कोरिया रोजगारीमा किन बढिरहेको छ युवाहरूको आकर्षण?

29 Dec, 2023

साया माझी कोरिया जाने युवाहरूको हुलमा भेटिएकी थिइन्। दैलेख, राखमकी १८ वर्षीया उनी १२ कक्षा पढ्दैछिन्।

सुर्खेतका किरण क्षेत्रीले पनि भर्खरै १२ कक्षाको पढाइ पूरा गरे। २० वर्षीय किरण पनि अहिले दक्षिण कोरियामा उत्पादन क्षेत्रका लागि जाने तयारी गरिररहेका छन्।

किरणले सन् २०२४ को रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाका लागि आवेदन पनि दिइसके।

उनीहरू दुवै राम्रो कमाइको सपनामा विदेसिन लागेका हुन्।

नेपालमा बसेर राम्रो कमाइ गर्न नसकिने लागेपछि कोरिया जाने योजना बनाएको सायाले बताइन्।

‘१२ कक्षा पढ्दै छु। अब यहाँ बसौं भने भविष्य अन्योल छ। त्यहाँ जान सकियो भने पैसा राम्रो छ भन्ने सुनेकी छु,’ उनले भनिन्, ‘यहाँ त काम पाइहाले पनि कमाइ नै हुँदैन। पैसा नभए त केही गर्न सकिँदैन।’

किरणको भनाइ पनि उस्तै छ।

‘यहाँ मैले पाइहाल्ने काम छैन। कोरिया जान प्रक्रिया पनि सजिलो, कमाइ पनि राम्रो हुन्छ भन्ने सुनेको छु,’ उनले भने।

उनीहरूको जस्तै भनाइ छ सल्यानका देवेन्द्र चन्दको पनि। नेपालै बस्छु भनेर धेरै समय काम खोज्दै भौंतारिए पनि सोचेजस्तो नभएकाले कोरिया जान बाध्य भएको उनले बताए।

‘एउटा होटलमा वेटर भएर काम पनि गरेँ। तर दिनरात खट्दा पनि कमाइ नै छैन,’ उनले भने, ‘विदेश जानुको विकल्प भएन। अरू देशको तुलनामा कोरियामा कमाइ ठीक छ भन्ने सुनेर जान लागेको। यहीँ कमाइ हुने भए को जान्थ्यो र?’

कोरियाको कमाइमा आकर्षित यी तीन युवा प्रतिनिधि मात्र हुन्। रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०२४ मा दक्षिण कोरिया जान एक लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका छन्। यो अहिलेसम्मकै उच्च संख्या हो।

पानी जहाज बनाउने काम (शीप बिल्डिङ) का लागि परीक्षामा सहभागी भएर बसेकाहरू समेत थपिँदा आवेदकको संख्या अझ बढ्ने इपिएस शाखाका निर्देशक गुरूदत्त सुवेदी बताउँछन्।

कोरियाले इपिएस प्रणालीमार्फत् सन् २००८ देखि नेपाली श्रमिक लैजान थालेको हो। सो वर्ष ३१ हजार ५ सय २५ जनाले आवेदन दिएका थिए। पहिलो साल कोरियाले दुई हजार सात सय ३३ जना पुरूष र ८१ जना महिला गरी कुल दुई हजार आठ सय १४ जना श्रमिक लगेको थियो।

त्यसपछि सबभन्दा धेरै आवेदन सन् २०१९ मा परेको थियो। उक्त वर्ष ९२ हजार जनाभन्दा धेरैले आवेदन दिएका थिए। सात हजार जनाभन्दा धेरै कोरिया पुगे।

शाखाका अनुसार हालसम्म एक लाख १० हजार जनाभन्दा धेरै नेपाली युवा कोरिया पुगिसकेका छन्। हाल कोरियामा ५० हजार हाराहारी नेपाली श्रमिकहरू काम गरिरहेका छन्।

कोरियाले सरकारी संयन्त्रमार्फत श्रमिक भर्ना प्रक्रिया अघि बढाएका कारण युवाहरूको आकर्षण बढेको निर्देशक सुवेदी बताउँछन्।

‘कोरिया युवाहरूको रोजाइमा पर्नुको प्रमुख कारण यो प्रणाली व्यवस्थित हुनु हो। प्रत्येक वर्ष खुल्ने हुँदा नियमित पनि छ,’ उनले भने।

युवाहरू आकर्षित हुनुको अर्को कारण श्रमिक छनौट प्रक्रिया पारदर्शी हुनु पनि रहेको उनले बताए।

‘यसमा विभेद छैन। कसैले मेरो मान्छे लगिदे भनेर पावर लगाउने अवस्था छैन। कोरियाले प्रत्यक्ष संलग्न रहेर श्रमिक लगिरहेको छ,’ सुवेदीले भने, ‘हामीले त परीक्षा आवेदन फारम भरिदिने, बायोमेट्रिक गरिदिने जस्ता सहायक काम मात्रै गरिरहेका छौं।’

अन्य विभिन्न मुलुकको तुलनामा कमाइका हिसाबले पनि कोरिया राम्रो मानिन्छ। मासिक न्यूनतम दुई लाख रूपैयाँ जुनसुकै काममा जाँदा पनि कमाउन सकिन्छ।

सुवेदीका अनुसार ओभरटाइम खट्दा महिनामा पाँच लाख रूपैयाँसम्म कमाइ हुन्छ। कोरिया जान लागत पनि त्यति धेरै पर्दैन।

कोरिया जानेहरूले परीक्षा फारम भर्दा २८ डलर (हालको मूल्यअनुसार करिब तीन हजार ८ सय रूपैयाँ) र मेडिकलका लागि सात हजार तीन सय रूपैयाँ तिर्नुपर्छ। त्यस्तै कोरिया प्रवेशअघि पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि ६३ डलर (करिब साढे ८ हजार रूपैयाँ) र व्यवस्थापनका लागि ४६ डलर (करिब ६ हजार २ सय रूपैयाँ) तिर्नुपर्छ। भिसा शुल्क सात हजार ८ सय रूपैयाँ छ। यसबाहेक हवाई टिकट शुल्क तिर्नुपर्छ।

त्यस्तै करार अवधिका कारण पनि कोरिया रोजगारीमा युवाहरू आकर्षित भएका हुन्। धेरैजसो मुलुकमा दुई वर्षको करार अवधि हुन्छ। कोरियामा भने चार वर्ष १० महिनाको करार अवधि छ।

‘गएको एक वर्षसम्म सुरूमा गएकै कम्पनीमा निरन्तर काम गर्‍यो भने प्रतिबद्धता सम्झौता गरेर अर्को पाँच वर्ष करार अवधि थपिन्छ। दस वर्ष निरन्तर रोजगारी पाउने भएकाले पनि कोरिया धेरैको रोजाइ बनेको छ,’ निर्देशक सुवेदीले भने।

उनका अनुसार पछिल्लो समय श्रम बजारमा आएका नयाँ युवा मात्र नभएर सरकारी तथा अन्य विभिन्न क्षेत्रमा काम गरिरहेकाहरू पनि जागिर छाडेर पनि कोरिया गइरहेका छन्। कोरियामा काम गर्ने वातावरण राम्रो भएकाले पनि युवाहरूको ओइरो लागेको उनी बताउँछन्।

कोरियाले सन् २०२४ मा एक लाख ६५ हजार आप्रवासी श्रमिकहरू लैजाने भएको छ। नेपालसहित विभिन्न १६ वटा मुलुकबाट कोरियाले इपिएसमाफर्त श्रमिकहरू लैजाँदै आएको छ।

गएका वर्षहरूको आँकडा हेर्दा कोरियाले कुल आप्रवासीमध्ये नेपाली श्रमिक २० प्रतिशत हाराहारी लगिरहेको सुवेदीले बताए।

यो पटक पनि पानी जहाज बनाउने, उत्पादन, कृषि लगायत क्षेत्रमा २५ देखि ३० हजार नेपाली लैजान सक्ने उनको भनाइ छ।

पानी जहाज बनाउने काम (शीप बिल्डिङ) का लागि दिइएको सीप परीक्षण परीक्षामा तीन हजार ९८९ जना उत्तीर्ण भएका छन्। शीप बिल्डिङमा जान चार हजार ५४ जनाले परीक्षा दिएका थिए। जसमध्ये ९८.३ प्रतिसशत उत्तीर्ण भएका छन्। उत्तीर्ण भएकाहरू स्वास्थ्य परीक्षणपछि रोस्टरमा रहन्छन्। उनीहरूलाई रोजगारदाताले छनौट गरेपछि मात्र कोरिया जान पाउँछन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024