कोरोना भाइरसले चीनको वुहानमा अड्कियो नेपालीको शव

24 Jan, 2020

लक्ष्मी लम्साल

बेइजिङ — चीनमा कोरोना भाइरसकाे संक्रमण फैलिएपछि एक नेपाली युवाको शव नेपाल फर्काउन समस्या भएको छ। एक दशकदेखि चीनमा कार्यरत दोलखाका ३८ वर्षीय नेपाली कामदार पुष्कर खड्काको गत आइतबार आफू बसेकै होटलमा निधन भएको थियो ।

कोरोना भाइरसको केन्द्र मानिएको हुबेई प्रान्तको वुहानस्थित इन्डियन मार्का नामक भारतीय रेस्टुरेन्टमा उनी कार्यरत थिए। अस्पतालको प्रारम्भिक प्रतिवेदनअनुसार खड्काको मृत्युमा कोराेना भाइरसकाे संक्रमण देखिएकाे छैन । शनिबार राति मृतक खड्का साथीसहित हाेटेलमा बसेकाे वुहानमै रहेका बाग्लुङका टोपबहादुर थापाले कान्तिपुरलाई बताए।

खड्का एक दशकदेखि चीनमा ‘सेफ’सम्बन्धी काम गर्दै आएका थिए। दोलखाकाे काटाकुटी पुर्ख्यौली घर भएका खड्काकी आमा, श्रीमती र छोरासहितको परिवार हाल भक्तपुरको ठिमीमा बस्दै आएको छ।

भारतीय कम्पनीले ड्युटी बाहिरको घटना भएकाले क्षतिपूर्ति नबेहोर्ने बताएको छ। मृतकको शव नेपाल लैजान करिब १ लाख चिनियाँ आरएमबी लाग्ने भएकाले खर्च जुटाउनका लागि नेपालस्थित जिम्मेवार निकाय र बेइजिङस्थित नेपाली दूतावासले पहल गरिरहेको मृतकका आफन्‍त धनबहादुर कार्कीले जानकारी दिएका छन्। चिनियाँ वसन्त चाड सकिएपछि शव नेपाल फर्काउने प्रक्रिया अघि बढ्न सक्ने चीनस्थित नेपाली अधिकारीहरूले बताएका छन्। शुक्रबारदेखि सुरू हुने चिनियाँ नयाँ वर्षको बिदा एक सातापछि सकिनेछ। नेपाली दूतावासका अनुसार कोरोना भाइरसका कारण तत्काल शव नेपाल लैजानका लागि समस्या भएको हो।

चिनियाँ वसन्त चाडको लामो बिदामा चिनियाँहरूको बाक्लो ओहरदोहोर हुने भएकाले कोरोना भाइरस फैलिने आशंकामा वुहानको सरकारले बिहीबारदेखि लागू हुने गरी त्यहाँका सार्वजनिक यातायातहरू अस्थायी रूपमा बन्दको घोषणा गरेको छ। स्थानीय बस, लामो दूरीका बस तथा सबवेलगायत बिहीबार बिहान १० बजेदेखि बन्द गरिएका छन्। वुहानबाट चल्ने सबै हवाई उडानहरू तथा रेल तालिका रद्ध गरिएको छ। वुहानका स्थानीय बासिन्दालाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन चेतावनी जारी गरिएको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024