कोरिया जान चाहने लाखौं परीक्षाको लाममा

9 Sep, 2024

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जाने नेपाली युवाले यतिबेला उत्साहपूर्वक परीक्षामा भाग लिइरहेका छन्। कोरिया रोजगारीका लागि सन् २००७ मा नेपाल र कोरियाबिच सम्झौता भएयता पारदर्शी ढंगले कामदार पठाउन परीक्षा सञ्चालन हुँदै आएको छ।

सन् २००८ देखि नेपाली श्रमिक कोरिया रोजगारीमा जान थालेका हुन्। पहिलो चरणमा ५५ जना श्रमिकलाई उत्पादन क्षेत्रका लागि लगिएको थियो। अहिले कृषि, सिप बिल्डिङ, उत्पादनमूलक तथा सर्भिस गरी चार क्षेत्रमा लैजाने गरिएको छ।

सन् २०२३ मा कोरियाले उत्पादनमूलक क्षेत्रमा लैजान अनुमानित १५ हजार चार सय ४८ जनाका लागि आवेदन आह्वान गरेको थियो, जसमा एक लाख ६३ हजार ६ सय ३५ जनाले आवेदन गरेका थिए। तिनै परीक्षार्थीले तीन चरणको परीक्षा दिइरहेका छन्।

पहिलो चरणमा ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिएका थिए। दोस्रो चरणमा ७९ हजार नौ सय ३७ जनाले परीक्षा दिएकोमा आठ हजार नौ सय ६५ जना भाषा परीक्षामा उत्तीर्ण भएका हुन्। तिनै दोस्रो चरणमा उत्तीर्ण परीक्षार्थीले अझै पनि परीक्षा दिँदै आइरहेका छन्। कोरिया रोजगारीका आकांक्षी ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा स्किल टेस्टमा सहभागी भइरहेका छन्। दैनिक हजारजनाले दिइरहेको परीक्षा मंगलबारसम्म चल्ने छ।

इपिएस शाखाका अनुसार, तेस्रो चरणमा ३६ हजार एक सय ७९ जना परीक्षार्थी सहभागी हुने छन्, जसको परीक्षा यही वर्षको कात्तिक २६ देखि पुस २ सम्म चल्ने छ।

इपिएसमार्फत नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया जान थालेको १७ वर्षका अवधिमा सबैभन्दा बढी सन् २०२३ मा १९ हजार ६ सय ८९ जना त्यसतर्फ प्रस्थान गरिसकेका छन्। सन् २०२३ मा नेपाल कोरिया कामदार बढी पठाउने मुलुक बन्न सफल पनि भएको थियो।

आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ। इपिएस सुरु भएयता लिइएका भाषा परीक्षामा सहभागी हुन नौ लाखभन्दा बढी नेपाली श्रमिकले कोरियाका लागि आवेदन फाराम भरेका छन्।

वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाको तथ्यांकअनुसार हालसम्म नौ लाख १९ हजार ६ सय ३१ नेपाली युवाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन्। यसरी इपिएसअन्तर्गत वैदेशिक रोजगारीमा दक्षिण कोरिया जानेको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको छ।

इपिएस शाखाका अनुसार हालसम्म एक लाख पाँच हजार पाँच सय ४४ जनाले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका छन्, जसमा ९८ हजार तीन सय १० पुरुष र सात हजार दुई सय ४३ महिला छन्।

इपिएसबाट रोजगारीका लागि दक्षिण कोरिया जान प्रत्येक श्रमिकले परीक्षा, स्वास्थ्य परीक्षण, आवेदन फाराम दर्ता, प्रवेशाज्ञा, बिमा, हवाई टिकट र प्रारम्भिक तालिमलगायत शीर्षकमा करिब एक हजार अमेरिकी डलर तिर्नुपर्छ।

इपिएस कोरिया शाखाकी निर्देशक मैयाँ कँडेलका अनुसार अहिले पनि दक्षिण कोरियामा करिब ५० हजार नेपाली श्रमिकले काम गरिरहेका छन्। उत्पादन, कृषि तथा पशुपालन, पानीजहाजजस्ता क्षेत्रसँगै वन र सेवा क्षेत्रमा बढीभन्दा बढी कामदार पठाउन पहल गर्नुपर्ने धारणा निर्देशक कँडेल राख्छिन्।

दक्षिण कोरिया रोजगारीमा जान इपिएसअन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरू छनोट सूची (रोस्टर) मा राखिन्छ। कोरियाको मागका आधारमा त्यसैबाट श्रमिक पठाउने गरिएको छ।

सन् २०२५ देखि दक्षिण कोरियाले लैजाने संख्याको तेब्बर संख्या मात्रै उत्तीर्ण गराई रोस्टरमा राख्ने गरेको जानकारी कँडेलले दिइन्।

दक्षिण कोरियाले वर्षमा एक हजार नेपाली श्रमिक कोरिया लैजाने हो भने तीन हजार जनालाई मात्रै पास गरेर रोस्टरमा राख्नुपर्ने उनले बताइन्। ‘कोरियाले एक हजार श्रमिकको माग गर्‍यो भने तीन हजार जनालाई मात्रै रोस्टरमा राख्ने हो’, उनले भनिन्, ‘रोस्टर भन्नेबित्तिकै छनोट गर्न धेरै संख्या पनि चाहियो। अब कोरियालाई तीन हजार श्रमिक चाहिएको हो भने नौ हजारले मात्रै परीक्षाका लागि आवेदन दिन पाउँछन्।’

परीक्षा आवेदन पनि जति संख्या चाहिने हो, त्यति पुगेपछि स्वतः प्रणालीबाटै बन्द हुने व्यवस्था गरिने उनले बताइन्। यसले गर्दा जो पास गर्न सक्छु भनेर विश्वस्त छ, उसले मात्रै फाराम भर्ने र यसबाट सहज हुने निर्देशक कँडेलले बताइन्।

त्यस्तो व्यवस्थापछि पछिल्लो समय कोरियाले १५ हजार श्रमिक लैजाने भए पनि एक लाख ६३ हजारले परीक्षा दिनेजस्तो झन्झटिलो अवस्था नहुने उनले बताइन्।

मानव संसाधन विकास (एचआरडी) कोरियाले परीक्षा फाराम बुझाउने समय तोकेपछि आफ्नो रुचिको क्षेत्रमा आवेदन दिनेछन्। फाराम भर्ने अवधि जति दिन भए पनि खुलेकै दिन कोटा पुग्यो भने बन्द हुने उनले जानकारी गराइन्।

त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग इपिएस कार्यालय, एचआरडी कोरियाबिच विभिन्न चरणमा भएको छलफलपछि यस्तो सहमति भएको निर्देशक कँडेलले बताइन्।

‘आवेदनकर्ताको चाप निकै बढी भएको वर्षभरि नै परीक्षा गर्नुपर्ने बाध्यता अन्त्य गर्न यस्तो व्यवस्था गर्न लागिएको हो’, उनले भनिन्, ‘त्यसो भयो भने आवेदन दिनेको चाप धेरै हुँदैन र वर्षैभरि जाँच गरिराख्नुपर्ने अवस्था पनि आउँदैन। सन् २०२५ देखि कोरियाले लैजाने सबै क्षेत्रका लागि एकैपटक आवेदन आह्वान गर्ने भएको छ।’

हाल कोरियामा विभिन्न चार क्षेत्रमा काम गर्न नेपाली कामदार जाने गरेका छन्। त्यसका लागि फरकफरक समयमा आवेदन आह्वान गर्ने गरिएको छ। यसले गर्दा कोरियाली भाषा पढेर जान तयार रहेकाहरूले सबै क्षेत्रमा आवेदन दिने गरेका उनले बताइन्।

अब भने वर्षको एकपटक सबै क्षेत्रका लागि आवेदन आह्वान गर्न लागिएको निर्देशक कँडेल भन्छिन्, ‘कृषितर्फ, सिप बिल्डिङ, उत्पादनमूलक तथा सर्भिस क्षेत्र सबैका लागि एकैपटक आवेदन आह्वान गरिने छ। कोरियाले कति कामदार लैजाने हो, त्यो कोटा एकैपटक दियो भने त्यही आधारमा फाराम भर्ने र परीक्षा गर्न खोजिएको छ।’

यसरी काम गर्दा एक क्षेत्रका लागि मात्रै आवेदन दिन पाउने र अर्को क्षेत्रका लागि आवेदन दिन नपाउँदा चाप पनि कम हुने उनले बताइन्।

कोरियाले एक वर्षमा एकजनालाई एउटा क्षेत्रमा मात्रै फाराम भर्न नपाउने व्यवस्था गरेको छ, तर सन् २०२३ मा सिप बिल्डिङका लागि आवेदन दिएकाहरूले उत्पादनमूलक क्षेत्रका लागिसमेत फाराम भर्ने अवसर पाएका थिए।

आफूहरूले फाराम भर्न नपाएको भन्दै उनीहरूले आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा दुईजनाको मृत्यु भएको पनि थियो। त्यसपछि कोरिया सिप बिल्डिङमा आवेदन दिएकाहरूलाई समेत उत्पादमूलक क्षेत्रका लागि आवेदन फाराम भर्न दिने व्यवस्था गरिएको थियो।

‘कोरियाले नेपालको विकास हेर्न चाहन्छ। एकपटक कोरिया पुगेर श्रम गरिसकेकाको जीवन धेरै सुधार भइसकेको अवस्था मध्यनजर गर्दै नयाँलाई प्राथमिकता दिन चाहन्छु’, उनी भन्छिन्, ‘नयाँ श्रमिक अनुशासनमा रहेर काम गर्ने तर पुरानाहरू आफूखुसी कम्पनी फेरेर काम गर्ने समस्या भएकाले कोरियाली रोजगारदाताले नयाँ श्रमिक रुचाउने गरेका छन्। कोरियाबाट काम गरेर फर्किएकाहरूले पनि बुझ्नुपर्ने कुरा हो। आफूले अवसर पाएर केही अवस्था सुध्रियो, अरूले पनि त्यही अवसर पाऊन् भन्ने भावना आउनुपर्ने उनले बताइन्। भाषा परीक्षा उत्तीर्ण भएको दुई वर्षभित्र दक्षिण कोरिया जान नपाएमा पुनः भाषा परीक्षा पास गर्नुपर्ने व्यवस्था छ।

दक्षिण कोरियाले इपिएसअन्तर्गत नेपालसहित इन्डोनेसिया, भियतनाम, थाइल्यान्ड, फिलिपिन्स, श्रीलंका, मंगोलिया, उज्वेकिस्तान, पाकिस्तान, कम्बोडिया, चीन, बंगलादेश, कीर्गिस्तान, म्यानमार, टिमोर–लेस्टे, लाओस र ताजकिस्तानबाट श्रमिक भित्र्याउँदै आएको छ।

त्यस्तै, कोरियाली रोजगारदाताले नेपाली श्रमिकलाई अति नै रुचाउनुका साथै कोरियामा नेपाली इमानदार र मिजासिला हुन्छन् भन्ने विश्वास छ। त्यसैले कोरिया र नेपालबिचको सुमधुर सम्बन्धलाई यथावत् राखी श्रमिक जाने वातावरण राम्रो बनाउनुपर्छ भन्ने धारणा कँडेलको छ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024