‘कोलम्बो प्रोसेस’ को बैठक काठमाडौंमा हुने

12 Nov, 2018

वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएका राष्ट्रहरूको साझा संस्था ‘कोलम्बो प्रोसेस’ को छैठौं बैठक काठमाडौंमा हुने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही कात्तिक २९ र ३० गते कोलम्बो प्रोसेसको छैठौं बैठक काठमाडौंमा आयोजना गर्न लागिएको जानकारी गराएको हो। वैदेशिक रोजगारीमा जानेहरूको छनोटदेखि उनीहरूको क्षमता विकासका समेत सहकार्य गरेर अघि बढ्ने गरी सो बैठक आयोजना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिए।

कोलम्बो प्रोसेसमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेशिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनामसहितका १२ वटा देश रहेका छन्। सदस्य राष्ट्रहरूबीच वैदेशिक रोजगारबाट प्राप्त रेमिटयान्सको उपयोगको विषयमा पनि बृहत छलफल हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। यही २९ गते कोलम्बो प्रोसेसको छैठौं बैठक बस्नेछ भने भोलिपल्ट कात्तिक ३० गते सदस्य राष्ट्रहरूको मन्त्रिस्तरीय परामर्श बैठक बस्नेछ। मन्त्रिस्तरीय परामर्श बैठकको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्नेछन्।

नेपालले अध्यक्ष राष्ट्रको हैसियतमा बैठकको अध्यक्षता गर्नेछ। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)को समन्वयमा आयोजना हुने सो बैठकमा सदस्य राष्ट्रहरूबीच वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने नीति, रणनीति र हासिल गर्ने उपलब्धिका विषयमा पनि बहस हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024