लाख व्यक्तिलाई क्यानडा प्रवेश गराउने नयाँ नीतिअन्तर्गत यो कार्यक्रम ल्याएको श्रेष्ठ बताउँछन्। ‘नयाँ व्यवस्थाले पिआरका लागि अप्लाइ गर्न सहज बनाएको छ,’ श्रेष्ठले भने, ‘यो व्यवस्थामा पहिले काम निश्चित हुन्छ अनि पिआर।’

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024