कोरिया रोजगारीबाट फर्केका महिलालाई किम्ची र गिम्बाब बनाउने तालिम

17 May, 2024

दक्षिण कोरियाको के-हामी परियोजना र नेपाल सरकारको संयुक्त समन्वयमा कोरिया रोजगारीबाट फर्केका महिलाहरूका लागि किम्ची र गिम्बाव बनाउने तालिम दिइएको छ।

बिहीबार कोरियाबाट फर्केका महिलाहरूलाई कोरियाको लोकप्रिय अचार किम्ची र विशेष परिकार गिम्बाब बनाउन सिकाइएको हो।

तालिममा कोरियाबाट फर्केका महिलाहरूको उत्साहजनक सहभागिता थियो। उनीहरूले रायोको सागबाट किम्ची बनाउन सिकेका थिए। कोरियामा खासगरी किम्ची ‘क्याबेज’बाट तयार गरिने भए पनि नेपालमा रायोको साग सहजै उपलब्ध हुने हुँदा रायोको सागबाट तयार गर्न सिकाइएको के-हामी परियोजनाले बताएको छ।

कोरियाबाट सीप, पुँजी सिकेर फर्केका नेपालीहरूलाई देशभित्रै पुन:एकीकरण गर्ने उदेश्यले यस्तो कार्यक्रम सुरू गरिएको परियोजनाको भनाइ छ।

अबको सपना मातृभूमि भन्ने नाराका साथ सुरू गरिएको उक्त परियोजना सन् २०२४ देखि २०२८ सम्म सञ्चालन हुनेछ।

कोरियाबाट फर्केकाहरूमा उद्यमशीलता विकास, रेमिटेन्सको सदुपयोग जस्ता विषयमा जानकारी गराइ पुनःएकीकरण गर्ने उद्देश्यले ८० लाख अमरिकी डलर (एक अर्बभन्दा बढी नेपाली रूपैयाँ) को कार्यक्रम अघि सारिएको हो।

खुसी प्रवास, खुसी जीवन उद्देश्यले यो कार्यक्रम सुरू गरिएको उल्लेख छ। रोजगार अनुमति प्रणाली (इपिएस) शाखाकी निर्देशक मैयाँ कँडेलले कोरियाबाट फर्केकाहरूलाई यो परियोजनाले पुँजी पनि उपलब्ध गराउने बताइन्। जसले गर्दा देशमा उद्यमशीलता विकास भइ रोजगारी सिर्जना हुने उनको भनाइ छ।

उनले कृषि बैंकबाट २५ लाख अमेरिकी डलर र कोरियाबाट २५ लाख अमेरिकी डलर गरी कुल ५० लाख अमेरिकी डलरको कोष तयार गरि कोरियाबाट फर्केकाहरूलाई उद्यमशीलता उपलब्ध गराउन बिउ पुँजी उपलब्ध गराउने बताइन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024