कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपाली ज्यान गएको हो।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझ सम्म कोरोनाका कारण निधन हुने नेपाली संख्या २ सय ९३ जना पुगेको छ।
संघका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४ सय ३९ जना नेपालीमा कोराना संक्रमण देखिएको छ। ती मध्ये अनुमानित ४१ हजार ४ सय ३९ जना कोरोना संक्रमण मुक्त भएका छन्। विदेशमा कोरोना मुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत रहेको छ।
गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अबरमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ।
यो साता नेपालमा मात्र २ लाख ६ हजार ३ सय ५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये १ लाख ६८ हजार १ सय २९ जना कोरोना मुक्त भएका छन्।
नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्या ८१ दशमलव ५ प्रतिशत रहेको छ। शनिबार साँझसम्म नेपालमा १ हजार २ सय २ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समिति ले चाडपर्वका बेला हुने ससाना भेटघाटहरु कम गर्न आग्रह गरेको छ। समितिका संयोजक डा. सापकोटाले सोसियल डिस्ट्यान्स कायम राख्दै चाडपर्व मनाउन सबैलाई आग्रह गरेका छन्।